१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सागर चन्द काठमाडौं
२०७६ पौष २७ आइतबार २१:२०:००
Read Time : > 2 मिनेट
साहित्य

आँशुकवि भीम रावल !

Read Time : > 2 मिनेट
सागर चन्द काठमाडौं
२०७६ पौष २७ आइतबार २१:२०:००

नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य भीम रावल चर्चामा आइरहने नेता हुन् । आफ्नै पार्टी र पार्टी नेतृत्वको सरकारको आलोचना गरिरहने रावल कविता लेख्न पनि माहिर मानिन्छन् । रावलका कविताले पार्टीभित्र र बाहिर राम्रै प्रभाव छोड्ने गरेको छ ।

‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको सम्झनामा रावलले आज एक कविता लेखे । ‘नेपाली झण्डा नेपाली गौरव झुकेन कहिले श्रद्धा तिम्लाई दिँदैछु उच्च म यहाँ अहिले ।’ रावलले कवितामार्फत पृथ्वीनारायणको महिमा प्रस्तुत गरे ।

रावलको कविकर्मले ३ पुसमा भने पार्टीभित्र एकखाले हलचल नै ल्याइदिएको थियो । उक्त स्थायी समिति बैठकमा रावलले बालुवाटार र धुम्बाराहीलाई व्यंग्य गर्दै कविता लेखेका थिए । नेकपा र राजपा (राष्ट्रिय जनता पार्टी)सँगको तालमेलको विरोधमा लेखेको उक्त कविताको शीर्षक थियो ‘धुवाँले छोपिँदै दीयो’ । उनले बैठक हुँदै गर्दा कविता रचेका थिए ।

रावलले ‘बालुवाटारमै धुवाँको मुस्लो उठ्यो’ भन्दै प्रधानमन्त्रीप्रति व्यंग्य गरेपछि पछिल्लो दिन प्रधानमन्त्रीले पार्टीभित्र नयाँ कवि जन्मिएको भन्दै टिप्पणीसमेत गरे । आफूलाई नयाँ कवि भनेको रावलले सहन गरेनन् र सामाजिक सञ्जालमार्फत आफू पुरानै कवि भएको प्रमाण पेस गरे ।

आफूले २०५६ सालमै कविता रचना गरेको मात्रै होइन कविता संग्रह नै प्रकाशित गरेको प्रमाण देखाए । २०५६ सालमा छलफल साप्ताहिकमा प्रकाशित आफ्नो शीर्ष कविता ‘लिम्पयाधुरा’ शीर्षकको कविता र कविता संग्रह (लिम्पयाधुरा)को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

लिम्पयाधुरा भन्दा छुटाउनै नहुने रावलको अर्को कविता पनि छ । कालापानी र लिम्पयाधुरालाई आफ्नो नक्सामा पार्दै भारतले नक्सा सार्वजनिक गरेपछि पनि रावलले कविता सुनाए ।

‘मेचीको ध्वनि घन्कियो छालमा काली पो सुन्यौ कि
देशको माटो स्वाधीन बाटो युवा हो बुझ्यौ कि’

रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा रावलले यो कविता सुनाएका थिए । कवितासँगै भाषण गरेका रावलले पार्टीका शीर्ष नेतृत्वप्रति पनि कडा टिप्पणी गरेका थिए ।

रावलका कविता राष्ट्रवाद र देशप्रेममा केन्द्रित हुन्छन् । रावललाई आँशुकवि नै भन्दा पनि हुन्छ । प्रायः कार्यक्रममा कविता सुनाउने रावल मञ्चमा बस्दाबस्दै कविता लेख्छन् । यसरी मञ्चमा बस्दाबस्दै रावलले धेरै कविता लेखेका छन् ।

१७ पुस २०७५ मा राष्ट्रिय पोसाकसम्बन्धी पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सहभागी रावलले मञ्चमा बस्दाबस्दै पोसाकको महत्व देखाउँदै ‘स्वदेशी मन र राष्ट्रिय धुन’ शीर्षकको कविता लेखे । उनको यो कविता सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो ।

‘टोपी योमाथि हिमालजस्तो उचाइ झल्काउने
हेर न दौरा सुरुवाल कस्तो मन नै लोभ्याउने’ 

२३औँ मदन आश्रित स्मृति दिवस राष्ट्रिय नाचघर जमलमा पनि रावलले मञ्चमा बस्दाबस्दै कविता लेखे । मञ्चमै बसेर ‘मदनको झण्डा उठाऔँ’ शीर्षकमा कविता लेखेर रावलले कार्यक्रममा उपस्थित सबैलाई अचम्भित तुल्याए ।

‘मदन आश्रित अमर छन् सधैँ जनताको मनमनमा
स्वाधीनता गौरव उचाइ छ सबै जनजनमा’

राजनीतिक कार्यक्रम र बैठकमा त कविता लेख्ने रावलभित्रको कवि जाग्छ भने कविकै स्मृतिसभामा नजाग्ने भन्ने त कुरै भएन । यस्तै भयो, २०६औँ भानुजयन्ती (२९ असार २०७६)मा पनि । रावलले भानुभक्तलाई समर्पण गर्दै ‘खोलेर आँखा राम्ररी हेरौँ’ शीर्षकको कविता लेखे ।

‘हामीले आज गरेनौँ भने कसले देश सपार्ला
जनता र देश संकटमा परे इतिहास धिक्कार्ला !’

कविता मात्रै होइन रावल बेला बेला देउडा पनि सुनाउँछन् । राजधानीमा आयोजना हुने सुदूरपश्चिमेलीका कार्यक्रममा पुगेपछि रावल देउडा सुनाउँछन् । ७ असोज २०७४ मा सुदूरपश्चिम समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा रावलले देउडा सुनाएका थिए । टुँडिखेलमा हरेक वर्ष मनाइने गौरा पर्वमा रावल देउडा सुनाएर आफ्नो भाषण सुरु गर्छन् ।

‘दसैँ आउँदो, त्याहार आउँदो, खुशी हुँदा हामी ! निकाई भया, रामडाई भया, सबै सुदूरबासी ।’

नेकपाभित्र कवि नेता जस्तै ठानिएका रावल आफ्ना असन्तुष्टि, आक्रोश र देशप्रेम मात्रै होइन शुभकामना पनि कविताबाटै व्यक्त गर्छन् । दुई वर्ष अगाडिको दसैँमा रावलले सुनाएको कविता–

‘बालेर मनको दियो, छर्दै उज्यालो यहाँ,
उठाउँदै देशको शिर सगरमाथासरि यहाँ
भावना मिलाई सबै एकचित्तले अघिसरि
प्रेम र श्रद्धा सबमा राखेर हृदयभरि
खोलेर मनको ढोका पूर्ण होऊन् चाहना
समृद्धि र सुखका लागि हार्दिक शुभकामना ।’