२०७६ पौष २९ मंगलबार ०९:२०:००
साझना तोलांगे

हराउँदै छन् छोरीहरू

साझना तोलांगे
२०७६ पौष २९ मंगलबार ०९:२०:००

सबैले छोराको मात्रै चाहना राख्ने हो भने अबको हाम्रो समाजको जनसांख्यिक बनोट कस्तो बन्ला ? के छोराले मात्र समाज र विश्व अघि बढ्न सक्छ ?

ललितपुरकी प्रमिला थापा (नाम परिवर्तन)ले पहिलो सन्तानका रूपमा छोरी जन्माइन् । उनका श्रीमान् दोस्रो सन्तान छोरा नै चाहन्थे । जब प्रमिला दोस्रोपटक गर्भवती भइन्, श्रीमानले लिंग पहिचान गर्न दबाब दिए । भ्रूणको लिंग पहिचान गर्नु गैरकानुनी भए पनि, गोप्य रूपमा अल्ट्रासाउन्ड गरी लिंग पहिचान गर्ने हदसम्मको वातावरण श्रीमान्ले मिलाए । प्रमिलालाई जे कुराको डर थियो, आखिर त्यही भयो, गर्भमा छोरी भएको पत्ता लाग्यो । 

‘छोरा र छोरीमा के फरक छ ? सम्झाउने धेरै प्रयास गरेँ, तर सफल भइनँ’ उनले भनिन् । अन्ततः श्रीमान्को दबाबमा उनले गर्भपतन गराइन् । त्यो घटनाले उनलाई पिरोलिरहेको छ । उनमा आत्मग्लानी छँदै छ, उनी शारीरिक र मानसिक कमजोरी महसुस गरिरहेकी छिन् । ढिलै भए पनि उनका श्रीमान्ले छोरी मात्रै भएकोमा चित्त बुझाएका छन्, तर परिवारजनसँग सम्बन्ध राम्रो छैन । कारण छोरा नहुनु । 

लिंग छनोटका आधारमा हुने गर्भपतनबारे, ललितपुरको महालक्ष्मी नगरपालिकामा अध्ययन गरिरहँदा झन्डै ६० वर्षकी आमासँग जम्काभेट भयो । म महिलाहरूसँग कुरा गरिरहेको देखेर उनले केका लागि आउनुभएको ? भनेर जिज्ञासा राखिन् । मैले मानिस सन्तानको रूपमा छोरा नै किन चाहन्छन् भनेर बुझ्न आएको बताएँ । सानो बच्चा काखमा च्यापेर बसेकी उनी केहीबेर बोल्नै सकिनन् । बिस्तारै उनका आँखा रसाए । आँखाले धेरै कुरा भनेजस्तो लाग्यो, तर बुझिनँ । अरू केही कुरा सोध्नुअघि नै उनी घरतिर लागिन् । पछि छिमेकीबाट थाहा पाएँ, उनका दुई छोरी मात्रै रहेछन्, उनीहरूको विवाह भइसकेको थियो । उनले बोकेको सानो बाबु तिनै छोरीमध्ये एकको छोरा थियो । श्रीमान् बितेपछि एक्लै बस्दै आएकी उनलाई छोरा नभएकोमा निकै गुनासो थियो । यो कुरा थाहा पाएपछि म धेरै समयसम्म पिरोलिएँ । आखिर त्यस्तो के कारण होला, जसले ती आमालाई छोरा नभएकोमा रुन बाध्य पा¥यो ?

यी घटनाले छोरा नहुनुकै कारण भोग्नुपरेको छुट्टाछुट्टै जीवनको प्रतिनिधित्व गर्छन्, तर दुवैको केन्द्रमा छोरा नै छ । नेपाली समाजमा मात्र होइन, विश्वका धेरै समाजमा छोराको चाहना राख्नाले छोरीको संख्या घट्दै गएको छ । नेपालमा प्रमिलाजस्ता धेरै महिलाले स्वेच्छा वा दबाबमा छोरा पाउन गर्भमै छोरी भ्रूणको गर्भपतन गर्दै आएको देख्न र सुन्न पाइन्छ । यसको प्रत्यक्ष असर नेपालको जनसंख्या सन्तुलनमा परेको छ, जसले महिलाको तुलनामा बालक बढी जन्मिने गरेको छ । यसले पारिवारिक, सामाजिक र राष्ट्रिय हुँदै विश्वस्तरमै समस्या निम्त्याउँछ । 

मिसिङ गल्र्स ग्लोबल्ली
‘छोरा–छोरी बराबर हुन्’ यो वाक्य विश्वभर चल्तीको वाक्य हो । जतिवेलादेखि छोरा र छोरीलाई समान मान्न थालियो, छोरीको अधिकार प्रत्याभूत गर्न, महिलालाई समानता दिलाउन, धेरैखाले नीति निर्माण र कार्यक्रमको सुरुवात भयो । सामाजिक र सांस्कृतिक रूपान्तरण पनि नभएको होइन । बढ्दै गएको महिलाहरूको अर्थपूर्ण सहभागिता तथा गुणस्तरीय पहुँच देख्दा हामी पनि समान हौँ कि भन्ने भान पर्छ । तर, महिलालाई अझै विभेद गरिन्छ र समान मानिँदैन भन्ने तथ्यको एउटा गतिलो उदाहरण हो, लिंग छनोटको आधारमा हुने गर्भपतन । यसलाई एन्ना हिगिन्सले आफ्नो अध्ययनमा ‘द रियल वार अन वुमन’ भनेर व्याख्या गरेकी छिन् । कतिपय समाजमा यसलाई ‘मिसिङ गल्र्स’को संज्ञा दिइन्छ । 

अमत्र्य सेनले सन् १९९०को दशकमा बेवास्ता, गर्भपतन र हेरचाहमा असमानताका कारण १० करोड छोरी विश्व जनसंख्याबाट हराएको तथ्यांक प्रस्तुत गरेका थिए, सन् २०११ सम्मको तथ्यांक हेर्दा यो संख्या बढेर १६ करोड पुगेको छ

अमत्र्य सेनले सन् १९९० को दशकमा, बेवास्ता, गर्भपतन र हेरचाहमा असमानताका कारण १० करोड केटी तथा महिला विश्व जनसंख्याबाट हराएको तथ्यांक प्रस्तुत गरेका थिए । सन् २०११सम्मको तथ्यांक हेर्दा यो संख्या बढेर १६ करोड पुगेको देखिन्छ । हिभिस्टेनवालले यसो हुनुमा लिंग छनोटका आधारमा हुने गर्भपतन प्रमुख रहेको बताएका छन् । अमेरिका, इंग्ल्यान्डलगायत युरोप र पश्चिमा विकसित देश तथा उत्तर अफ्रिका, चीन, भारत, साउथ कोरियालगायत देशमा समेत पुरुष धेरै जन्मेको तथ्यांक छ । इंग्ल्यान्ड र अमेरिकाको हकमा एसियाबाट बसाइँसराइ सरेर जाने समुदायले बालक बढी जन्माउँछन् । 

चीनमा सन् १९८०मा जनसंख्या वृद्धिदर रोक्न एक सन्तानको नीति सार्वजनिक भएपछि धेरै पुरुषको जन्म भएको थियो । सन् २०१६सम्मको तथ्यांकमा छोरीको तुलनामा करिब ३३ लाख बढी छोरा जन्मिएका थिए । त्यहाँ छोरा जन्माउनकै लागि छोरी भ्रूणको गर्भपतन गरिएकाले बालक बढी जन्मिएको पाइएको छ । सन् २०१६पछि चीनमा एक सन्तानको नीति हट्यो । छोरा धेरै जन्मिएका कारण छोरी कम जन्मिने अवस्थाको असर लिंग अनुपातमा परेको छ । लिंग अनुपात भन्नाले जन्मँदा छोरीको तुलनामा कति छोराको जन्म हुन्छ भन्ने तथ्यांक हो । नेपालमा सन् २०११सम्मको तथ्यांकलाई विश्लेषण गर्ने हो भने, एक सयजना छोरीको जन्म हुँदा एक सय ६ जना छोराको जन्म हुने गरेको छ । नयाँदिल्लीमा अवस्थित मानव अधिकारका लागि एसियन केन्द्रले नेपाललाई यस्तो अवस्था हुनेमा ११औँ स्थानमा राखेको छ । 

छोराको चाहना पितृसत्तात्मक निरन्तरता 
परिवारले छोराको चाहना राख्नुलाई सांस्कृतिक र सामाजिक कारणसँग जोडेर हेर्न सकिन्छ । यसको मुख्य कारण भनेको पितृसत्ता नै हो । जसले छोरालाई सामाजिक, सांस्कृतिक र पारिवारिक रूपमै धेरै अधिकार दिएको छ । होहम्यान, लेफेभर, गारेनेले लिंगका आधारमा हुने गर्भपतनलाई पित्तृसत्तात्मक संरचना, लैंगिक विभेद र छोराको चाहनाको दृष्टिकोणबाट मात्र व्याख्या गर्न नहुने धारणा राखेका छन् । उनीहरूले लिंगका आधारमा हुने गर्भपतनलाई माग, आपूर्ति र नियमनको सामाजिक तथा आर्थिक संरचनामा राखेर हेर्न सुझाएका छन् । नेपाली समाजको अध्ययन गर्दा योे दुवै दृष्टिकोणबाट हेरिनु आवश्यक देखिन्छ । 

नेपालमा सन् २००२देखि गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको छ । तर, लिंग छनोटका आधारमा हुने गर्भपतनलाई गैरकानुनी भनिएको छ । यति हुँदाहुँदै पनि लिंग छनोटका आधारमा गर्भपतन गर्ने क्रिया दिनानुदिन मौलाइरहेको छ । लिंग छनोट, लिंग जाँच विधिविना सम्भव छैन । अल्ट्रासाउन्ड गर्दा छोरा वा छोरी के छ भनी भन्न पाइँदैन । तर, अस्पतालका डाक्टरले बढी रकम लिएर भ्रूणको लिंग बताइदिने गरेको अध्ययनमा पाइयो ।

गैरकानुनी रूपमा जसरी अस्पताल, व्यक्ति स्वयं लिंग पहिचान गर्नतर्फ लागिरहेका छन्, त्यसले हाम्रो समाजमा भइरहेको लिंग जाँच विधिको माग, आपूर्ति र विनिमयको विकासतर्फ संकेत गर्छ । यसले छोराको सांस्कृतिक र पारिवारिक अस्तित्वलाई बढावा दिँदै उसको उपस्थितिका लागि गरिने चाहनामा मलजल गर्छ । राम्रोसँग निरीक्षण गरी दोषीउपर कडा सजायको व्यवस्था गर्दै यसलाई रोक्न सकिएन भने हाम्रो देशमा लिंगको अनुपातमा भारी मात्रामा असन्तुलन आउन सक्छ । लिंग छनोट गर्ने र गराउनेलाई सजाय हुने कानुनी प्रावधान कार्यान्वयन गराउन सकियो भने यसले थोरै मात्रामा भए पनि लिंग असमानतामा कमी ल्याउन सक्छ । 

चीनमा सन् १९८०मा जनसंख्या वृद्धिदर रोक्न एक सन्तानको नीति सार्वजनिक भएपछि धेरै पुरुषको जन्म भएको थियो, सन् २०१६सम्मको तथ्यांकमा छोरीको तुलनामा करिब ३३ लाख बढी छोरा जन्मिएका थिए

छोरा हुँदा वंशको निरन्तरता हुन्छ, आफू मरेपछि छोराले दाहसंस्कार र काजक्रिया गर्छ, छोराले दाहसंस्कार गरेमा स्वर्ग पुगिन्छ, छोरा बुढेसकालको सहारा हो भन्ने विश्वासका कारण अभिभावक छोराको चाहना राख्छन् । वंशको निरन्तरता भनेको छोरा–छोरी जोबाट पनि सम्भव छ । छोराको सन्तानलाई अपनत्व देखाउने, वंश मान्ने, छोरीको सन्तानलाई अपनत्व देखाउने, तर वंश नमान्ने खालको सामाजिक संरचनालाई भत्काउनु जरुरी छ । वंशको निरन्तरतालाई छोराको दृष्टिकोणबाट मात्र सम्भव छ भन्ने मानसिकतालाई त्याग्नुपर्छ । यो खालको भ्रमपूर्ण पित्तृसत्तात्मक संरचना भत्काउन छोरीहरूले मिहिनेत गर्न आवश्यक देखिन्छ । 

छोरा र छोरी बराबर भनिरहँदा के छोरीले बाआमाको साँच्चिकै स्याहार गर्न सकेका छन् त ? छोरीहरू बिहेपछि श्रीमान्को घरलाई आफ्नो ठान्छन्, श्रीमान्को बाआमाको स्याहार गर्छन् । त्यसलाई नराम्रो भन्न नसकिएला, तर श्रीमान्सँगको र उसको परिवारसँगको सम्बन्ध प्रगाढ बनाउने दौडबाट हटेर आफ्ना बाआमाका लागि पनि थोरै समय निकाल्नैपर्नेछ । श्रीमान्ले आफ्ना बाआमा र आफ्नै छोराछोरीका लागि समय व्यवस्थापन गर्न सके श्रीमती आफ्नो बाआमाकहाँ जान सक्छिन् र केही समय दिन सक्छिन् । साथसाथै आर्थिक रूपमा पनि सहयोग गर्न सक्छिन् । छोरीले कम्तीमा बाआमाको बुढेसकालको सहारा भएर, मृत्युपछि दाहसंस्कार र काजक्रिया गरेरै छोराले जस्तै भूमिका निर्वाह गर्न सक्छन् । हुन त छोरीहरूले यसो गर्दै आएका पनि छन्, तर प्रयोगमा अझै व्यापकता आवश्यक देखिन्छ । 

पैतृक सम्पत्तिमा छोरा र छोरीको बराबर हक भनिरहँदा छोरीलाई साँचो अर्थमा आर्थिक रूपमा आत्मनिर्भर बनाउनेतर्फ हामीले नसोच्ने हो भने छोरीमाथि हुने विभेद र छोराप्रतिको चाहना कायम रहिरहन्छ । आत्मनिर्भर अर्थतन्त्रले नै आत्मनिर्भर निर्णय प्रक्रियामा महत्व्पूर्ण भूमिका खेल्छ भन्ने हामी सबैले महसुस गरेकै कुरा हो । अभिभावकले सोच्नुपर्ने विषय के हो भने सबैले छोराको मात्रै चाहना राख्ने हो भने अबको हाम्रो समाजको जनसांख्यिक बनोट कस्तो बन्ला ? के छोराले मात्र समाज र विश्व अघि बढ्न सक्छ ? 

प्रमिला थापा र अन्य आमाहरूको पीडामा मलम लगाउने छोरीको जन्म त्यसै हुँदैन । मानिसको सामाजिक चरित्रको निर्धारण लिंगले भन्दा पनि उसको सोचले निर्धारण गर्छ । सोच निर्माणमा जति परिवारको हात हुन्छ, त्योभन्दा कैयौँ गुणा धेरै ऊ बाँच्दै गरेको समाजको भूमिका हुन्छ । त्यसैले हामी कस्तो छोरीको परिकल्पना गर्छौं भन्ने प्रश्न समाजको सामूहिक यत्नमा भर पर्छ ।