Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २७ आइतबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार

सडकमा हिउँ जमेपछि मनाङमा एक सातादेखि ढुवानी ठप्प

Read Time : < 1 मिनेट
२०७६ पौष २७ आइतबार १३:००:००

मनाङमा एक सातासम्म निरन्तर परेको हिउँ पन्छाउन नसक्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । सडकमा हिउँ जमेपछि निर्माण समाग्रीलगायतको ढुवानी रोकेको छैन । 

तल्लो मनाङको नासों गाउँपालिका–९, दानक्युदेखि माथिल्लो क्षेत्रको सडक तथा पदमार्गभरी हिउँ जमेपछि पैदल यात्रामा समेत कठिनाइ भएको स्थानीय छिरिङ गुरुङले बताए । सवारीसाधन गुड्न नसकेपछि ढुवानी हुन सकेको छैन ।

मनाङमा १७ पुसदेखि सवारी आवागमन ठप्प भएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । ‘दानाक्युदेखि माथिल्लो क्षेत्रको सडक तथा पदमार्गमा हिउँ जमेको छ सवारी आवतजावत ठप्प भएको छ,’ प्रजिअ पौडेलले भने, ‘हिमपातपछि मनाङको जनजीवन सहज छैन ।’

शुक्रबारबाट हिउँ रोकिए पनि शनिबारदेखि सडकको हिउँ पन्छाउन सुरु गरिएको उनले जानकारी दिए । मनाङको माथिल्लो मनाङ क्षेत्रमा गत २७ मंसिरदेखि केही दिनसम्म हिमपात भएकोमा चामेदेखि सवारीसाधन चल्न सकेका छैनन् । करीब ४ सातादेखि माथिल्लो क्षेत्रमा ढुवानी ठप्प छ । 

मनाङस्थित सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका डीएसपी रमेश भुवाजीका अनुसार चामेदेखि तिमाङसम्मका सडक पूरै हिउँले ढाकेको छ । सडकमा हिँड्न सक्ने अवस्था छैन । सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था पनि छैन । गाडी नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ । 

‘हिउँदका लागि खाद्यान्न ल्याएर नराखेको भए भोकै बस्नुपर्ने स्थिति आउने थियो,’ चामेकी मेलीना गुरुङले भनिन्, ‘बजारमा भने खाद्यान्न पाउन छाडेको छ । हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन ।’