१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ पौष २९ मंगलबार ०६:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चार विद्यार्थी पढाउन  पाँच शिक्षक : कक्षाकोठामा ताला, विद्यार्थी छिमेकीको आँगनमा

Read Time : > 1 मिनेट
२०७६ पौष २९ मंगलबार ०६:१३:००

विद्यालयको ६ कोठे भवन छ,  तर प्रधानाध्यापकले ताला लगाएर गएपछि विद्यार्थी कोठाबाहिरै

सिराहा नगरपालिका–९ गुलरियास्थित आधारभूत विद्यालयमा पाँच शिक्षकको दरबन्दी छ । तर, ती शिक्षकले पढाउने विद्यार्थी भने चारजना मात्रै छन् । सदरमुकामदेखि तीन किलोमिटर दूरीमा रहेको यो विद्यालयमा ४५ विद्यार्थी भर्ना भएको रेकर्ड छ । कक्षा एकमा १२, दुईमा ६, तीनमा पाँच, चारमा ११ र पाँचमा ११ विद्यार्थी भर्ना भएका छन् । तर, प्रधानाध्यापक र शिक्षक नियमित विद्यालय आउन छाडेपछि विद्यार्थीको उपस्थिति पनि घटेको हो । आजभोलि विद्यालयका कक्षाकोठामा अधिकांश समय ताला झुन्डिएको हुन्छ । 

बिहीबार कुनै सार्वजनिक बिदा थिएन, तर विद्यालयका सबै कक्षाकोठामा ताला लागेको थियो । विद्यालयछेवैमा रहेको दैवसुनैर ठाकुरको घरअगाडि चार विद्यार्थी पढाउँदै थिइन् शिक्षिका सावित्रा शर्मा । शर्माले कक्षा तीनका एक र पाँचका तीन विद्यार्थी एकैठाउँमा राखेर पढाउँदै थिइन् । कक्षाकोठामा ताला लागेकाले अरूको घरमा ल्याएर पढाउनुपरेको शिक्षिका शर्माले बताइन् । 

विद्यालयका प्रधानाध्यापक हुन्, श्याम यादव । उनी नआउँदा कक्षाकोठाका ताला खुल्दैनन् । कर्मचारी नभएका कारण प्रअले नै साँचो बोक्ने गरेको शिक्षिका शर्माले बताइन् । बिहीबार मात्रै होइन, शुक्रबार पनि सबै कोठामा ताला लगाइएका थिए । शुक्रबार त एउटै शिक्षक–विद्यार्थी भेटिएनन् । 

विद्यालय नआएको विषयमा जिज्ञासा राख्दा प्रअ यादवले श्रीमती बिरामी परेकाले बिदा बसेको बताए । ‘श्रीमती बिरामी भएकाले म बिदा बसेको छु । अरू शिक्षकहरूलाई टेलिफोन गरेर जानकारी दिएको थिएँ । उनीहरू किन विद्यालय गएनन्, त्यो थाहा भएन,’ प्रअ यादवले नयाँ पत्रिकासँग भने । विद्यालयमा प्रअ यादव र शिक्षिका शर्माबाहेक, शिक्षकहरू चन्देश्वर यादव, भुवनेश्वर यादव र जगदीश दास कार्यरत छन् । 

शिक्षक नआएपछि विद्यार्थीसमेत आउन छाडेको विद्यालयका दुई कोठा सडक निर्माण गर्ने ठेकेदारलाई मजदुर राख्न दिइएको छ । सघन सहरी विकास योजनाअन्तर्गत सिराहा नगरपालिका क्षेत्रमा सडक र नाला निर्माणमा खटिएका रमन कन्स्ट्रक्सन कम्पनीका ३० मजदुर त्यहाँ बस्दै आएका छन् । मजदुरले भान्सा, सुत्ने कोठाका रूपमा दुवै कोठा प्रयोग गर्दै आएका छन् । ठेकेदार कम्पनीले निर्माण सामग्री विद्यालयको चउरमा थुपारेर राखेको छ । रड, सिमेन्टजस्ता निर्माण सामग्री राख्दा विद्यालय जाने केही बालबालिका पनि जोखिममा रहेको स्थानीयको गुनासो छ । उनीहरू ६÷७ महिनादेखि बस्दै आएका छन् । 

अभिभावक भन्छन्– शिक्षक आए पो विद्यार्थी आउँछन्
शिक्षकहरू नियमित नहुँदा विद्यार्थी आउन छाडेको अभिभावकको गुनासो छ । स्थानीय जोगी दासले भने, ‘शिक्षकहरू नै आउँदैनन् । विद्यालय लामो समयदेखि अस्तव्यस्त छ । कसैलाई कुनै मतलब छैन ।’ नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थी विद्यालय छाड्नेदेखि अर्को विद्यालयमा जान बाध्य भएको स्थानीय श्रीनारायण यादवले बताए । ‘विद्यालयमा पाँच शिक्षक छन् । तर सधैँ आउँदैनन्,’ यादवले भने, ‘जसको मारमा बालबालिका परेका छन् ।’ 

नगरशिक्षा शाखा मौन
सिराहा नगरपालिकामा रहेको शिक्षा शाखाले विद्यालय बन्द रहेको विषय जानकारी नभएको जनाएको छ । पठनपाठनको निगरानी र सुदृढीकरण गर्न काम गर्ने शिक्षा शाखाका संयोजक अधिकृत सुवोध लामाले विद्यालय बन्द भएको जानकारीमा नआएको बताए । ‘विद्यार्थी कति आउँछन्, त्यो थाहा छैन,’ अधिकृत लामाले भने, ‘तपाईंले खबर गर्नुभयो । अब गएर हेर्छु ।’