मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष झा
२०७६ पौष २८ सोमबार ०९:२३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

पूर्वाधार अभावबीच भ्रमण वर्ष

Read Time : > 5 मिनेट
मनीष झा
२०७६ पौष २८ सोमबार ०९:२३:००

देशमा पर्यटकको संख्या बढाउनुभन्दा पनि तिनले खर्च गर्ने पूर्वाधार सिर्जना गर्नु आवश्यक छ

नियमित दैनिकीबाट केही विश्राम लिएर क्रयशक्तिले धान्न सक्ने गरी मनोरञ्जन, धर्म, अध्यात्म वा अध्ययनको उद्देश्यले केही समयका लागि आफ्नो नियमित स्थानभन्दा टाढा जाने कार्यलाई पर्यटन भनिन्छ । वर्तमान अवस्थामा पर्यटन विश्व अर्थतन्त्रको एक मुख्य हिस्सा बनिसकेको छ । १३औँ शताब्दीताका धार्मिक प्रयोजनका लागि गरिने यात्राबाट सुरु भएको स्वतन्त्र पर्यटन १८औँ शताब्दीदेखि अर्थतन्त्रको पाटो बन्न थालेको पाइन्छ ।

सन् २०१७ सम्म विश्वको कुल गार्हस्थ उत्पादनको १०.४५ हिस्सा पर्यटनले योगदान गरेको छ भने विश्वमा ३१ करोड ३० लाख रोजगारी अर्थात् विश्वमा रहेको रोजगारीको ९.९५ रोजगारी पर्यटन क्षेत्रको रहेको छ । पर्यटन कम लगानीमा धेरै रोजगारी र अवसर सिर्जना गर्न सकिने क्षेत्र हो । हामी राजनीतिक परिवर्तन र स्थिरताको प्रयासपछि आर्थिक समृद्धिका लागि प्रयासरत छौँ र हाम्रो देशको भूगोल, इतिहास र संस्कारअनुसार हाम्रा लागि पर्यटन एक महत्वपूर्ण र दिगो समृद्धिको सम्भावना बोकेको क्षेत्र बन्न सक्छ ।    

किन चाहियो भ्रमण वर्ष– २०२० : बुद्धले भनेका छन्, परिवर्तन त्यो वेला मात्र परिवर्तन मानिन्छ, जब लक्षित वर्गले त्यसको अनुभूति गर्छ । विश्व परिवर्तनशील छ, यहाँ सबै परिवर्तनकै लागि दौडमा सहभागी छन् । तर, त्यो परिवर्तन तब मात्र सार्थक हुनेछ, जब त्यसको अनुभूति हुनेछ । तर, परिवर्तनको अनुभूति सधैँ लक्षित वर्ग वा साझेदारले आफैँ नगर्न पनि सक्छन्, परिवर्तनबारे जानकारी गराउनुपर्छ ।

कुनै पनि देशमा केही विशेष परिवर्तन भएको छ र त्यो परिवर्तन विश्व समुदायलाई सूचित गराउनलायक छ भने सम्बन्धित देशले विश्व जगत्लाई त्यो जानकारी गराउन खोज्छ । दक्षिण अफ्रिकाले राजनीतिक परिवर्तनपश्चात विश्वकप फुटबल, क्रिकेट र रग्बी आयोजना गरेर त्यो प्रयास गर्‍यो । कतारले सन् २०२२ मा फुटबल विश्वकप आयोजना गरी त्यो प्रयास गर्दै छ । रुसले आफू भिन्न राजनीतिक सिद्धान्त भए पनि विश्वका लागि खुला रहेको सन्देश विश्वकपमार्फत दिन खोज्यो । दुबईले आफ्नो कानुन फरक भए पनि बजार खुला रहेको सन्देश दिन विभिन्न कार्यक्रम गर्ने गर्छ । चीनले ओलम्पिक र विश्वकप फुटबलद्वारा आफ्नो शक्ति र समृद्धिको उद्घोष गर्‍यो । देशले सकेको गर्छ, तर त्यो प्रयासको प्रभाव दिगो हुनुपर्छ ।

नेपालको हकमा भ्रमण वर्ष २०२० उपयुक्त समयमा हुँदै छ । राजनीतिक स्थिरता भए पनि स्थिरता अभ्यासमा अझै नआइसकेको र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले तयारीमा व्यवधान र अपूर्णता भए पनि यो प्रयास, समय र दृष्टिकोण भने पक्कै पनि उपयुक्त छ । मुलुकबारे विगतमा केही नकारात्मक सन्देश गएको छ । जनयुद्ध, दरबार हत्याकाण्ड, विमान अपहरण, भूकम्पजस्ता कैयौँ घटनाका कारण गएको गलत सन्देशको असर केही हदसम्म अझै कायम छ । परिवर्तन पर्याप्त छैन, तर केही नभएको पनि होइन । तसर्थ, ती पुराना छाप हटाउन र नयाँ बसाल्न पनि भ्रमण वर्षको घोषणा उपयुक्त कदम हो ।             

पर्यटन, हाम्रो बुझाइ र यथार्थ : हामीलाई बाटामा कतै रमणीय झरना देख्दा यो त पर्यटकीय स्थल हो झैँ लाग्छ भने कतै राम्रो मन्दिर देख्दा त्यसलाई पनि सम्भाव्य पर्यटकीय गन्तव्य ठान्छौँ हामी । हामी निकै चाँडै भावुक हुन्छौँ । तर, बजारीकरणको रणनीतिमा भनिन्छ, ‘तपाईं भावना बेच्नुस् तर आफैँ भावुक नहुनुस् ।’ तर, हामी भने आफूले बेच्न सक्ने कथा र गाथामा पनि आफैँ भावुक भइदिन्छौँ ।

जस्तै– भारतले बुद्ध भारतमा जन्मेका हुन् भनेर हामी नेपालीले जत्तिकै हल्ला गर्दै हिँडेको पाइन्न । तर, उसले बुद्ध भारतमै जन्मेका हुन् भन्ने जताउन आवश्यक सबै पूर्वाधार बनाइसक्यो । हुन सक्छ, यही क्रम रह्यो भने आउने पुस्ताले त्यो प्रश्न नै सोध्नेछैन, किनकि उसको प्रश्नको जवाफ निर्माणले दिनेछ ।    हामीले लुम्बिनी त पायौँ, तर यसलाई अझै पूर्ण पर्यटकीय गन्तव्य बनाउन सकेका छैनौँ । हामीले जनकपुर त पायौँ, तर कथा बेच्न जानेनौँ । र, त्यो नजान्दा हामीले गुमाउने भनेको सम्भावना हो । सन् २०१३ मा जब नोकिया माइक्रोसफ्टले लिँदै गर्दा नोकियाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत स्टेफेन एलोपले भावुक भएर भने– हामीले केही गलत गरेनौँ, तर अरू सबैले सधैँ सही गरिदिए र हामी हार्‍याैं । 

भर्खरै सञ्चार माध्यममा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘पर्यटकीय स्थलहरू पत्ता लगाउँदै छौँ’ भनेको सुनियो । हो, हामी यहीँ चुक्दै छौँ । हामीले पत्ता लगाउने स्थलहरू पर्यटकीय हैनन् । ती स्थल कि त प्राकृतिक हुन्, कि धार्मिक, कि त ऐतिहासिक हुन्, या पुरातात्विक । र, तिनलाई हामीले पर्यटकीय स्थल बनाउने हो । जस्तै– इन्डोनेसियाको बालीमा समुद्र, टापु बनाएको हैन, तर भएको टापुमा उल्लिखित सबै आधार सिर्जना गरेपश्चात पर्यटकीय क्षेत्र बनेको हो । थाइल्यान्डको पटाया र फुकेटमा समुद्रमा पर्यटनको आधार बनाइएको हो । कुनै पनि स्थल पर्यटकीय बन्नका लागि पर्यटक पुग्ने, पुगेर बस्ने, खाने, खर्च गर्ने, विश्राम गर्ने, अध्ययन गर्ने, सूचना लिने, सुरक्षा पाउने यी सबै आधार हुनुपर्छ । 

हामीस“ग अध्यात्म, प्रकृति, इतिहास, धर्म, संस्कृतिलगायत पर्यटकसामु पस्किन सकिने धेरै सम्भावना छन्, तर हामीले सिक्नुपर्ने नै त्यसलाई पस्किने र बेच्ने कला हो, जुन हामी सिक्दै छौँ, पारंगत भइसकेका छैनौँ । पारंगत नहुँदा हामीले धेरै सम्भावना गुमाउँदै छौँ, आफूसँग भएको थैली च्याप्ने लोभमा ठूलो ढुकुटी गुमाउँदै छौँ । के हामी तयार छौँ : केही दिनपहिले एक ब्रिटिस महिलाले ट्विटरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालय प्रयोग गर्दाको तितो अनुभव लेखिन्, चर्चाको विषय बन्यो । हुन त त्यो ट्विटर ह्यान्डल भर्खरै मात्र खोलिएको र सीमित सम्पर्क देखिएकाले वैधानिक मान्ने कि नमान्ने एउटा विषय हो, तर सांकेतिक रूपमा हेर्ने हो भने त त्यो हामीले सोचेको पर्यटनका लागि निकै महत्वपूर्ण पाटो हो । 

हाम्रो पहिलो चुनौती के हो भने हामीले आफूले संस्कृति र इतिहासको मूल्य बुझ्न सकेका छैनौँ । यदि सीता भारत, इन्डोनेसिया वा थाइल्यान्डमा जन्मेको भए त्यहा“का लागि यो कथा अर्बौं डलर कमाउने उद्योग भइसकेको हुने थियो । तर, हामीले भने जनकपुरमा रहेको राम र सीताको बिहेको यज्ञ भएको स्थानसमेत घेरेर राख्न सकेका छैनौँ । मलाई मेरा प्रशिक्षक रन्जित आचार्यले भनेको कुरा याद आउँछ– हामीले लुम्बिनीमा धान रोप्ने र उब्जेको बालीबाट चामल बनाएर यो बुद्ध जन्मभूमिको चामल हो भनेर बेच्ने हो भने त्यो हाम्रा लागि सुन हुनेछ । सप्तरीको लहजरा तालमा गुरु नानक आएको ठानिनेबारे स्थानीय नै अनभिज्ञ छन् ।  पर्साको नाम कसरी पर्सा रहन गयो र पारसनाथ मन्दिर कहाँ छ भन्ने तथ्य वीरगन्जमै कैयौँलाई थाहा छैन । हामी आफैँमा यो जानकारी र महत्वको ज्ञान हुन आवश्यक छ । जब प्रदेश र देश सूचित हुँदैन, विदेशीलाई लक्षित गरेर मात्र हुँदैन ।  

अवसर छिमेकको बजार : विश्व जनसंख्याको २४ प्रतिशत जनसंख्या दक्षिण एसियामा बस्छ र एसियाको ३९.९ प्रतिशत जनसंख्या दक्षिण एसियामा छ । हामीले चीनको हालको जनसंख्या १ अर्ब ४३ करोड, जुन विश्व जनसंख्याको १८.४७ प्रतिशत हो, त्यो पनि जोड्ने हो भने नेपालको छिमेकमा मात्र विश्वको ४२.४७ प्रतिशत जनसंख्या छ । ‘बिजनेस इनसाइडर’को तथ्यांकअनुसार सन् २०१८ मा भारतीय नागरिकले आन्तरिक र बाह्य पर्यटनमा ९ सय ६० करोड अमेरिकी डलर पर्यटकका रूपमा खर्च गरे । थाइल्यान्ड पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्ष मात्र २० लाख भारतीयले थाइल्यान्ड भ्रमण गर्ने अपेक्षा गरिएको छ । यस्तै चीन पर्यटन एकेडेमीको रिपोर्टअनुसार सन् २०१८ मा चिनिया“ले १ सय ४९ देशको भ्रमण गर्दा १ सय ३० अर्ब अमेरिकी डलर खर्च गरेका थिए, जुन सन् २०१७ को तुलनामा १४.७ प्रतिशतले बढी हो ।    

हामीसँग अध्यात्म, प्रकृति, इतिहास, धर्म, संस्कृतिलगायत पर्यटकसामु पस्किन सकिने धेरै सम्भावना छन्, तर हामीले सिक्नुपर्ने नै त्यसलाई पस्किने र बेच्ने कला हो, जुन हामी सिक्दै छौँ, पारंगत भइसकेका छैनौँ
 

चुनौती के : विश्वमा अहिलेसम्म सबैभन्दा धेरै मृत्‍यु युद्धले गर्दा भएको छ भने दोस्रो मृत्‍युको संख्या पर्यटनले गर्दा भएको हो भनिन्छ । हज, कुम्भ, गुम्बाको यात्रा, हिमालमा हिमपहिरो, लेक लागेर हुने मृत्‍यु, जंगल सफारीमा हुने दुर्घटना केही उदाहरण हुन् । हाम्रो देश कम जोखिमपूर्ण छ र सुरक्षित छ भन्ने सन्देश महत्वपूर्ण छ । हुन त देश दशक लामो युद्धमा हुँदा र १७ हजार बढीले ज्यान गुमाउँदाधरि एकजना पनि पर्यटक नमारिनु हाम्रो आतिथ्यको एक सबल सन्देश हो । तथापि ‘फेक रेस्क्यु’ र अतिरिक्त चन्दालगायतले त्यो साख गुमाउने जोखिम छ ।      

विश्वमा पर्यटन संस्कार त्यो वेलादेखि फस्टाएको देखिन्छ, जहिलेदेखि यातायातको सुविधा सहज भयो । पानीजहाजबाट सुरु भएको पर्यटन अहिले रेलसम्म पुग्ने क्रमसँगसँगै पर्यटन पनि फस्टाएको पाइन्छ । यदि हामीले पर्यटन नै हाम्रो समृद्ध अर्थतन्त्रको आधार हो भनेर सोचिरहेका छौँ भने हामीले देशभित्र पर्यटक भित्रिने मुहान ठूलो र सरल बनाउनुपर्छ । पर्यटक आउने मार्ग सहज बनाएर आइसकेपछि धेरै खर्च हुने आधार निर्माण गर्नुपर्छ ।

सिंगापुर, थाइल्यान्ड, जर्मनी, फ्रान्सलगायत देशको पर्यटनको रणनीति हेर्ने हो भने त्यस्तै देखिन्छ । यात्रा सस्तो, होटेल सस्तो र खाना सस्तो गरेर अरू धेरै मनोरञ्जन र सामग्री बिक्रीबाट आम्दानी गर्ने रणनीति लिएको पाइन्छ, त्यहाँ । हवाई यात्रा, खाना र वास महँगो बनाउँदा पर्यटक आउने आधार नै कमजोर हुन्छ । पर्यटक आकर्षित गर्न सरल प्रक्रिया, सहज यात्रा र सुपथ मूल्य हुनुपर्छ र अन्य ‘भ्यालु एडिसन’का क्रियाकलाप जस्तै– संग्रहालय, सांस्कृतिक झलक देखाउने कार्यक्रम, महँगो मूल्यका उपहार र जीवनकालका लागि हुने अनुभूति पस्किन सकिन्छ । हाम्रो पर्यटन अहिलेसम्म त्यो दौरमा प्रवेश गरेको पाइन्न ।    

 योजनाका चार प्रमुख पाटा हुन्छन्, कार्यनीति, रणनीति, दर्शन र परिकल्पना । यदि हामीले कार्यनीतिमा आवश्यक काम नगरी रणनीति, दर्शन वा परिकल्पनामा लाग्यौँ भने सबै असफल हुने जोखिम हुन्छ । हाल हामी त्यही जोखिममा छौँ, तसर्थ भ्रमण वर्षको योजनाझैँ अपेक्षा पनि व्यावहारिक हुनुपर्छ । यो वर्ष पर्यटन आधार वर्षका रूपमा काम गरी पर्यटकको संख्या वृद्धिभन्दा पनि हाम्रो समाजमा पर्यटन व्यवसाय र पर्यटकका लागि आवश्यक संस्कार, रोजगारी र आर्थिक लाभका लागि आधार बनाउनुका साथसाथै आफ्नो भूमिको महत्व बुझाउन मिहिनेत गर्न आवश्यक छ । जस्तै– गढिमाइको मेला, विवाह पञ्चमी, रामनवमी, होली पर्व, छिन्नमस्ता मन्दिरको दर्शनलगायत कैयौँ उत्सव र स्थानको चर्चा गर्ने हो भने प्रदेश २ मा १० लाख बाह्य पर्यटक आउने गरेका छन् । तर, त्यो संख्याको कारण प्रदेशको अर्थतन्त्रमा भने उल्लेख्य सकारात्मक प्रभाव परेको छैन । आउने पर्यटकको संख्या बढाउनुभन्दा पनि तिनले खर्च गर्ने पूर्वाधार सिर्जना गर्नु आवश्यक छ । अन्त्यमा, नेपाल भ्रमण वर्ष २०२० सरकारले घोषणा गरेको राष्ट्रिय अभियान हो र अभियानको प्रमुख पहिलो र साझेदार नागरिक नै हुन् । यो सफल भए जस त सरकारले पाउला, तर यसको प्रभाव सामान्य जीवनमा हुनेछ ।       
(लेखक भ्रमण वर्ष २०२० को प्रदेश २ संयोजक हुन्)