१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २६ शनिबार १०:२७:००
Read Time : > 1 मिनेट
नयाँCity

हिंसापीडितकी साथी

Read Time : > 1 मिनेट
२०७६ पौष २६ शनिबार १०:२७:००

आफूलाई समाजसेवी वा अधिकारकर्मी कहलाउनेको संख्या कम छैन । तर, सहाराविहीनको सहारा बनेर हिँड्न निकै गाह्रो छ । विराटनगर–२ की अधिकारकर्मी मञ्जिता उपाध्याय त्यही गाह्रो काम गर्नेमध्येमा पर्छिन् । उनी अधिकारको कुरा मात्र गर्दिनन्, हिंसापीडित र सडकमा अलपत्र भेटिने मानसिक रोगीको उद्धार तथा संरक्षणमा जुटिरहेकी हुन्छिन् ।

२७ वर्षदेखि हिंसापीडित महिला र बालबालिकाको अधिकारका लागि क्रियाशील उनी चार वर्षदेखि सडकमा अलपत्र भेटिने मानसिक रोगीहरूको उद्धार र संरक्षणमा लागिपरेकी छन् । उनी महिला मानवअधिकार रक्षक परिषद्की प्रदेश १ संयोजक र केन्द्रीय सदस्य हुन् ।

हिंसापीडित महिला र बालबालिकालाई सघाउँदै आएकी अधिकारकर्मी मञ्जिता उपाध्यायले पछिल्लो समय भने मानव सेवा आश्रममार्फत मानसिक रोगीलाई पनि आश्रय दिइरहेकी छिन् । 

सबैका लागि साझा अधिकार (कोकन) नामक संस्थामार्फत महिला र बालबालिकाको अधिकारको वकालत गरिरहेकी मञ्जिता ‘पहल’ नेटवर्कको संयोजक बनेर भूमिका वहन गरिरहेकी छन् । उनी सडकमा भौंतारिने मानसिक रोगी र हिंसापीडित महिलाको उद्धार र संरक्षणका लागि स्थापित मानव सेवा आश्रम विराटनगरकी अभिभावक हुन्, जहाँ हिंसा र असहाय मानसिक रोगीले आश्रय लिइरहेका छन् ।

यो यात्रामा मञ्जिताले धेरै हन्डर खाएकी छन् । ‘तैपनि अविचलित रहँदै सधैं पीडितको साथी बन्ने कोसिस गरिरहेकी छु,’ उनी भन्छिन् । उनको यात्रामा जीवनसाथी डिल्ली दाहालको पूर्ण साथ छ । पेशाले कानुन व्यवसायी डिल्ली जीवनसंगिनी मञ्जिताको लगावदेखि खुशी रहेको बताउँछन् । ‘पीडितको उद्धार कानुनी वकालतमा म आफैँ पनि खटिन्छु,’ उनी भन्छन् ।

महिलाको क्षेत्रमा काम गर्ने संस्थामा दशक काम गरेकी मञ्जिता लैंगिक हिंसापीडित महिला पुनस्र्थापना गृह प्रदेश १ समिति सदस्य हुन् । उनले मनोविमर्शकर्ताको प्रशिक्षण नै लिएर परामर्श दिने गरेकी छन् । २४ मंसिरमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार सञ्जाल र रक्षक परिषद्ले उनलाई सम्मान पनि गर्‍यो । ‘हिंसापीडितहरू नै मेरो प्रेरणाका स्रोत हुन् । उनीहरूका लागि सधैँ सक्रिय भएर काम गर्ने अवसर प्राप्त भइरहोस्,’ उनी भन्छिन् ।