मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं
२०७६ पौष २८ सोमबार ०८:३५:००
Read Time : > 1 मिनेट
खेलकुद

एपिएफले जित्यो भलिबल उपाधि

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ पौष २८ सोमबार ०८:३५:००

एपिएफ क्लबले आइतबार तेस्रो न्यु डायमन्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारमा सम्पन्न फाइनल प्रतियोगितामा एपिएफले चिरपरिचित प्रतिद्वन्द्वी न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । दोस्रोपटक च्याम्पियन हुन एपिएफले न्यु डायमन्डमाथि २५–२०, २५–२३ र २५–१८ को सहज जित निकाल्यो । उपाधि भिडन्तमा एपिएफकी सरस्वती चौधरी र न्यु डायमन्डकी प्रतिभा मालीले समान २६ अंकको योगदान दिएका थिए । 

प्रतियोगितामा एपिएफकी सरस्वतीले दुई उपाधि जितेकी छिन् । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र सर्भर भइन् । उत्कृष्ट खेलाडी हुँदै प्रतिभाले २१ हजार रुपैयाँ प्राप्त गरिन् । यसैगरी, विधागततर्फ बेस्ट स्पाइकरको उपाधि न्यु डायमन्डकी प्रतिभाले जितिन् । न्यु डायमन्डकै अरुणा शाही उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । पुलिसकी कोपिला रानाले उत्कृष्ट क्विकरको उपाधि जितिन् । एपिएफकी हीरा केसी उत्कृष्ट ब्लकर चुनिँदा एपिएफकै महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक भए । 

उत्कृष्ट खेलाडीले जनही सात हजार रुपैयाँ हात पारे । होंगन्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको उपाधि विजेता एपिएफले चार लाख र उपविजेता न्यु डायमन्डले तीन लाख रुपैयाँ हात पारेका छन् । त्रिभुवन आर्मीलाई हराउँदै तेस्रो भएको नेपाल पुलिसले एक लाख ५१ हजार रुपैयाँ जित्यो । चौथो भएको आर्मीले ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । एपिएफका प्रशिक्षक महेशबहादुरले न्यु डायमन्डविरुद्ध ब्लक रणनीतिका कारण जित सम्भव भएको बताए ।

‘हामीले न्यु डायमन्डसँग ब्लकले जितेका हौँ,’ उनले भने, ‘पहिलो र दोस्रो सेटमा रणनीति त्यति सफल भएन, डिफेन्स र रिसिभमा पनि समस्या भयो ।’ तेस्रो चरणमा राम्रो ब्लक रणनीति भएकाले न्यु डायमन्ड पछि परेको उनको भनाइ छ । न्यु डायमन्डका कुमार राईले डिफेन्स र ब्लकमा कमजोर हुँदा नै उपविजेतामा सीमित भएको बताए । ‘हामीले विपक्षीको प्लेसिङ बलमा निकै अंक गुमायौँ,’ राईले भने, ‘तीनै सेटमा अग्रता लिए पनि त्यसलाई निरन्तरता प्रदान गर्न सकेनौँ ।’