Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ पौष २९ मंगलबार ११:३५:००
Read Time : > 2 मिनेट
नयाँCity

सहरी युवाको विदेश मोह

Read Time : > 2 मिनेट
२०७६ पौष २९ मंगलबार ११:३५:००

नयाँ पुस्ता

सिराहाको लहानबाट स्टाफ नर्स कोर्स पूरा गरेकी विराटनगरकी काजोल चौधरी थप अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा छिन् । काठमाडौंको एक परामर्श केन्द्रमा आइइएलटिएस कोर्स गरिरहेकी उनको परिवारका केही सदस्य अस्ट्रेलियामै छन् । ‘त्यसैले मैले पनि उतै जाने निर्णय गरेकी हुँ,’ उनी भन्छिन् । उनीसँगै झापाकी समीक्षा गिरी, धरानकी दिव्या पोखरेल र काठमाडौंकी रश्मि कुँवर पनि ब्याचलर अफ नर्सिङ (बिएन) गर्न अस्ट्रेलिया जाने तयारीमा छन् । चारैजनाको एउटै उद्देश्य छ, अस्ट्रेलिया गएर पढाइसँगै पैसा कमाउने । चौधरी भन्छिन्, ‘नेपालमा नर्सिङको स्कोप नै छैन । लाखौँ खर्च गरेर पढ्यो, राम्रा अस्पतालमा जागिर पाइँदैन । र, यहाँ नर्सलाई इज्जत पनि गरिँदैन ।’

उच्च शिक्षाका लागि बिदेसिन लागेका सहरी इलाकाका अधिकांश युवा–युवतीको योजना उतैको नागरिक बन्ने छ । ‘जति खर्च लागे पनि विदेश त जानैपर्छ, पढाइ सकेर नेपाल आए पनि के गर्नु ?’ गिरी भन्छिन्, ‘यहाँको हालत यस्तै हो, भनेजस्तो जागिर र पैसा हुँदैन ।’ काठमाडौंका प्रदीप गिरीले होटेल म्यानेजमेन्टमा प्लस टु गरेका छन् । उनी उच्च शिक्षाका लागि फ्रान्स जाने तयारीमा छन् । ‘भिसाको प्रक्रिया लामो छ, तर ग्याप गरेरै भए पनि विदेश जानु छ,’ उनी भन्छन्, ‘क्षमता बढाउन पनि विदेश जानु आवश्यक छ ।’

विदेशमा अध्ययनरत युवाका प्रतिनिधि पात्र हुन्, कैलाली धनगढीका केशव विष्ट । उनी अहिले जापानमा उच्च शिक्षा अध्ययनरत छन् । धनगढीबाट स्नातक उत्तीर्ण गरेर जापान गएका उनी पढाइ सकेर स्वदेश फर्किने सोचमा छन् । ‘नेपालमा बसेर केही नयाँ गर्न सक्ने आत्मविश्वास धेरै कम युवामा छ, तीमध्ये म पनि एक हुँ,’ उनी भन्छन्, ‘हाम्रो उद्देश्य राम्रो विश्वविद्यालयबाट डिग्री लिने हो । विदेशमा बस्दा पढाइसँगै पैसा पनि कमाउन सकिन्छ, जसले आत्मनिर्भर बन्न सिकाउँछ ।’

 विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक संस्थाहरूले पनि सहरका युवाको विदेश मोह घटाउन सकेका छैनन् । यसमा निजी क्षेत्रको ठूलो लगानीका बाबजुद बिदेसिने युवा–युवतीको संख्या घट्दो होइन, बढ्दो क्रममा छ ।

दक्षिण कोरियामा तीन वर्षयता फेसन डिजाइनिङ गरिरहेकी काठमाडौंकी एलिना लामा भने स्वदेश फर्किने सोचमा छैनन् । उनका दुई दाजुभाइ पनि उतै छन् । लामाले काठमाडौंमा फेसन डिजाइनिङ पढेकी हुन् । ‘काम भने कोरियामै आएर सुरु गरेकाले नेपालको फेसन डिजाइनबारे त्यति धेरै ज्ञान छैन,’ उनी भन्छिन्, ‘स्वदेश फर्किहाले पनि फेसनको क्षेत्रमा स्थापित हुन पुनः संघर्ष गर्नुपर्छ ।’

गाउँका युवा–युवतीले सहर र सहरका युवा–युवतीले विदेश ताक्ने प्रवृत्ति नौलो भने होइन । पछिल्ला वर्षमा यो ट्रेन्ड अझ बढ्दो क्रममा छ । सहरको हुनेखाने र मध्यम वर्गका अभिभावक नै पनि आफ्ना सन्तान विदेश गएर राम्रो कमाइ गरून् भन्ने चाहन्छन् । पछिल्लो समय उच्च शिक्षाका लागि स्वदेशमै अन्तर्राष्ट्रिय स्तरका शैक्षिक संस्थाहरू नखुलेका होइनन् । विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त त्यस्ता शैक्षिक संस्थाले पनि सहरका युवाको विदेश मोह घटाउन सकेका छैनन् ।

नयाँ–नयाँ ठाउँमा पुग्ने चाहना पूरा गर्न उनीहरू बिदेसिने गर्छन् । स्तरीय शिक्षा, रोजगारी र जीवनयापनको मोहमा परेर सहरी युवा विदेशमुखी हुन पुगेको शिक्षाविद् डा.विद्यानाथ कोइरालाको ठम्याइ छ ।

निजी क्षेत्रले यसमा ठूलो लगानी गरिरहँदा पनि उच्च शिक्षाका लागि बिदेसिने युवा–युवतीको संख्या घट्दो होइन, बढ्दो क्रममा छ । शिक्षा मन्त्रालयको तथ्यांक हेरौँ । विदेशमा अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनेको संख्या पाँच वर्षयता दोब्बर बढेको छ । आर्थिक वर्ष ०७०/७१ मा ३० हजार ६ सय ९६ जनाले एनओसी लिएका थिए । आव ०७५/७६ मा उक्त संख्या ६३ हजार दुई सय ५९ पुगेको छ । नेपाली युवाको अध्ययन गन्तव्यमा ७२ वटा मुलुक छन् । तीमध्ये अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, दक्षिण कोरिया, जापान, न्युजिल्यान्ड उनीहरूको मुख्य रोजाइमा छन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला सहरी युवापुस्ता बिदेसिनुलाई स्वाभाविक मान्छन् । ‘चेतनाको स्तर बढ्दै गएपछि हरेक व्यक्तिले आफ्ना लागि उचित स्थान खोज्छ,’ उनी भन्छन्, ‘स्तरीय रोजगारी र उच्च शिक्षाका लागि हामीकहाँ पर्याप्त प्लेटफर्म छैन ।’ उनको नजरमा सहरी युवा–युवती बिदेसिनुका तीनवटा कारण छन्– रोमान्स, आवश्यकता र सम्भावना । विकसित मुलुकबारे उनीहरूको मनमा जिज्ञासा हुन्छ ।

नयाँ–नयाँ ठाउँमा पुग्ने चाहना पूरा गर्न उनीहरू बिदेसिने गर्छन् । यस्तै, स्तरीय शिक्षा, रोजगारी र जीवनयापनको मोहमा परेर सहरी युवा विदेशमुखी हुन पुगेको उनको ठम्याइ छ । यद्यपि, युवापुस्ता बिदेसिनुलाई डा. कोइराला सकारात्मक मान्छन् । ‘तर, अध्ययनपछि स्वदेश नफर्किनुले मुलुक दक्ष युवाविहीन हुन सक्ने खतरा पनि बढिरहेको छ,’ उनी भन्छन् । शिक्षाविद् डा. मनप्रसाद वाग्ले युवापुस्ता बिदेसिनुका दुई कारण देख्छन्– उच्च शिक्षा र रोजगारी । ‘नेपालमा उच्च शिक्षाको गुणस्तर त्यति विश्वसनीय छैन,’ उनी भन्छन्, ‘त्यसैले सचेत युवाले राम्रो भविष्यका लागि विदेश मात्र विकल्प देख्छन् ।’