मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २९ मंगलबार ०७:२४:००
Read Time : < 1 मिनेट
विश्व

शाही जिम्मेवारी त्याग्ने ह्यारीको निर्णयबारे राजपरिवारमा छलफल

Read Time : < 1 मिनेट
२०७६ पौष २९ मंगलबार ०७:२४:००

यसै साता राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयलाई लिएर राजपरिवारको बैठक बसेको छ । महारानी एलिजाबेथ द्वितीयको अगुवाइमा सोमबार दरबारमा महत्वपूर्ण बैठक बसेको हो । बैठकमा ह्यारीका पिता तथा युवराज चार्ल्स, राजकुमार विलियमलगायतले ह्यारी दम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेका थिए । मेगन भने अमेरिका गएकाले बैठकमा प्रत्यक्ष सहभागी भइनन् ।

ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा गरेका थिए । ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् । नातिको घोषणाले महारानी एलिजाबेथ मर्माहत भएको बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।

‘पारिवारिक कलहपछि शाही जिम्मेवारी त्याग’
पारिवारिक कलहका कारण बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले शाही जिम्मेवारी त्यागेर स्वतन्त्र जीवन बिताउने निचोडमा पुगेको अमेरिकाको टाइम म्यागेजिनले दाबी गरेको छ । 

आफ्नै दाजु विलियम तथा भाउजू डचिस अफ क्याम्ब्रिज केट मिडिल्टनसँग विवाद बढेपछि उनीहरूले यसै साता सो घोषणा गरेको म्यागेजिनको दाबी छ । विलियम मेगनप्रति सदा अनुदार देखिएको पत्रिकाले राजपरिवारनिकट स्रोतलाई उल्लेख गरेको छ । रिपोर्टअनुसार ह्यारी र मेगनले डेटिङ सुरु गरेदेखि नै विलियम उनीहरूप्रति 
असन्तुष्ट थिए । 

विवाहपछि पनि विलियमले मेगनलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको बताइएको छ । शाही परिवारबारे विभिन्न अड्कलबाजी हुन थालेपछि ह्यारी र विलियमले सोमबार एक संयुक्त विज्ञप्ति प्रकाशन गरेर त्यसको खण्डन गरेका छन् ।