मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ पौष २९ मंगलबार ०८:१७:००
Read Time : > 2 मिनेट
खेलकुद

खस्कियो पुलिसको खेल

Read Time : > 2 मिनेट
काठमाडौं
२०७६ पौष २९ मंगलबार ०८:१७:००

लगातार तीनपटक ए डिभिजन लिग उपाधि उचालेको पुलिस अहिले अंक जोड्न संघर्षरत

विभागीय नेपाल पुलिस क्लबले कुनै समय लगातार तीनपटकसम्म सहिद स्मारक ए डिभिजन लिग फुटबल उपाधि उचालेको थियो । लिग च्याम्पियन बन्दाको समयमा पुलिसको खेल लोभलाग्दो हुन्थ्यो । त्यसवेला पुलिस प्राविधिक रूपमा बलियो टोली थियो । वान टु पास, काउन्टर एट्याक्ट र टिमवर्कको भावनामा पुलिसले करिब चार वर्ष लिगमा राज गर्‍यो । यसको मुख्य कारण विभागीय क्लबका खेलाडी आफ्नै मैदानमा वर्षभरि अभ्यास गर्छन्, सधैँ फिट भइरहन्छन् । यसले विभागीय क्लबको खेल खस्किन पाउँदैन । चालू लिगमा यो भनाइ व्यवहारमा लागू हुन सकिरहेको छैन । 

पुलिस र एपिएफ प्रत्येक खेलमा एक अंकका लागि निकै मिहिनेत गरिरहेका देखिन्छन् । त्रिभुवन आर्मीले भने लिगमा राम्रो नतिजा निकालिरहेको छ । स्वयं पुलिसका प्रशिक्षक अनन्तराज थापा विभागीय टोलीको प्रदर्शन एकनाश नभएको स्वीकार गर्छन् । न्युरोड टिम (एनआरटी)सँग सोमबार दशरथ रंगशालामा अप्रत्याशित रूपमा १–० ले पराजित हुँदा पुलिसका प्रशिक्षक अनन्त स्तब्ध भए । पोस्टम्याच कन्फरेन्समा प्रशिक्षक अनन्तले उल्टै पत्रकारसँग प्रश्न गरे, ‘तपाईंहरू नै भन्नुस्, पुलिसको खेल यस्तो हो ?’ 

अनन्तले पुलिसको खेल्ने शैलीदेखि सिनियर खेलाडीको प्रदर्शन राम्रो नहुँदा टोली एनआरटीसँग पराजित भएको दाबी गरे । भरपर्दा र युवा खेलाडीले पास मिस गर्दा उनी झनै निराश देखिए । ‘पुलिसका खेलाडी कहिल्यै मिस पास खेल्दैनन्, तर आज धेरै पास मिस भए,’ उनले भने, ‘हाम्रो पालामा मिस पासलाई ठूलो गल्तीका रूपमा लिइन्थ्यो ।’ लगातार दुई खेलमा सोचेजस्तो प्रदर्शन नहुँदा त्यसको अनुसन्धान गर्नुपर्ने वेला भएको उनले जनाए ।  

‘म आफैँले अनुसन्धान गर्नुपर्ने वेला भइसकेको छ, आखिर पुलिसको खेल किन यस्तो भयो,’ हार आत्मसात् गर्न नचाहेका अनन्तले भने, ‘जब तपाईंका मुख्य खेलाडीले नै राम्रो खेल्न सक्दैनन् भने नतिजा कस्तो आशा गर्ने ? ।’ पाँचौँ चरणमा च्यासल युथ क्लबसँग २–२ को बराबरीमा रोकिँदा अनन्तले एनआरटीलाई सहजै हराउने विश्वास राखेका थिए । तर, एनआरटीविरुद्ध आफ्ना खेलाडीले ४० प्रतिशत मात्र प्रदर्शन गरेको उनको तर्क रह्यो । ‘मलाई विश्वास लागेको छैन, एनआरटीविरुद्ध खेलाडीले ४० प्रतिशतको स्तरमा मात्र खेले,’ आफ्ना खेलाडीको प्रदर्शनमाथि नै प्रश्न गर्दै उनले भने, ‘पुलिसको जुन स्तरको खेल हुनुपर्ने थियो, त्यो वास्तवमै भएन ।’ खेलको ७६औँ मिनेटमा दर्शन गुरुङले एनआरटीलाई १–० को अग्रता दिलाएका थिए ।

राजेश परियारको सटीक क्रसमा दर्शनले पुलिसका गोलरक्षक शत्रुधन चौधरीलाई बिट गर्दै चिप गोल गरेका थिए । उनको त्यही गोलमा एनआरटीले महत्वपूर्ण तीन अंक जोड्यो । आफ्नै कमजोर प्रदर्शनका कारण विपक्षी टोलीले तीन अंक लगेको पुलिसका प्रशिक्षक अनन्तको भनाइ छ । ‘एनआरटीले राम्रो खेलेर तीन अंक जोडेको होइन, हामीले नराम्रो खेल्दा नै विपक्षीको जित भएको हो,’ अनन्तले भने, ‘एनआरटी लिगमा राम्रो टोली होइन ।’ निरश खेलमा तीन अंक बटुलेका एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले विपक्षी प्रशिक्षकको भनाइको केही अर्थ नरहेको जनाए ।

उनले लिगमा खेल कस्तो भयो भन्दा पनि तीन अंक महत्वपूर्ण रहेको स्पष्ट पारे । ‘कुन आधारमा हामीले नराम्रो खेल्यौँ भनेको हो मलाई थाहा भएन, तर लिगको मुख्य पक्ष नै तीन अंक हो,’ प्रशिक्षक राजुकाजीले भने, ‘हामीले कस्तो खेल्यौँ वा विपक्षीबाट कस्तो प्रदर्शन भयो, त्यसको ख्याल कसैले गर्दैन, केवल कुन टोलीले जित्यो वा तीन अंक बटुल्यो भन्ने कुरा आउँछ ।’ पुलिसविरुद्ध तीन अंक लिने उद्देश्यका साथ मैदानमा उत्रिएको उनले बताए ।

‘हाम्रो लक्ष्य नै तीन अंक लिनु थियो, जुन पूरा भयो,’ खेलको स्तरभन्दा पनि अंकमा विश्वास गरेका प्रशिक्षक राजुकाजीले अनन्तको प्रतिक्रियामाथि भने, ‘वर्षभरि आफ्नै मैदानमा प्रशिक्षण गर्ने टोलीको प्रदर्शन यस्तो हो त ?’ आफ्नै मैदानमा नियमित अभ्यासको अवसर भएका विभागीय टोलीको खेलस्तर सन्तोषजनक नभएको उनको भनाइ थियो । ‘विभागीय खेलाडीहरू वर्षभरि नै आफ्नै मैदानमा नियमित अभ्यास गर्न पाउँछन् । तर, हाम्रो आफ्नो मैदान छैन, प्राप्त अवसरमा प्रशिक्षण गर्नुपर्ने बाध्यता छ,’ राजुकाजीले भने, ‘नियमित अभ्यासमा रहने खेलाडीको स्तर हाम्रो भन्दा राम्रो हुनुपर्ने हो, तर यस्तो छैन ।’

रविन एक साता मैदानबाहिर
डेढ वर्षपछि चोटमुक्त हुँदै यसै लिगमा फर्किएका पुलिसका सिनियर खेलाडी रविन श्रेष्ठ पुनः घाइते भएका छन् । एनआरटीविरुद्ध २४औँ मिनेटमा उनी घाइते भए । उनको तिघ्राको लिगामेन्टमा समस्या आएको छ । उनले कम्तीमा एक साता आराम गर्नुपर्नेछ । ‘तिघ्रामा समस्या छ,’ रविनले भने, ‘अब कम्तीमा एक साता आराम गर्नुपर्छ । योबाहेक अरू समस्या छैन ।’

                 आजको खेल
          आर्मीविरुद्ध संकटा (३ बजे)