मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अफुआ हिर्स्च
२०७६ पौष २९ मंगलबार ०९:१८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

नश्लवाद नै मेघन बहिर्गमनको कारक

Read Time : > 2 मिनेट
अफुआ हिर्स्च
२०७६ पौष २९ मंगलबार ०९:१८:००

ब्रिटिस प्रेस मेघन मर्केललाई ब्रिटेनबाट लखेट्ने तिनको अभियानमा सफल भएका छन् । तर, मेघनसँगै राजकुमार ह्यारीले पनि ब्रिटेन छाड्नै लागेका छन्, जुन सायद तिनले चाहेका थिएनन् । यो हप्ता सार्वजनिक भएको एक वक्तव्यमा, ह्यारी र मेघनको जोडीले ब्रिटिस परिवारभित्र ‘प्रगतिशील नयाँ भूमिका सिर्जना’ गर्न चाहेको र ‘शीर्ष’ शाही सदस्यको भूमिकाबाट पछि हट्ने बताए । नयाँ भूमिकामा राजदरबारबाट खर्च नलिने पनि तिनले बताएका छन् ।

मेघन र ह्यारीको ‘विदेश बसाइँ सर्ने’ कदमप्रति ब्रिटिस प्रेस आश्चर्यमा पर्‍यो । यदि मिडियाले ब्रिटिस अश्वेत समुदायमाथि ध्यान दिए भने तिनीहरूले यो घोषणामा आश्चर्य मान्नुपर्ने खासै केही नभएको पाउनेछन् ।  ब्रिटेनमा अहिले यस्ता प्रधानमन्त्री छन्, जसको राजनीतिक इतिहास चर्को नश्लीय मन्तव्यले भरिएको छ । त्यस्तै, श्वेत राष्ट्रवादबाट प्रेरित ब्रेक्जिट परियोजना मूलभूत रूपमा ठूलो संख्यामा रहेका आप्रवासीलाई ब्रिटेनबाट बाहिर निकाल्ने चाहनासँग जोडिएको छ । साम्राज्यवादीकालका क्रियाकलापप्रति गर्व गर्ने प्रवृत्ति बढेका वेला अन्य अश्वेत पनि असहज महसुस गर्न थालेका छन् । 

राजपरिवारसँग जोडिएपछिका सुरुवाती समाचारदेखि नै मेघनलाई ब्रिटिस मिडियाले गरेको नश्लीय व्यवहार बेवास्ता गर्न नसकिने खालको छ । राजपरिवारकै एक सदस्यले एक भोजमा नश्लवादी गहना लगाएर गएको फोटो बाहिरिएको थियो । बिबिसीकी एक प्रस्तोताले ह्यारी–मेघन जोडीको नवजात शिशुलाई चिम्पान्जीसँग तुलना गरिन् । केही मानिस मेघनमाथिको आक्रमणलाई उनको नश्लसँग जोडेर हेर्न नहुने बताउँछन् । तर, तिनले मेघनलाई नश्लसँग जोडिने आतंकवाद तथा ग्याङ गतिविधिसँग जोड्ने प्रयास किन गरिन्छ भनेर स्पष्ट पार्न सक्दैनन् । त्यस्तै, शाही परिवारका अन्य सदस्यले गर्दा प्रशंसा पाउने काम मेघनले गर्दा किन आलोचना खेप्नुपर्छ?

उदाहरणका लागि उनको ‘ब्रिटिस भोग’ पत्रिकाको गेस्ट एडिटर हुने निर्णयलाई ब्रिटिस मिडियाको ठूलो हिस्साले आलोचना गर्‍यो । तर, विगतमा राजकुमार चार्ल्सले दुईपटक ‘कन्ट्री लाइफ म्यागजिन’को गेस्ट एडिटर हुँदा यस किसिमको आलोचना हुने गरेको थिएन । केट मिडल्टन हफिङ्टन पोस्टको गेस्ट एडिटर हुँदा उनको प्रशंसा नै भएको थियो । मेघनलाई गरिएको व्यवहारले हामी अश्वेतलाई पहिलदेखि थाहा भएको कुरा पुन प्रमाणित भएको छ– तपाईं जति नै सुन्दर हुनुस्, तपाईं जो–सुकैसँग विवाह गर्नुस्, तपाईंका लागि एक अलग दरबार दिइएको किन नहोस्, तपाईंले जति नै पैसा जम्मा गर्नुस् वा तपाईंले जति नै राम्रो काम गर्नुभएको भए पनि समाजको नश्लवादले तपाईंलाई पछ्याउन छाड्दैन ।  

तपाईं जति नै सफल वा सम्पन्न हुनुस् अथवा तपाईंको एउटा छुट्टै दरबार नै किन नहोस्, तपाईं अश्वेत हो भने नश्लवादले तपाईंलाई पछ्याउन छाड्ने छैन भन्ने मेघन प्रकरणले पुनः पुष्टि गरेको छ

ब्रिटेनको कठोर वर्गीय समाजमा, बिरासत र नश्लबीचमा गहिरो सम्बन्ध देखिन्छ । थोरै अश्वेत, जसले उल्लेखनीय सफलता र समृद्धि हासिल गर्छन्, तिनलाई त्यसका लागि कृतज्ञ हुन भनिन्छ वा मन पर्दैन भने मुलुक छाडेर जान भनिन्छ । ब्रिटिस साम्राज्यको इतिहास हेर्ने हो भने उक्त मुलुकले ‘दास व्यापार’मा अग्रणी भूमिका खेलेको देखिन्छ र त्यसलाई सम्भव बनाउन नश्लवादी विचारधाराको ठूलो योगदान छ । त्यसबाहेक क्यारेबियन तथा अफ्रिकाका जनतालाई न्यून ज्याला काममा भर्ती गर्ने र त्यसपछि तिनलाई शिक्षा, घरबारमा विभेद गरेको देखिन्छ । यो प्रथा आजसम्म पनि अन्त्य भएको छैन । केही वर्षअघि अश्वेत ब्रिटिस नागरिकलाई भुलवश डिपोर्ट गरेपछि उत्पन्न विवाद अझै पनि गुन्जिन्छ । मेघनले अश्वेतविरुद्ध भएका ज्यादतीको इतिहासको केन्द्रमा रहेको परिवारसँग सम्बन्ध गाँस्ने निर्णयले धेरै अश्वेत ब्रिटिस नागरिक अन्योलमा परेका थिए । हामीमा उनले आफू प्रवेश गरेको संस्थालाई पूर्णतः स्विकारिन् कि भन्ने सोच बनेको थियो । 

मेघन र ह्यारी दुवैले आफ्नो वास्तविक अवस्थाबाट स्पष्ट धारणा बनाएको देखिन्छ । जोडीले राजपरिवार परित्याग गर्न लाग्नुमा कुनै आश्चर्य होइन । तिनले जारी गरेको सांकेतिक वक्तव्यमा आफूहरू आफ्नो छोरा आर्कीलाई ‘भावी अध्यायमा केन्द्रित हुने वातावरण’मा हुर्काउन चाहेको लेखेबाट पनि केही संकेत मिल्छ । ती आफ्नो सन्तानलाई आफूले सामना गरेको तिक्त वातावरणबाट बचाउन चाहन्छन् । हिजोका दिनमा मेघन र ह्यारीलाई निरन्तर खेदो खन्ने ब्रिटिस प्रेसले यो जोडीको कदममा आश्चर्य प्रकट गरेका छन् । तर, आकलन गर्न सक्नेका लागि पछिल्लो कदमको संकेत केही समयअघिदेखि नै विद्यमान थिए । आर्की जन्मेलगत्तै पाउने मानपदवी उनका अभिभावकले नलिने निर्णय त्यसैको एक संकेत थियो । 

हालैका महिनामा मेघन र ह्यारीले आधिकारिक शाही औपचारिकतासँग नमिल्ने गरी मिडियासँग प्रत्यक्ष संवाद गर्न थालेका थिए । अर्को उल्लेखनीय घटना पनि छ । मेघनले एक टेलिभिजन वृत्तचित्रमा शाही जीवनमा घुलमिल हुन ‘कठिन’ भइरहेको अभिव्यक्ति दिएकी थिइन् । यी सबैले मेघन र ह्यारी सहजै शाही रहनसहन स्विकार्दैनन् भन्ने संकेत दिएको थियो । शीर्षस्तरका शाही भूमिका परित्याग गर्ने यो जोडीको निर्णयमा समेत बकिंघम दरबार आश्चर्यमा पर्नुले संस्थापनलाई पूर्वजानकारी नरहेको संकेत गर्छ । ह्यारी र मेघनले उठाएको दरबार परित्यागको कदमले ब्रिटिस संस्थापनमाथि औँला त तेर्स्याएको छ नै, धेरै अर्थ पनि बोकेको छ । 

अफुआ हिर्स्च युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाकी पत्रकारिताकी अध्यापक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य