१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २९ मंगलबार ११:१५:००
Read Time : > 1 मिनेट
अर्थ

एचआइडिसिएलका ८ वर्ष : २३ आयोजना तथा कम्पनीमा ४४ अर्ब लगानी प्रस्ताव

Read Time : > 1 मिनेट
२०७६ पौष २९ मंगलबार ११:१५:००

२० आयोजना तथा कम्पनीमा १३ अर्ब १३ करोड २७ लाख लगानी गर्ने सम्झौता

 जलविद्युत् क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकार र सर्वसाधारणको लगानीमा स्थापित हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले ८ वर्षमा ४४ अर्ब रुपैयाँ ऋण तथा स्वपुँजी लगानीको प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकबाट २६ असार ०६९ मा ऋण लगानी गर्न स्वीकृति प्राप्त गरेको कम्पनीले हालसम्म विभिन्न २३ आयोजना तथा कम्पनीमा लगानी गरेको छ । 

१२ आयोजनामा ७ अर्ब लगानी
कम्पनीले ४ सय ४० मेगावाटका १२ जलविद्युत् आयोजनामा ६ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसमध्ये २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ ऋण प्रवाह गरिसकेको छ । उक्त परियोजनामध्ये बागमती साना, काबेली बी १, तल्लो हेवा र सोलु गरी कुल ९० मेगावाटको उत्पादन सुरु भइसकेको छ । त्यस्तै, तल्लो सोलु, मिस्त्रीखोला, दोर्दी, न्यादी गरी १ सय ८७ मेगावाटका ३ आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि पुगिसकेको छ । अप्पर सोलु, लोबर लिखु, सोलुखोला, दूधकोसी र अपर त्रिशूली ३ बी गरी १ सय ६९ मेगावाटका ४ आयोजनाको प्रगति २० देखि ४१ प्रतिशतसम्म पुगेको छ । 

कम्पनीले ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनामा विश्व बैंकबाट नेपाल सरकारलाई प्राप्त ४० मिलियन अमेरिकी डलर (झन्डै साढे ४ करोड रुपैयाँ) ऋणलाई सहायक ऋणबापत लगानी गरेको छ । ऊर्जा आयोजनामा ऋण मात्रै लगानी गर्ने आफ्नो रणनीतिलाई परिवर्तन गर्दै कम्पनीले ऋण र इक्विी (स्वपुँजी) दुवै लगानी गर्ने रणनीति अपनाएपछि विभिन्न कम्पनी तथा परियोजनामा सेयर लगानीसमेत गर्न थालेको छ । कम्पनीले पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडमा ६ करोड ३० लाख रुपैयाँ, विद्युत् उत्पादन कम्पनी लिमिटेडमा ८० करोड, नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेडमा ३ करोड र एनइए इन्जिनियरिङ कम्पनीमा ३ करोड सेयर लगानी प्रतिबद्धता जनाएको छ । ४ कम्पनीमा कुल ९२ करोड ३० लाखको यो प्रतिबद्धतामध्ये हालसम्म ३४ करोड ९० लाख रुपैयाँ सेयर लगानी गरिसकेको छ । 

चिनियाँ र भारतीय कम्पनीसँग मिलेर ४ आयोजनामा लगानी 
कम्पनीले चीनको सरकारी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) सँगको जोइन्ट भेन्चरमा ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजना विकास गर्न लगानी गर्ने भएको छ । प्रतिस्पर्धामार्फत लगानी बोर्डबाट सर्वेक्षण अध्ययनको अनुमति प्राप्त गरेको यो परियोजनामा संयुक्त रूपमा लगानी गर्ने विषयमा पावर चाइना र एचआइडिसिएलबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यस्तै, एचआइडिसिएलले पावर चाइनासँगै मिलेर (जोइन्ट भेन्चरमा) १ सय ५६ मेगावाटको माडी जलविद्युत् आयोजना निर्माण गर्न विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति लिएर काम अघि बढाइरहेको छ । 

पछिल्लो समय एचआइडिसिएलले भारतको सरकारी कम्पनी एनएचपिसी लिमिटेडसँगको सहकार्यमा जलविद्युत्मा लगानी गर्नेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरिसकेको छ । एनएचपिसीसँग समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि ऊर्जा मन्त्रालयमा प्रस्ताव पेस गरिएको कम्पनीका सिइओ छविराज पोखरेलले बताए ।