१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २९ मंगलबार ०९:३३:००
Read Time : > 1 मिनेट
समाचार

परम्परागत बाली छोडेर दुई सय रोपनी जग्गामा किबी खेती

Read Time : > 1 मिनेट
२०७६ पौष २९ मंगलबार ०९:३३:००

थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने भएपछि दोलखाका दुर्गम गाउँका किसान किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कालिञ्चोक गाउँपालिका–६ थाङबारुका किसानले दुई सय रोपनी जग्गामा एकै दिन किबीका बिरुवा रोपेर अभियानको थालनी गरेका छन् । 

कालिञ्चोक गाउँपालिका र केही गैरसरकारी संस्थाहरूको सहयोगमा उनीहरूले दुई सय रोपनी जग्गामा २ हजार ५ सय बिरुवा लगाएका हुन् । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गतको किबी जोन कार्यालय दोलखाको प्राविधिक सहयोगमा किसानले परम्परागत बाली घटाउँदै किबी खेती सुरु गरेको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए । उनले यो अभियान क्रमशः अन्य वडाहरूमा समेत सञ्चालन गर्दै लैजाने बताए । ‘अहिले यहाँको २ सय १४ हेक्टर जमिनलार्ई किबी पकेट क्षेत्रका रूपमा विकास गर्दै छौँ,’ थामीले भने ‘अब पकेट क्षेत्रका लागि सबै पूर्वाधार बनाएर ३ वर्षभित्र यो क्षेत्रले किबीबाट आम्दानी दिन थाल्नेछ ।’ यसका लागि थाङबारुका १ सय ३४ किसानलाई २५ सय १८ वटा किबीका बिरुवा निःशुल्क वितरण गरिएको गाउँपालिकाको सहयोगी संस्था नाम्सालिङका जिल्ला संयोजक राजन क्षत्रीले जानकारी दिए । 

किबीका बिरुवा रोपिएलगत्तै थाङ्ग्रा वितरण गरिने र सिँचाइ कुलो बनाउने काम अघि बढाइने तयारी भइरहेको छ । किबी रोप्नुअघि प्रधानमन्त्री आधुनिक कृषि परियोजना (किबी जोन) चरिकोट कार्यालयले यहाँको माटो परीक्षण गरेको थियो । १९ सय मिटरको उचाइमा रहेको यो स्थान किबीका लागि उपयुक्त रहेको कार्यालयका प्रमुख मोहन खतिवडाले बताए । 

दुर्गम लेकमा रहेको यो गाउँको आफ्नो जमिनमा किबी लगाउन पाउँदा स्थानीय दंग देखिन्थे । ‘अब यी बिरुवालाई संरक्षण गरेर हुर्काउँछौँ र गाउँलाई किबीको बगैँचाले हराभरा बनाउँछौँ,’ स्थानीय वेदप्रसाद भण्डारीले भने । 

जिल्लाभर ९ हजार रोपनीमा किबी खेती
प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत दोलखामा ९ हजार रोपनी जग्गामा किबीको व्यावसायिक खेती सुरु गरिएको छ । किबी जोन कार्यालयका प्रमुख मोहन खतिवडाका अनुसार यो वर्ष मात्रै झन्डै ५ सय मेट्रिकटन किबी उत्पादन भएको छ । दोलखामा उत्पादित किबी काठमाडौं, पोखरा, विराटनगरलगायत विदेशी बजारहरूमा समेत निर्यात हुने गरेको बताइएको छ । किबी खेतीको प्रमोसनका लागि एक साताअघि भीमेश्वर नगरपालिकाले सातदिने किबी महोत्सवको समेत आयोजना गरेको थियो ।