मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडाैं
२०७६ पौष २८ सोमबार १०:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

थाइराइड हर्मोनको कमी हाइपोथाइराइडिजम

Read Time : > 1 मिनेट
काठमाडाैं
२०७६ पौष २८ सोमबार १०:४५:००
डा. नरेश पराजुली

सामान्यतया थाइराइडमा समस्या आउनुलाई थाइराइड भएको भनिन्छ । गाँठागुठी आउने, क्यान्सर हुने तथा थाइराइडको मात्रा बढी वा कम हुनेजस्ता समस्यासमेत देखिन्छन् । थाइराइड हर्मोनको कमीले अधिकांशमा यस्तो समस्या देखिन्छ, जसलाई हाइपोथाइराडिजम भनिन्छ ।

थाइराइड घाँटीको तल्लो भागमा हुने ग्रन्थि हो, जसले थाइराइड नामक हर्मोन उत्पादन गर्छ । उक्त ग्रन्थिमा विभिन्न कारणले हर्मोनको उत्पादन घटेर जाँदा समस्या हुने गर्छ । यो जुनसुकै उमेरकालाई पनि हुन सक्छ । विशेषगरी, हाइपोथाइराइडिजमबाट बालबालिका र महिला बढी प्रभावित हुन्छन् । 

कारण      

शरीरमा आयोडिनको कमी भएमा हाइपोथाइराइडिजम हुने गर्छ । तर, आजकल आयोडिनको कमीभन्दा पनि अन्य कारणले यो समस्या धेरै देखिन्छ । 

प्रतिरोधी क्षमतामा गडबडी हुनु पनि हाइपो थाइराइडिजमको मुख्य कारण हो । कतिपय समयमा शरीरमा प्रतिरोधी क्षमता आवश्यकभन्दा बढी भएमा त्यसले स्वास्थ्यमा हानि गर्छ । शरीरमा प्रतिरोधी क्षमता बढी भएमा हर्मोनविरुद्ध एन्टिबडी तत्व उत्पादन हुन्छ । उक्त तत्वले हर्मोनको मात्रालाई घटाउँछ । जसले गर्दा घाँटीमा समस्या देखा पर्छ । 

थाइराइडको कुनै शल्यक्रिया गरेको मानिसमा पनि हाइपोथाइराइडिजम हुने सम्भावना बढी रहन्छ । उपचारका क्रममा विकिरणको प्रयोग गरिएको छ भने त्यस्ता व्यक्ति यसबाट बढी प्रभावित हुन्छन् । 

लामो समयसम्म औषधि सेवन गरेमा हाइपोथाइराइडिजमको समस्या हुन्छ । साथै, ज्यादै थोरै प्रतिशतमा उमेर बढ्दै जाँदा पनि यो समस्या भएको पाइन्छ । 

लक्षण

थाइराइड हर्मोनले शरीरमा ऊर्जा ल्याउने काम गर्छ । यसको कमीले शरीरका प्रत्येक कोषिका प्रभावित हुने गर्छन् । हाइपोथाइराइडिजम भएमा बच्चामा जन्डिसको समस्या हुने, शारीरिक तथा माननिस वृद्धि विकासमा बाधा पुग्ने, यौन परिपक्वता समयमा नआउनेजस्ता लक्षण देखिन्छन् । 

वयस्कमा हातखुट्टा सुन्निने तथा घाँटीमा विभिन्न समस्या देखिने हुन्छ । महिलामा महिनावारी गडबडी हुने गर्छ । कतिपयमा बाँझोपनको समस्या हुन सक्छ । पुरुषमा कमजोर र छिटै थकान महसुस हुने, जिउ चिसो हुने, हातखुट्टा पोल्ने र दुख्नेजस्ता लक्षण देखिन्छन् । 

रोकथाम र उपचार
परिवारका कुनै सदस्यमा थाइराइडको समस्या भएमा अरूमा पनि हुने सम्भावना रहन्छ । त्यसैले समय–समयमा स्वास्थ्य परीक्षण गराइराख्नुपर्छ । 

गर्भवती, प्रतिरोधी क्षमतामा गडबडी भएका अर्थात् थाइराइड हुने सम्भावना भएका व्यक्तिले पनि वेला–वेलामा स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । 

हाइपोथाइराइडिजमको उपचार औषधिको प्रयोगबाट गर्न सकिन्छ । त्यस्तै, हर्मोन उत्पादनमा सहयोग गर्ने सप्लिमेन्टको प्रयोगबाट हर्मोन वृद्धि गर्न सकिन्छ । 

मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ
मनमोहन मेमोरियल अस्पताल