२०७६ पौष २७ आइतबार ११:४०:००
काठमाडौं

एकै सातामा ४६.९० अंकको वृद्धि

काठमाडौं
२०७६ पौष २७ आइतबार ११:४०:००

तरलता सहजले बजार अझै बढ्ने लगानीकर्ताको अनुमान

सातामा नेप्से परिसूचक ४६ दशमलव ९० अंक बढेको छ । बजार लामो समयदेखि न्यून बिन्दुमा रहेको र बैंकको ब्याजदर पनि घट्दै गएकाले बजार बढेको ब्रोकर बताउँछन् । बजार १ हजार १ सय २ को न्यून बिन्दुमा आएपछि लगानी बढ्दै गएको हो । कारोबार रकमले पनि साथ दिएको छ । यतिवेला बैंकहरूमा तरलता सहज भएकाले बैंकले सजिलै ऋण दिन थालेका छन् । यसको प्रभाव पनि नेप्सेमा परेको हो । बजारलाई नजिकबाट नियालेका केही लगानीकर्ता न्यून बिन्दुमा आएपछि आक्रमक रूपमा लगानी गर्न आएको ब्रोकरले जानकारी दिएका छन् । 

नेप्सेमा सूचीकृत कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनामा वार्षिक साधारणसभा गनुपर्ने व्यावस्था छ । व्यवस्थाअनुसार अधिकांश कम्पनीले लाभांश घोषणा गर्दै पारित गरिहेका छन् । कम्पनीको पँुजी वृद्धिले लाभांश थोरै दिने अनुमान लगानीकर्ताले गरेका थिए । तर, कम्पनीले लाभांश गत वर्षको तुलनामा नघटाइ दिएपछि बजार बढ्न थप सहयोग पुगेको हो । गत साताको बिहीबार १ हजार १ सय ६६ दशमलव २१ बिन्दुमा बन्द भएको बजार यस साताको बिहीबार १ हजार २ सय १३ दशमलव ११ बिन्दुमा बन्द भएको छ । सातामा भएको पाँचदिनको कारोबारमा चार दिन परिसूचक बढेको थियो भने एकदिन बुधबार ७ दशमलव ३२ अंक घटेको हो ।

आइतबार १६ दशमलव शून्य ९, सोमबार १८ दशमलव २६, मंगलबार १६ दशमलव २३ र बिहीबार ३ दशमलव ५१ अंक बढेपछि नेप्से परिसूचक १ हजार २ सय १३ दशमलव ११ बिन्दुमा पुगेको हो । परिसूचकसँगै कारोबार रकम पनि ७६ दशमलव ६४ प्रतिशत बढेको छ । गत साता २ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो भने यस सता ४ अर्ब २२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । विगतका वर्षमा पुस मसान्त लाग्दा बजार घट्ने गरेको पाइन्थ्यो, तर यस वर्ष भने बढेको छ ।

अधिकांश लगानीकर्ताले बैंकबाट सेयर धितो राखी कर्जा लिएका हुन्छन् । बैंकलाई कर्जाको किस्ता तथा ब्याज ३–३ महिनामा बुझाउनुपर्ने हुन्छ । असोजमा पहिलो किस्ता बुझाएका लगानीकर्ताले पुसमा दोस्रो किस्ता र ब्याज तिनुपर्ने भएकाले बजार यस समयमा घट्ने गरेको थियो । गत आवको मुनाफाबाट धेरै कम्पनीले नगद लाभांश पारित गरी सेयरधनीको बैंक खातामा रकम जम्मा गरेकाले थोरै किस्ता तिर्न सहज भएको लगानीकर्ताले बताउँदै आएका छन् । 

पिभट विश्लेषण
तेस्रो प्रतिरोध               १२९६.९९
दोस्रो प्रतिरोध              १२६०.३३
पहिलो प्रतिरोध            १२३६.७२
पिभट बिन्दु                 १२००.०६
पहिलो टेवा                 ११७६.४५
दोस्रो टेवा                   ११३९.७९
तेस्रो टेवा                    १११६.१८

     

गत साताको उच्च, न्यून, बन्द बिन्दुको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार २ सय दशमलव शून्य ६ रहेको छ । साताको पिभट बिन्दुभन्दा बिहीबार बन्द भएको बिन्दु माथि रहेको छ । यसले आगामी दिनमा बजार बढ्ने संकेत गरेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय ७६ दशमलव ४५ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय ३९ दशमलव ७९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय ३६ दशमलव ७२ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ६० दशमलव ३३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

बिमा, लघुवित्त र बैंकिङका सेयरमा आकर्षण, माछापुच्रछ्रेको सर्वाधिक कारोबार
सातामा लगानीकर्ता बिमा, लघुवित्त, बैंकिङ क्षेत्रका सेयरमा आकर्षित भएका छन् । १२ समूहको उपसमूहको परिसूचकमा होटेल, व्यापार र उत्पादनमूलक समूहको परिसूचक बढेको छ भने बाँकी समूहका सेयरमा लगानी बढेको छ । लघुवित्त समूहको परिसूचक गत साताको तुलनामा यस सातामा १ सय ८६ दशमलव ९३, निर्जीवन बिमाको १ सय ८० दशमलव ११, जीवन बिमाको १ सय ४ दशमलव ८६ र बैंकिङको ४९ अंक बढेको छ ।     

सातामा माछापुच्रछ्रे बैंकको कारोबार अग्रस्थानमा परेको छ । बैंकको २६ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएर अग्रस्थानमा परेको हो । दोस्रोमा एनआइसी एसिया बैंकको २५ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेयर कित्ताको आधारमा सातामा सिभिल बैंकको संस्थापक सेयर अग्रस्थानमा छ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सहकारीको निक्षेपकर्ता सेसार तिर्नका लागि संस्थापक बिक्री गरेका हुन् । बैंकको २० लाख १८ हजारभन्दा बढी सेयर कित्ता खरिद–बिक्री भएको छ ।   

सातामा सेन्सेटिभ इन्डेक्स १२ दशमलव शून्य ८ अंक बढेर २ सय ६४ दशमलव २६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स ३ दशमलव ७५ अंक बढेर ९० दशमलव १६ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ४२ अंक बढेर ८६ दशमलव १ बिन्दुमा पुगेको छ । सो साता १ सय ८८ कम्पनीको ५२ हजार १ सय ६९ पटकको कारोबारमा १ करोड ४६ लाख ८२ लाख ३ सय ९७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

नेको इन्स्योरेन्स र वोमी लघुवित्तद्वारा लाभांश घोषणा
सोमबार नेको इन्स्योरेन्स र वोमी लघुवित्तले लाभांश घोषणा गरेका छन् । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले करसहित ८ दशमलव ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले बिमा समिति र आगामी साधारणसभाले पारित गरेपछि वितरण गर्ने निर्णय गरेको सूचना दिएको छ । साथै, वोमी लघुवित्तले कुल २६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले २० प्रतिशत बोनस सेयर र करका लागि ६ प्रतिशत नगद दिन लागेको हो । सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

सेयरधनीको बैंक खातामा २७ करोडभन्दा बढी नगद जम्मा
तीन कम्पनीले साधारणसभाबाट पारित गरे २७ करोड ८६ लाख ८१ हजार ८ सय १० रुपैयाँ नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेका छन् । कामना सेवा विकास बैंकले ६ दशमलव ८ प्रतिशत, स्वावलम्बन लघुवित्तले १४ प्रतिशत र नेसनल माइक्रोफाइनान्सले ५ प्रतिशत र इन्फिनिटी लघुवित्तले ५ प्रतिशत नगद वितरण गरेको हो । यी कम्पनीले आ–आफ्नो साधारणसभाबाट पारित गरेको नगद हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीको हकमा मात्र जम्मा गरेका हुन् । हालसम्म भौतिक रूपमा नै सेयर प्रमाणपत्र भएका र सेयर अभौतिकीकरण नगराएका सेयरधनीले सेयर अभौतिकीकरण गराइ हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्ने यी कम्पनीले जानकारी गराएका छन् । 

एभरेष्ट बैंकले १ अर्बको ऋणपत्र जारी गर्ने
एभरेष्ट बैंक लिमिटेडले १ अर्बबराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा सातवर्षे (२०८३ सालसम्म) ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारण र ६ लाख व्यक्तिगत संघसंस्थालाई वितरण गर्नेछ । बैंकको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । 

डिप्रोक्स लघुवित्तको १८औँ सभा माघ २६ मा
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १८औँ वार्षिक साधारणसभा माघ २६ गते बोलाएको छ । कम्पनीले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गर्ने प्रस्ताव लिएर सभा बोलाएको हो । सभाले अन्य इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थासँग एक–आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीले सभा तथा लाभांश बुकका लागि माघ १३ देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । माघ १२ सम्म सेयर किन्ने सेयरधनीले लाभांश पाउनेछन् ।

रिलायन्स फाइनान्सद्वारा ५ करोडभन्दा बढी नगद प्रस्ताव
रिलायन्स फाइनान्स लिमिटेडले ६ दशमलव ५८ प्रतिशत करसहित ५ करोड ४७ लाख ६४ हजार २ सय १४ दशमलव ६७ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारितपछि वितरण गर्ने निर्णय गरेको हो ।  

नेपाल इन्स्योरेन्सद्वारा लाभांश घोषणा
नेपाल इन्स्योरेन्सले ७ दशमलव ८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र करका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश दिने निर्णय बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश बिमा समिति र कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेपछि वितरण गर्ने कम्पनीले जानकारी गराएको छ । 

एनसिसीको २२औँ सभा माघ १७ गते
 नेपाल क्रेटिड एन्ड कमर्स (एनसिसी) बैंकले २२औँ वार्षिक साधारणसभा माघ १७ गते गर्न लागेको छ । बैंकले १५ प्रतिशत बोनस सेयर र करका लागि शून्य दशमलव ७८९४७ प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको हो । साथै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने कार्यको सञ्चालक समितिलाई अख्तियारी दिने विषय सभामा राखेको छ । बैंकले माघ ७ गते (एक दिन) साधारणसभा प्रयोजनका लागि सेयरधनीदर्ता पुस्तिका बन्द गर्न लागेको छ । माघ ६ गतेसम्म कायम सेयरधनीले बैंकले दिएको लाभांश पाउनेछन् । 

सेन्ट्रल फाइनान्सद्वारा ७ प्रतिशत नगद घोषणा
सेन्ट्रल फाइनान्स कम्पनीले ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि वितरण गर्ने गरी घोषणा गरेको हो ।