मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पुस सकिन लाग्दा पनि नांगै देखिएको उपल्लो डोल्पाको तिन्जे गाउँ ।
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ पौष २८ सोमबार २१:०४:००
Read Time : > 1 मिनेट
फिचर

उपल्लो डोल्पा पुस अन्तिममा पनि नांगै

Read Time : > 1 मिनेट
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ पौष २८ सोमबार २१:०४:००

जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा केही दिनअघि मात्रै हेलिकोप्टरमा उपल्लो डोल्पा पुगिन् । कात्तिकदेखि नै हिउँ पर्न सुरु हुने उपल्लो डोल्पामा पुस सकिन लाग्दा त्यहाँका डाँडाकाँडा र गाउँबस्ती हिउँले भरिभराउ होलान् भन्ने उनले सोचेकी थिइन् । तर उपल्लो डोल्पा उनले सोचेको भन्दा ठ्याक्कै उल्टो थियो । उपल्लो डोल्पा उनले सोचेजस्तो चारैतिर हिउँले ढाकिएको थिएन । बरु काला र नांगा थिए ।

पाँच हजार मिटर उचाइमा पर्ने डाँडाकाँडाहरू यो समयमा हिउँले ढाकिनु पर्ने हो । तर त्यहाँ राता र स–साना घाँस उमे्रको प्रस्टै देखिन्थ्यो । करिब १५ हजार फिट माथिसम्म उड्दै उपल्लो डोल्पा पुगेकी उनले धो, तिन्जे, साल्दाङलगायतका बस्ती सबै नांगै देखिन् । उनले भनिन्, ‘अघिल्लो वर्ष यही समयमा उपल्लो डोल्पा पुग्दा हिउँमा पुरिएको हुन्थ्यो, अहिले त डाँडाकाँडा र गाउँबस्ती सबै तल्लो डोल्पा जस्तै नांगै र राता–राता पो देखियो ।’

उपल्लो डोल्पाको खोलाखोल्सीमा थोरै हिउँ जमेको छ । डाँडापाखामा सामान्य तुषारोबाहेक अरु केही छैन । उनले भनिन्, ‘जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको मैले पाएँ ।’ उपल्लो डोल्पाबाट फर्कंदा हेलिकोप्टरका पाइलटसँग पनि जलवायु परिवर्तनले पारेको असरकै विषयमा कुरा गरेको उनले बताइन् । पुस सकिन लाग्दा पनि हिउँ नपरेकोमा स्थानीय पनि अचम्ममा परेको उनले बताइन् । पहिले हिउँ धेरै पर्ने भएकाले अधिकांश मानिस जाडो छल्न बेंसी झर्थे तर केही वर्षयता हिउँ कम पर्न थालेकाले विशेष काममा बाहेक गाउँले अन्यत्र नजाने फोक्सुण्डोका स्थानीय निमा गुरुङले बताए ।

पुस लागेदेखि मात्रै सात/आठपटक हिउँ परिसकेको तर हिउँ नजमेको डोल्पामा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए । यसरी उपल्लो डोल्पामा पनि हिउँ नजम्नुलाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा लिन सकिने उनको भनाइ छ । डोल्पामा प्रत्येक वर्ष हिउँ पर्ने समय घट्न थालेको भन्दै उनले केही वर्षअगाडिसम्म हिउँले भरिभराउ हुने डाँडाकाँडा आजकल काला र सुख्खा देखिन थालेको बताए ।

केही वर्षयता तल्लो डोल्पाका विभिन्न बस्तीका पानीका मुहानसमेत सुक्न थालेका छन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने चुँ र रसीमा पानीका मुहान सुकेर बस्ती नै सार्नुपर्ने अवस्था आउन लागेको स्थानीय रामसिंह बोहोराले बताए । उनले अघिल्लो वर्षभन्दा यो वर्ष ठूली भेरीमा पानीको बहाब पनि घटेको बताए । डोल्पामा क्रमिक रूपमा तापक्रम बढ्दै गएको उनको भनाइ छ ।