१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मल्लिका घिमिरे
२०७६ पौष २९ मंगलबार १२:०२:००
Read Time : > 2 मिनेट
अर्थ

सूचिकृत कम्पनीलाई पुस मसान्तको चटारो : आज साधारण सभाद्वारा २५ कम्पनीले लाभांश पारित गर्दै

Read Time : > 2 मिनेट
मल्लिका घिमिरे
२०७६ पौष २९ मंगलबार १२:०२:००

सूचिकृत कम्पनीहरुले पुस मसान्त भित्र साधारण सभा गरिसक्नु पर्ने प्रावधान अनुसार आज  २५ कम्पनीले सभा गरिरहेका छन् । ऐनअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सभा बोलाउनुपर्ने छ । पुस २९ गतेसम्म सभा सम्पन्न गर्ने कम्पनी एनेमा पर्ने भएकाले सोही दिन धेरै कम्पनीले सभा बोलाउने गरेका छन् । धेरै  सूचीकृत कम्पनीको  सेयर लगानीकर्तासँग हुने भएकाले  प्रत्येक साधारणसभामा सबै सेयरधनी उपस्थित हुन र कम्पनीको यथार्थ जानकारी पाउन एकैदिन हुने सभाले वञ्चित बनाएको गुनासो लगानीकर्ताको छ  । वित्तीय संस्था तथा सेयर बजारसँग सम्बन्धित संस्थाको वार्षिक साधारणसभा गर्ने मिति अरूसँग नजुध्ने गरी नियामक निकायको स्वीकृति लिएर मात्र सम्पन्न गर्न पाउने व्यवस्था भए  सभामा उपस्थित संख्या बढी हुने लगानीकर्ताको भनाइ छ । 

मंगलबार सात लघुवित्त, सात फाइनान्स, सात विकास बैंक, एक जलविद्युुत् कम्पनी ९बरुण हाइड्रोपावर०, नेपाल दूरसञ्चार कम्पनी, नेपाल स्टक एक्सचेन्ज र तारागाउँ रिजेन्सी होटेलले सभा बोलाएका हुन् । यसरी धेरै कम्पनीले एकैदिन सभा बोलाउँदा सेयरधनीहरूले कम्पनीको अवस्थाबारे अध्ययन गर्ने मौका गुमेको बताउँछन्  । धेरैजसो कम्पनीले पुस मसान्तमा सभा बोलाउँदा सेयरधनीको उपस्थित कम हुने गर्छ । केही कम्पनीको वित्तीय विवरण राष्ट्र बैंकको अध्ययनमा रहेकाले सभा बोलाउन ढिलाइ भएको बताएका छन् । तर, राष्ट्र बैंकबाट प्रतिवेदन पारित गरिसकेका केही कम्पनीले  समेत साधारणसभा जुधारए एकैदिन बोलाएका छन् । सेयरधनीले कम्पनीलाई सुझाब दिन र सभामा उपस्थित जनाउन समस्या हँुदै आएको गुनासो हरेक वर्ष गर्दै आए पनि कम्पनीले सुनेको नसुनेजस्तो गरिरहेका छन् । 

पुस मसान्त सकिँदा पनि केही कम्पनीले सभाको सूचनासमेत दिएका छैनन ।  वाणिज्यमा हिमालयन बैंक र सेन्चुरी बैंकले सभा बोलाउन बाँकी छ । हिमालयन बैंकले लाभांश घोषणा गरिसकेको छ भने सेन्चुरीले हालसम्म लाभांशसमेत घोषणा गरेको छैन । साधारणसभा भनेको कम्पनीको वर्षभरिको प्रगतिबारे सार्वजनिक कार्यक्रममार्फत सेयरधनीलाई जानकारी गराउने र उनीहरूको सुझाबसहित सभाका लागि तय गरेको प्रस्ताव पारित गराउने हो । कम्पनीले साधारणसभाका लागि तय गरेको प्रस्ताव सेयरधनीको गणपूरक संख्या पुगेको सभाले पारित गरे मात्र मान्य हुनेछ । 

के हो साधारणसभा 
कुनै पनि संगठित संस्थाको सेयर पुँजीमा हक भएका सेयरधनीसहितको संयुक्त छलफललाई साधारणसभा भनिन्छ । कम्पनीले गर्ने मुख्य निर्णयलाई साधारणसभाबाटै वैधानिकता प्रदान हुने हुँदा यसको महत्व बढी हुन्छ । कम्पनीको वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदन, कम्पनीले दिने लाभांश प्रस्तावजस्ता विषयमा छलफल गरिन्छ । 

सभाको प्रकार 
सामान्यतया कम्पनीको साधारणसभा दुई प्रकारका हुन्छन् । वार्षिक साधारणसभा र विशेष साधारणसभा । कम्पनीले १ वर्षको आर्थिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजनासहित छलफलका लागि बोलाएको सभालाई वार्षिक साधारणसभा र कम्पनी व्यवस्थापनको सम्बन्धमा कुनै ठोस निर्णय गर्नुपर्ने भएकाले बोलाइने सभालाई विशेष साधारणसभा भनिन्छ । विशेष साधारणसभा कम्पनीको सञ्चालक समितिले पनि बोलाउने गर्छन् । कम्पनीको सेयरधनीको जम्मा संख्याको कम्तीमा २५ प्रतिशत सेयरधनीले कारण खुलाई विशेष साधारणसभा बोलाउन कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिई माग गरेमा सञ्चालक समितिले माग गरेको मितिले बढीमा ३० दिनभित्र बस्ने गरी कम्पनीको विशेष साधारणसभा बोलाउनुपर्नेछ ।
वार्षिक साधारणसभाका लागि २१ दिन र विशेष साधारणसभाका लागि १५ दिनअगाडि साधारणसभा हुने ठाउँ, मिति, छलफल गर्ने विषय प्रष्ट उल्लेख गरी सूचना दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्थगित भएको कुनै साधारणसभा बोलाउँदा त्यस्तो सभामा नयाँ विषयमा छलफल नहुने भएमा कम्तीमा ७ दिनअघि सो सभाको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्नेछ । 

ऐनमा भएको व्यवस्था 
कम्पनी ऐन २०६३ ले प्रत्येक पब्लिक कम्पनीले कारोबार सुरु गर्ने अनुमति पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ व्यवस्था छ ।  त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । साधारणसभामा कम्पनीको कुल सेयर संख्याको ५० प्रतिशतभन्दा बढी सेयरको प्रतिनिधित्व हुनेगरी सेयरधनी वा प्रतिनिधि उपस्थित हुनुपर्नेछ ।

गणपूरक उपस्थिति नपुगेका कारण साधारणसभा हुन नसकेमा ७ दिनको सूचना दिई अर्कोपटक सभा बोलाउँदा कुल सेयर संख्याको २५ प्रतिशत सेयर धनीको प्रतिनिधित्व हुने गरी कम्तीमा तीनजना सेयरधनी उपस्थित हुनुपर्नेछ । कम्पनीले तत्काल कायम रहेका सेयरधनीको नाम, ठेगाना र निजले लिएको सेयर संख्या उल्लेख भएको सूची सेयरधनीहरूबाट हुने निरीक्षणका लागि साधारणसभा हुने स्थलमा राख्नुपर्नेछ । कम्पनीले साधारणसभा कम्पनी रजिस्ट्रारको कार्यालय रहेको जिल्ला वा सोसँग जाडिएका अधिकांश सेयरधनीलाई पायक पर्ने ठाउँमा गर्नुपर्नेछ । 

सभामा गरिने प्रस्ताव
कम्पनीको अधिकृत पुँजी बढाउन, सेयर पुँजी हेरफेर, नाम र मुख्य उद्देश्य परिवर्तन गर्न, कम्पनी गाभिने विषय, बोनस सेयर जारी गर्ने, प्राइभेट कम्पनीबाट पब्लिक वा पब्लिकबाट प्राइभेट कम्पनीमा परिणत हुने विषयमा निर्णय गर्न साधारणसभामा विशेष प्रस्ताव पेस गर्नुपर्छ । यस्ता प्रस्ताव साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछन् । कम्पनीले अतिआवश्यक निर्णय सञ्चालक समितिमार्फत गरेमा साधारणसभामा सदस्यलाई जानकारी गराइ अनुमोदनका लागि पेस गर्नुपर्नेछ ।  साथै, कम्पनीलाई व्यावसायिक रूपमा सफल बनाउन प्रतिनिधिको रूपमा हुने सञ्चालक चयन तथा फेरबदल गर्नुपरेमा पनि साधारणसभामार्फत निर्विरोध निर्वाचित गराउन प्रस्ताव पेस गर्न सकिन्छ । यही तोकिएको कार्यकाल अघि नै कुनै सञ्चालकले राजीनामा दिएमा र सञ्चालक समितिको निर्णयमा नयाँ सञ्चालक नियुक्त गरेमा पनि सो निर्णयलाई सभामा पेस गरी अनुमोदन गर्न सकिन्छ ।