Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
रन्जन भण्डारी महोत्तरी
२०७६ पौष २८ सोमबार १८:५६:००
फिचर

मैले छोएको पानी चल्दैन...

रन्जन भण्डारी महोत्तरी
२०७६ पौष २८ सोमबार १८:५६:००

बंगाली मल्लिक (डुम) श्रीमती र एक छोरीसहित एकडारा चोकनजिकै बाँसको डाला बनाउँदै गर्दा भेटिए । डाला धाम जानेहरूले भगवान्लाई चढाउने सामग्री राख्न प्रयोग हुन्छ । बंगालीकी छोरी बाँसका स–साना पाताहरू रंगाउँदै थिइन् भने श्रीमती डालामा प्रयोग गरिने बाँसकै कम्ची (साना टुक्रा) तिखार्दै थिइन् ।

एकडारा गाउँपालिका–२ मा बंगाली मल्लिकसहित ३० परिवार डुम वर्षौंदेखि बसोबास गर्दै आएका छन् । आसपासका गाउँका सबैसँग उनीहरूले दाइ–भाइको साइनो जोडेका छन् । तर एकडारामा बसेको वर्षौं भइसक्दा पनि आफूहरूलाई समाजले अपनाउन नसकेको उनको गुनासो छ । छिमेकी काकाको पसलमा चिया पिउन जाँदा अरुले सिसाको गिलासमा पाउँछन् तर उनलाई प्लाष्टिकको गिलासमा दिइन्छ ।

‘गाउँभन्दा बाहिर अन्यले चिन्दैनन् र खासै फरक पर्दैन,’ बंगाली भन्छन्, ‘तर आफ्नै गाउँमा दिनहुँ अपहेलित हुनु परेको छ ।’ एकडारा चोकमै भेटिएकी रितादेवी मल्लिक पनि बाँसकै केही सामाग्री बनाउँदै थिइन् । घरमै पानीमा भिजाएको धान चिउरा बनाउन मिलमा लाँदा मिल सञ्चालकले ‘डुम’को घरमा भिजाएको धान आफ्नो मिलमा लिएर नआइज भनेर बाहिरै फ्याँकिदिएको घटना स्मरण गर्दै उनले त्यस्ता अपहेलनाका व्यवहारले आफ्नो मुटु छिया–छिया बन्ने गरेको बताइन् ।

सबै समान रहेको भन्दै छुवाछुत गर्नेलाई कारबाही गर्ने कानुन बने पनि गाउँघरमा अझै पनि छुवाछुत कायमै रहेको रितादेवीले गुनासो गरिन् । यस्ता सामाजिक बहिष्करण हरेक गाउँटोलमा भए पनि कानुनी कारबाही फितलो हुँदा अधिकांश दलित समुदाय अपहेलना सहन अभ्यस्त भइसकेको उनको भनाइ छ । पहिलेको तुलनामा छुवाछुत कम हुँदै गए पनि हटिसकेको छैन । त्यसैले अझै पनि केही वर्ष आफूले छोएको पानी नचल्ने बंगाली मल्लिकको बुझाइ छ ।

दलितमाथि समाज मात्र होइन शैक्षिक चेतना दिने स्थल विद्यालयमा समेत छुवाछुतको व्यवहार हुने गरेको उनले बताए । सामुदायिक विद्यालयमै पनि दलित बालबालिका अपहेलित हुनुपरेको कयौँ उदाहरण महोत्तरीका विभिन्न गाउँबस्तीमा छन् । प्रायः डुम, चमार र मुसहर जातिका दलितलाई अझै पनि समाजले मिश्रित बस्तीमा भन्दा पनि छुट्टै बस्तीमा रहेको हेर्न रुचाउने गरेको मल्लिकले बताए ।

नेपालको संविधानले जातीय छुवाछुतविरुद्ध कडा कानुन बनाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १६० को उपदफा २ मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धि कसुर गरेमा गर्ने व्यक्तिलाई तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ । यसलाई अझै स्पष्ट पार्दै दफा १६६ को उपदफा २ मा जातिपातीको आधारमा भेदभाव वा छुवाछुत गर्न नहुने भनेर स्पष्टसँग लेखिएको छ । तर कानुनमा जे लेखिएको भए पनि व्यवहारमा छुवाछुत कायमै छ । जसका कारण बंगाली र रितादेवी डुमजस्तो समाजबाट अपहेलित हुनेको संख्यामा अझै पनि कमी आउन सकेको छैन ।

एकडारा गाउँपालिका उपाध्यक्ष महजवी खातुनले छुवाछुत हटाउन एकडारा गाउँपालिका संवेदनशील रहेको बताएकी छिन् । उनले आफू छुवाछुतविरुद्धको अनेकौँ कार्यक्रममा सहभागी भइसकेको भन्दै समाजमा अझै पनि केही प्रतिशत छुवाछुत कायमै रहेको स्वीकार गरिन् । उनले एकडारामा डुमलगायतका दलितसँग छुवाछुतको व्यवहार भइरहेको भन्ने कुनै औपचारिक जानकारी भने नआएको बताइन् । त्यस्तो जानकारी र उजुरी आए छुवाछुत तथा अपहेलनाविरुद्ध लड्ने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् ।