१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एकसाता अघि हिउँ परेपछिको लाप्राक ।
उपेन्द्र पोखरेल
२०७६ पौष २६ शनिबार १०:४२:००
Read Time : > 5 मिनेट
फिचर

भेडाको ऊनजस्तो...

Read Time : > 5 मिनेट
उपेन्द्र पोखरेल
२०७६ पौष २६ शनिबार १०:४२:००

आकाशबाट के उडी आयो ?
भेडाको ऊनजस्तो,
मायाको फोटो म खिची लान्छ
पूर्णेको जूनजस्तो ।

रिपोर्टिङमा ०५१ तिर रसुवाको लाङटाङ क्षेत्र पुगेका पत्रकार नारायण वाग्लेको ध्यान यही स्थानीय भाकाले तान्यो । त्यसको आठ वर्षपछि मात्र उनले नेपथ्य ब्यान्डका गायक अमृत गुरुङलाई त्यो भाका सुनाए । र, ०५९ चैतमा वाग्ले, गुरुङ, संगीतकार डानियल कार्थक र किरणकृष्ण श्रेष्ठ ‘भेडाको ऊनजस्तो’ भाकाको खोजीमा निस्किए । 
संयोगवस, त्यो चैतमा पनि हिउँ पर्‍यो, लाङटाङ क्षेत्रमा । गीतको झंकार ठम्याउन हिँडेका उनीहरूले आफ्नो यात्रालाई वृत्तचित्रको रूप दिए, ‘भेडाको ऊनजस्तो ।’ साथमा, वाग्लेको शब्द र गुरुङको स्वरमा गीत समेटियो, ‘भेडाको ऊनजस्तो’ एल्बममा । नयाँ पुस्तामाझ हिउँ र हिमाली जनजीवन चिनाउने मानक बने, यो गीत र वृत्तचित्र ।

तथापि, यो नै ‘हिउँ’लाई चिनाउने सर्जकहरूको पहिलो प्रयास थिएन । ‘हिउँ’ शब्द समेटिएका प्रशस्त गीत त्यसअघि र पछि पनि आएका छन् । गायक रामकृष्ण ढकालको ‘हिउँचुलीमा हिउँ बग्यो’, गायक शम्भु राईको ‘हिउँजस्तै गोरी, हिमालकी छोरी’, गायक राजु लामाको ‘हिउँ पर्‍यो फुरुरु’लगायत धेरै गीतले नेपाली जनजीवनमा हिउँसँगको सामिप्यता दर्शाउँछन् । 

हिउँ र सिर्जना
यतिवेला फिल्म ‘प्रेमगीत–३’को युनिट पनि मनाङमा सुटिङमा व्यस्त छ । सडक सुविधा बढ्दै गर्दा नेपाली फिल्म निर्माताको ध्यान हिमाली भेगतिर तानिन थालेको पछिल्लो उदाहरण हो, यो । यसअघि फिल्म ‘ए मेरो हजुर–३’को गीत ‘जिन्दगी नै भन्दिनँ म’को सुटिङ सोलुखुम्बुको गोक्यो र मनाङको तिलिचो ताल आसपासमा भएको थियो । १२ वर्षअघि आएको फिल्म ‘कागबेनी’को सुटिङ मुस्ताङमा गरिएको थियो । 

यस्तै, ‘ड्रिम्स’, ‘ऐश्वर्या’ र ‘क्याप्टेन’को सुटिङ पनि हिमाली भेग मुस्ताङमै गरिएको थियो । काठमाडौं, चितवन, पोखरालगायत सहरी क्षेत्रका दृष्य हेर्दाहेर्दा दिक्क भइसकेका दर्शकलाई फिल्म ‘भैरे’को युनिटले मुस्ताङमा सुटिङ गरेर नयाँपन दियो । फिल्म ‘लभ लभ लभ’को एक गीतको छायांकन रसुवाको हिमाली भेग गोसाइँकुण्डमा गरिएको थियो । अनमोल केसी स्टारर फिल्म ‘जेरी’का केही दृश्य पनि मुस्ताङकै थिए भने ‘वीर विक्रम–२’मा मनाङ र मुस्ताङका रमणीय दृश्य समेटिएका छन् । फिल्ममा समेटिने दृश्यको प्रभाव पर्यटन उद्योगमा देखिने गर्छ । जस्तो– सन् २००० को बलिउड फिल्म ‘कहो ना प्यार हे’को सुटिङ न्युजिल्यान्डमा गरिएको थियो । त्यसयता न्युजिल्यान्ड पुग्ने भारतीय पर्यटक ह्वात्तै बढेको पाइएको छ । र, न्युजिल्यान्डले भारतीय पर्यटकलक्षित आकर्षक प्याकेजहरूसमेत सार्वजनिक गर्दै आएको छ । फिल्मको छायांकनमा समेटिएका गन्तव्यमा पुग्न आन्तरिक मात्र होइन, बाह्य पर्यटक पनि लालायित हुन्छन् । ‘नेसनल जोग्राफी’, ‘एनिमल प्लानेट’, ‘डिस्कभरी’लगायत विश्वका चर्चित टेलिभिजन च्यानलहरूले नेपालको हिमाली भेगका दृश्यहरू आफ्ना वृत्तचित्रहरूमा समेट्दै आएका छन् । नेपाली फिल्म उद्योगमा भने हिउँसँग जोडिएका हिमाली भेगका कथा पर्याप्त मात्रामा आएका छैनन् ।

शुक्रबार डडेल्धुरामा हिउँ खेल्दै स्थानीय ।

बरु, विश्वको सर्वोच्च शिखर सगरमाथाको कथावस्तु समेटेर क्यानाडामा एउटा टिभी शृंखला र एक हलिउड फिल्म निर्माण भइसकेका छन् । सन् २००८ मा क्यानडाका फिल्मकर्मीले ‘एभरेस्ट ८२’ नामक टेलिभिजन शृंखला निर्माण गरेको थियो, जसमा सन् १९८२ मा क्यानेडेली टोलीले सगरमाथा आरोहण गर्दाको दुःख, दुर्घटना र सफलताको कथा समेटिएको छ । ब्रुस पेटर्सनको ‘एभरेस्टः द करेजियस एक्स्पिडिसन अफ १९८२’ शीर्षक पुस्तकमा आधारित छ, यो टेली शृंखला । 

यस्तै, सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा हिमआँधीमा परी ज्यान गुमाएका १२ जना आरोहीको संघर्षको कथामा आधारित भएर हलिउड फिल्म ‘एभरेस्ट’ निर्माण गरिएको छ । सन् २०१५ मा रिलिज भएको यो फिल्म जोन क्रकरको पुस्तक ‘इन्टु द थिन एयरः अ पर्सनल एकाउन्ट अफ द माउन्ट एभरेस्ट डिजास्टर’मा आधारित थियो । त्यस हिमआँधीमा सगरमाथामा अलपत्र परेका आरोहीहरू र मृतकको शव काठमाडौंसम्म ल्याउन ज्यान नै जोखिममा राखेर हेलिकोप्टर उडाएका पाइलट मदन केसीको भूमिकामा छन्, पाइलट तथा अभिनेता विजय लामा ।

यस्तै, सन् १९९९ मा माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली निर्देशक एरिक भ्याल्लीले फिल्म ‘हिमालय (क्याराभान)’ निर्माण गरेका थिए । यो फिल्म सन् २००० को अस्कर अवार्डमा विदेशी भाषा विधातर्फ उत्कृष्ट पाँचमा परेको थियो । सन् १९९८ मा रिलिज भएको ४५ मिनेटको डकुमेन्ट्री फिल्म ‘एभरेस्ट’, सन् २०१५ को वृत्तचित्र ‘शेर्पा’, सन् २०१७ को ‘चिल्ड्रेन अफ द स्नोल्यान्ड’, सन् २०१३ को ‘हाई एन्ड हलोड : एभरेस्ट १९६३’, सन् २०१६ मा बनेको ‘द सेभेन्थ समिट’लगायत वृत्तचित्रहरूले पनि नेपालको हिमाली भेग र हिउँ अनि जोखिम, साहस र रोमाञ्चकताका दृश्य विश्वसामु पुर्‍याएका छन् ।

हिउँले ल्याउने रोमाञ्चकता
यतिवेला उच्च पहाडी र हिमाली क्षेत्र हिमपातले सेताम्य भएका छन्, जसले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । तर, यसमा रोमाञ्चकता पनि गाँसिएको छ । खासगरी, सहरनजिकका गन्तव्यमा परेकोे हिउँ खेल्न पुगेका युवायुवतीका तस्बिरहरूले सामाजिक सञ्जाल रंगिएका छन् । काठमाडौंबाट नजिकका हिउँ खेल्ने गन्तव्य हुन्, दामन, फुल्चोकी र चन्द्रागिरि । सडक सुविधासँगै दोलखाका शैलुङ, कालिञ्चोक र जिरी तथा सिन्धुलीको फिक्कलमा पनि हिमपातलगत्तै युवायुवती हिउँ खेल्न पुग्न थालेका छन् । पाँचथरको पौवाभञ्ज्याङ, इलामका सन्दकपुर, जौबारी, छिन्तापु र कालपोखरी तथा संखुवासभा, धनकुटा र तेह्रथुम सीमाका वसन्तपुर र तीनकुने–मिल्के–जलजले क्षेत्र पूर्वका हिउँ खेल्ने गन्तव्य बनेका छन् । पोखराका बासिन्दा कास्कीको लुम्ले र मुस्ताङसम्म हिउँ खेल्न पुग्छन् ।

शुक्रबार हिउँ परेपछिको रारा ।

यस्तै, बाँके र सुर्खेतका बासिन्दा हिउँ खेल्न दैलेखको गुराँसे र मुगुमा पर्ने रारा तालसम्म पुग्छन् । कञ्चनपुरको महेन्द्रनगर र कैलालीको धनगढीलगायत सुदूरपश्चिमी सहरका बासिन्दा हिउँ खेल्न डडेल्धुराको अमरगढी, साहुखर्क र हगुल्टे लेकसम्म पुग्छन् । भारतका लखनऊ र सीमावर्ती बजारका बासिन्दा पनि यतिवेला डडेल्धुरामा हिउँ खेल्दै गरेका भेटिन्छन् ।

हिउँसँग जोडिएको जीवनपद्धति
हिउँसँगको रमाइलो त भयो नै यससँग जनजीवन र संस्कृति पनि जोडिएको छ । हिमाली भेगको संस्कृतिमा विद्यावारिधि गरिरहेका लुम्बिनी विकास कोषका पूर्वसदस्य–सचिव अजितमान तामाङका अनुसार हिउँसँग हिमाली क्षेत्रका दुईवटा पाटो गाँसिएका छन् । कृषि क्यालेन्डर र सांस्कृतिक पर्वहरू ल्होसार, रुम तथा होल्ताङ्बे । ‘हिउँ परेपछि माटो खुकुलो हुन्छ । र, खेतीपातीका लागि उर्बर बन्छ,’ तामाङ भन्छन्, ‘त्यसैले, हिउँ परेपछि हिमाली भेगमा सहकाल आएको मानिन्छ ।’ उनका अनुसार आलु, जौ, गेडागुडी, फापर, चिनो, करु खेतीका लागि यो मौसममा हिउँ पर्नु उपयुक्त मानिन्छ । यस यामको हिमपातले उच्च पहाडी तथा हिमाली भेगका जडिबुटी पनि फस्टाउँछन् ।

तामाङ, ह्योल्मो, मुगाम्बा र डोल्पालीले यस सिजनमा मनाउने पर्वहरू पनि हिउँसँग जोडिन्छन् । यही सिजनमा नेपालको हिमाली भेगमा आरु प्रजातिको फल खुपार्नेमा फूल लाग्छन् । मध्यपहाड र तराईमा हिउँद र वर्षा भनेजस्तै हिमाली भेगमा सेर्खा र यार्खा भनिन्छ । वर्षामा टिप्नयोग्य हुने भएकाले यार्सागुम्बा नाम रहेको तामाङ बताउँछन् । सेरको अर्थ हिमाली भेगका जातजातिको भाषामा हिउँ हो, जो घाम लाग्दा सुनजस्तै टल्किन्छ ।

हिउँ पर्ने सिजनसँगै हिमाली भेगका चौँरी र घोडाका क्याराभान लेक–बेंसी गर्छन् । हिउँ झर्न थालेपछि बेंसीतिर ओर्लिन्छन्, पग्लिने मौसममा उकालो लाग्छन् । हिमालबाट निस्रित पानीको स्रोतमा निर्भर छ, हिमाली भेगको जनजीवन । हिमालमा जम्मा भइसकेको हिउँ स्थिर भएर बसोस् र यस वर्ष प्रशस्त हिउँ परोस् भन्ने कामनाका साथ हिमाली भेगमा चैत–वैशाखतिर उँधौली र कात्तिक–मंसिरतिर उँभौली पूजा गर्ने चलन छ । यी पूजामा सहकालको कामना हुन्छ । पूजाका क्रममा आ–आफ्ना क्षेत्रका हिमाललाई देवताको प्रतिक बनाएको हुन्छ ।

‘इटालियन नेसनल रिसर्च काउन्सिल–वाटर रिसर्च इन्स्टिच्युट’को एक अध्ययनअनुसार नेपालमा हिमनदीको संख्या तीन हजार आठ सय आठ छ । नेपालको हिमालय क्षेत्रमा हजारौँ वर्षदेखि थुप्रिएको हिउँ छ । लामो अवधि गुजारेको हिउँले अझ कडा रूप पाएर बरफ बन्छ । हिमनदी बन्न १० देखि २० वर्ष लाग्ने विज्ञहरू बताउँछन् । बरफको बाक्लो तह गुरुत्वाकर्षण र आफ्नै वजनका कारण विस्तारै बग्न थाल्छ । आकाशबाट झरेको हिउँ जम्ने र हिमनदीका रूपमा बग्ने प्रक्रिया बराबर हुनुपर्ने विज्ञहरू बताउँछन् ।

नेपालका हिमाल आरोहण गर्न बर्सेनि विश्वभरका करिब पाँच हजार आरोहीले आवेदन दिन्छन् । ‘हिउँ नेपाली पर्यटनको मेरुदण्ड नै हो,’ पर्यटन व्यवसायी कृष्णकुमार अर्याल भन्छन्, ‘पर्वतारोहणका कारण नै नेपालमा पर्यटन उद्योगको सुरुवात भएको हो ।’ हिमाल आरोहण नेपाली अर्थतन्त्रमा आम्दानीको महत्वपूर्ण स्रोत पनि हो । नेपालमा आरोहणयोग्य एक हजार सात सय ९२ वटा हिमाल छन् ।

एक साताअघिको कालिञ्चोक ।

‘भेडाको ऊन’ झार्ने वायु
सामान्यतया समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको उचाइमा जाडोयाममा हिउँ पर्ने गर्छ । यस्तै, पाँच हजार मिटरभन्दा माथिका क्षेत्रमा हिउँ स्थिर भएर बस्ने अनुमान छ, जसलाई हिमाल भन्ने गरिएको छ । नेपालमा मौसमका दुईवटा चक्र छन् । भूमध्यसागरबाट इरान, अफगानिस्तान हुँदै प्रवेश गर्ने पश्चिमी वायुले हिमपात गराउँछ । वर्षायाममा भने बंगालको खाडीबाट आएको वायु यहाँको न्यूनचापीय रेखासँग ठक्कर खाँदै मनसुनी वर्षामा परिणत हुन्छ । वरिष्ठ मौसमविद् ऋषिराम शर्माका अनुसार पश्चिमी वायु निश्क्रिय भएपछि वर्षायाम सुरु हुन्छ भने पूर्वीय वायु निष्क्रिय भएर हिउँद लाग्छ । यही चक्रमा जोडिन्छ, हिमालदेखि तराईसम्म पानीको उपलब्धता पनि । हिमालमा जमेको हिउँ जमिनले थेग्न सक्ने मात्रामा मात्र जमिरहन्छ, थेग्न नसक्ने भएपछि विस्तारै खस्न थाल्छ । गर्मी सिजन सुरु भएपछि पनि पग्लेर झर्न थाल्छ । 

हिमनदी, नदी हुँदै तल्लो तटीय क्षेत्रमा सुसाउँदै बग्छ । नदी किनारका फाँटहरूमा सिँचाइ सुविधा उपलब्ध गराउँदै हिमाल, पहाड र तराईसम्म त्यही पानीले जीवनचक्र चलाउने आधार दिन्छ । ‘यो पानीलाई भावर क्षेत्रमा जम्मा गरेर राख्न सकिए तराईका खेतीयोग्य फाँटहरूका लागि सिँचाइको स्थायी भूमिगत स्रोत तयार हुन सक्छ,’ शर्मा भन्छन् ।

मौसमविद् शर्माले भनेझैं बग्ने पानीलाई पो भण्डारण गर्न सकिन्छ । मौसमी चक्रलाई त कहाँ रोक्न सकिन्छ र ! सकिने भए त इरानले उतै रोक्थ्यो । इरानी–अफगानी आकाश छिचोल्दै भूमध्यसागरबाट आएको पश्चिमी वायुले भने नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ झारिरहेको छ, भेडाको ऊनजस्तो । बरु जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले हाम्रा हिमालमा पारिरहेको असरबाट जोगाउन पो लाग्ने हो कि ! नत्र ‘भेडाको ऊनजस्तो’ कहाँ कहाँ बाँकी रहला र ।