१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २८ सोमबार ०७:४५:००
Read Time : < 1 मिनेट
अर्थ

मनाङमा हिउँ खेल्ने पर्यटकको घुइँचो

Read Time : < 1 मिनेट
२०७६ पौष २८ सोमबार ०७:४५:००

बाक्लो हिमपात भएसँगै मनाङमा हिउँ खेल्न आउने पर्यटकको संख्या बढेको छ । एक हप्तादेखि निरन्तर हिमपात भएको मनाङमा हिउँ खेल्न छिमेकी जिल्ला लमजुङसहित विभिन्न जिल्लाका आन्तरिक र बाह्य पर्यटक पुगेका छन् । 

लमजुङ सदरमुकाम बेँसीसहरबाट ४ घन्टाको सवारी यात्रासँगै दुई घन्टाको पैदल यात्रामा तिमाङ आएको लमजुङ सुन्दरबजारका प्रतीक गिरीले बताए । ‘हिउँ खेल्नकै लागि मनाङ आएको हुँ,’ उनले भने, ‘जीवनमै पहिलोपटक हिउँमा खेल्दा आनन्द महसुस भयो ।’

उनी मात्र होइन लमजुङको खुदीकी रश्मी तामाङ पनि हिउँ खेल्नकै लागि बिहीबार मनाङ गएको बताउँछिन् । उनीसँगै १२ जनाको समूह लमजुङबाट तिमाङ पुगेका हुन् । ११ वर्षपछि मनाङ जिल्लामा ठूलो हिमपात परेको स्थानीय अस्मिता गुरुङ बताउँछिन् । 

हिमपातका कारण सर्वसाधारण र पशुचौपायालाई भने सास्ती भएको छ । बेँसीसहरदेखि तल्लो मनाङको दानाक्युसम्म सवारीसाधन सञ्‍चालनमा आए पनि मनाङ सदरमुकाम चामे र माथिल्लो मनाङमा सवारी सञ्चालनमा आउन सकेको छैन ।

सडकको हिउँ पन्छाए पनि पुनः हिमपात भएर हिउँ पन्छाउन गाह्रो भएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र चामेका ओम गुरुङका अनुसार हिमपातपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ अहिलेसम्म कुनै अप्रिय घटना भने भएकोे छैन ।