Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७६ पौष २८ सोमबार ११:२६:००
नयाँCity

वनस्पतिको संग्रहालय गोदावरी

२०७६ पौष २८ सोमबार ११:२६:००

सहरका सम्पदा

ललितपुरको गोदावरी पिकनिकस्थल र घुमफिर गन्तव्यका रूपमा परिचित छ । सहरका बासिन्दा दैनिक कामकाज, तनाव र थकानबाट मुक्ति पाउन त्यहाँ पुग्छन् । थकान र तनावबाट मुक्ति पाउन प्रकृतिसँगको सामीप्यले जादुकै जस्तो काम गर्छ । यस क्षेत्रको परिचय यतिमै सीमित छैन । वैज्ञानिकहरूका लागि यो प्राकृतिक अनुसन्धानको प्रयोगशाला नै हो । दशकौँ पुराना रूख र वनस्पतिको साझा भण्डार पनि हो, यो ।

तस्बिर : संजित परियार

झट्ट सुन्दा सम्पदा शब्दले धार्मिक÷सांस्कृतिक धरोहरलाई बुझाउँछ । तर, नेपाल त्यस्तो मुलुक हो, जो प्राकृतिक सम्पदाहरूबाट पनि भरिपूर्ण छ । त्यही प्राकृतिक सम्पदाको संरक्षणमा अग्रणी स्थानमा छ, गोदावरी । ‘बेलायत, मेक्सिकोलगायत मुलुकले बायो–डोम अवधारणामार्फत बोटबिरुवा र वनस्पति रोपेर खाली जमिनलाई बगैँचामा परिणत गरेका छन्,’ वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘नेपाल त्यस्तो देश हो, जहाँको भूगोल र प्राकृतिक सन्तुलन आफैँमा बायो–डोम छ ।’ त्यसको एक दरिलो उदाहरण गोदावरी भएको उनी बताउँछन् ।

यहाँ दुईवटा पाटा छन्– राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला । कार्यालय प्रमुख अधिकृत दीपक लामिछानेका अनुसार उद्यानभित्रका उद्यान विकास, वनस्पति संरक्षण तथा शिक्षा, फ्लोरिकल्चर र जडीबुटी शाखाले यहाँका रूख, बिरुवा, वनस्पति, जडीबुटी र फूलको रेखदेख र संरक्षण गर्छन् । हिमालका भोजपत्रदेखि पहाडका गुराँस र तराईका साल, सिसौजस्ता रूख, बुट्यान र वनस्पति पाइन्छन्, उद्यानमा ।

१२ कात्तिक ०१९ मा ‘शाही वनस्पति उद्यान’को नाममा यसको स्थापना भएको थियो । ०६२/६३ को परिवर्तनपछि राजतन्त्र हटेसँगै यसलाई राष्ट्रिय वनस्पति उद्यान नामकरण गरियो । यहाँ अहिले पाँच सय ७५ प्रजातिका फूल, दुई सय ९० प्रजातिका पक्षी, दुई सय ५० प्रजातिका पुतली र अनगिन्ती वनस्पति पाइन्छन् । ‘त्यसैले धेरै वनस्पति र प्राणीको जीवन्त संग्रहालय हो, गोदावरी,’ वनस्पतिविद् श्रेष्ठ भन्छन् ।

झट्ट सुन्दा सम्पदा शब्दले धार्मिक/सांस्कृतिक धरोहरलाई बुझाउँछ । तर, गोदावरीले आफूलाई प्राकृतिक सम्पदाहरूको केन्द्रका रूपमा विकास गराएको छ ।

यहाँको भिआइपी गार्डेनमा विभिन्न प्रकारका रूख, बुट्यान छन् । गोदावरीनजिकको फूलचोकीमा वसन्त ऋतुमा गुराँस र चुत्रो फुल्छन् । ती दुवै गोदावरीमा पनि पाइन्छन् । ‘रातो पुवाँले’ पनि गोदावरीको विशेष फूल हो । फूलचोकीको जंगल वन्यजन्तुको राम्रो वासस्थान पनि मानिन्छ ।पछिल्लो समय पुष्प व्यवसायलाई निजी क्षेत्रले एक मुख्य व्यवसाय बनाएको छ । तर, नेपालका रैथाने फूलहरूको व्यावसायीकरण अझै हुन नसकेको श्रेष्ठ बताउँछन् ।

उनका अनुसार पुष्प व्यवसायमा ब्राजिली, मेक्सिकन फूलहरूको मुख्य हिस्सा देखिन्छ । ‘नेपालको सुनगाभाबाहेकका फूललाई व्यवसायीकरण गराउन सकिएको छैन,’ उनी भन्छन्, ‘गुराँसलगायत फूललाई व्यावसायिक रूप दिन अझै समय लाग्ने देखिन्छ ।’ सहरनजिकमै सुविधा उपलब्ध हुँदा पनि रैथाने वनस्पतिबारे गहन अध्ययन र अनुसन्धान अझै हुन नसकेको उनको ठम्याइ छ ।

यस्तै, राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला सन् १९६१ मा स्थापना भएको हो । हर्बेरियमको अर्थ वनस्पति संग्रहालय हो । यहाँ फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजार वनस्पतिका नमुना राखिएका छन् । तीमध्ये एक लाख ४५ हजार फूल फुल्ने प्रजातिका रहेको प्रयोगशालाका प्रवक्ता गंगादत्त भट्ट बताउँछन् । यस संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा ‘केएटिएच’ नामबाट पनि चिनिन्छ ।

प्रयोगशालामा वानस्पतिक अनुसन्धानको सुविधा उपलब्ध छ, जहाँ विभिन्न वनस्पति हुने स्थान र तिनको स्वभावबारे अभिलेख नै राखिएको छ । र, वनस्पति र बिरुवाको जीवन र इतिहासबारे अभिलेखमा उल्लेख छ । जस्तो– नेपालमा ३० प्रजातिका गुराँस पाइन्छन् । ती कहिले फुल्छन् भन्ने अभिलेख पाइन्छ, यहाँ । प्रयोगशालाभित्र फेनेरोग्याम्स, क्रिप्टोग्याम्स (फल्गी, फन्जाई र लाइकेन), क्रिप्टोग्याम्स (ब्रायोफाइटा र टेरिडोफाइटा), डिजिटाइजेसन, जाइलेरियम, प्लान्ट इकोलोजी, साइटोलोजी र प्लान्ट प्रोटेक्सन शाखा छन् ।

प्रयोगशालामै औषधिजन्य र रेसादार वनस्पतिका सात सयवटा नमुना रहेको संग्रहालय पनि छ । यस्तै, पुस्तकालयमा वनस्पतिसम्बन्धी तीन हजार दुई सय ३१ पुस्तक र दुई हजार एक सय १५ जर्नल छन् । प्रयोगशालाकै जस्तो अभ्यास बेलायतको राजधानी लन्डनस्थित संसारकै ठूलो वनस्पति संग्रहालय ‘रोयल बोटानिक गार्डेन’मा पनि छ, जहाँ संसारभरका वनस्पति संगृहीत छन् । ‘अन्तराष्ट्रिय गार्डेनको सूचीमा पर्न सफल भएको छ, यो क्षेत्र,’ वनस्पतिविद् श्रेष्ठ भन्छन्, ‘यसलाई राष्ट्रिय सम्पदाको अवधारणामा विकास गर्नु जरुरी छ ।’