मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २६ शनिबार १०:१६:००
Read Time : > 1 मिनेट
साहित्य

कैदीसँग किताब

Read Time : > 1 मिनेट
२०७६ पौष २६ शनिबार १०:१६:००

हुम्लाको चंखेली गाउँपालिका–४ का ४८ वर्षीय शेरबहादुर पाल कैदी हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका कैद जीवन बिताइरहेका उनले जेलमा किताब पढ्न पाइएला भनेर सोचेका थिएनन् । तर, जब ‘कारागारलाई किताब’ अभियानले किताब ल्याइपुर्‍यायो अनि उनको दैनिकी फेरियो । 

शेरबहादुर गत तीन महिनामा ५० किताब पढेको बताउँछन् । उनले पढेका किताबमा धेरैजसो कविता, आख्यान र संस्मरण छन् । कारागारमा आयोजित कविता प्रतियोगितामा उनले दौरासुरुवाल र कोटमा सजिएर कवितावाचन गरे । कार्यक्रममा उभिएर बोल्न हिचकिचाउने उनी अहिले भने कारागारमा हुने कार्यक्रममा निर्धक्क बोल्छन् । किताबको समीक्षा गर्छन् । अनि कैदीलाई किताब पढ्न अनुरोध पनि गर्छन् । ‘सुरु–सुरुमा किताब पढ्न गाह्रो लाग्थ्यो । अहिले बानी पर्‍यो । किताब साथीजस्तो भएको छ,’ उनी भन्छन् । 

उनीजस्तै प्रदेश राजधानी सुर्खेतमा रहेका कैदी किताब बढ्न थालेका छन् । अझ कर्णालीका हुम्ला, जुम्लामा पनि कैदीसम्म किताब पुगेका छन् । प्रदेशका सबैजसो जिल्ला कारागारमा पुस्तकालय स्थापना गरिएको छ । धेरैजसो कैदी पुस्तकालयमा भेटिन्छन् । कैदीलाई किन किताब पढाउनुपर्‍यो ? कारागारलाई किताब अभियान सञ्चालन गरिरहेका कर्णाली प्रदेश प्रहरीप्रमुख डिआइजी महेशविक्रम शाह भन्छन्, ‘एउटा जेलमा बसेको खुंखार कैदी कवि पनि त हुन सक्छ नि ।’

कर्णाली प्रदेशमा डिआइजी महेशविक्रम शाहले सुरु गरेको ‘कारागारलाई किताब’ अभियानले कैदी–बन्दीलाई किताबसँग नजिक मात्रै बनाएको छैन, उनीहरूको दैनिकी पनि बदलेको छ ।
 

उनी कैदीहरूको लागि किताब मागिरहेका छन् । र विभिन्न कार्यक्रममा कैदीले पढ्न पाउनुपर्ने मत राख्दै आइरहेका छन् ।  एउटा प्रहरीले कैदीको लागि किताब जोहो गर्नु आफैँमा नौलो र उत्साहजनक कार्य हो । र कैदीकै लागि पढ्ने माहोल बनाउनु चुनौती पनि छ । कैदीचाहिँ परिवर्तन हुनुपर्ने, तर सुरक्षाकर्मी परिवर्तन हुने कि नहुने । कारागार स्थापना गरिएका पुस्तकालयमा कैदी र प्रहरी दुवैले पढ्न सक्ने बताउँदै उनी भन्छन्, ‘प्रहरीले पनि पढ्नुपर्‍यो । ड्युटीबाट बचेको समयलाई अध्ययनमा लगाउँदा प्रहरीलाई नै फाइदा हुनेछ ।’

कारागारमा स्थापना गरिएका पुस्तकालले कैदीसँगै प्रहरीलाई पनि पढ्ने बानीको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । किताबले संवेदनशील बनाउन सक्ने उनको भनाइ छ । ‘किताबको अध्ययन गर्दा समाज बुझ्न सकिन्छ । र त्यो समाजको भाषा, संस्कृति, दैनिक बुझ्न सकिन्छ । त्यसकारण पनि कारागारलाई किताब अभियान चलाएका हौँ,’ शाह भन्छन् ।

कर्णालीका प्रदेशका १० जिल्लाका कारगारमा पुस्तकालय स्थापना गरिएको छ । जहाँ एक हजार कैदी–बन्दी रहेका छन् । ति पुस्तकालयमा अहिलेसम्म २८ लाख ११ हजार किताब संकलन भइसकेका छन् । यस अभियानमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमले पनि सहयोग पुर्‍याएको छ । यससँगै विभिन्न व्यक्तिले पनि आफूसँग भएका किताब प्रदान गरेर सघाएका छन् । 

सुर्खेत कारागारका कैदी शेरबहादुरझै अन्य कर्णालीका अन्य कारागारमा रहेका कैदी–बन्दी पनि किताबप्रति आकर्षित हुन थालेका छन् । जसले उनीहरूको दैनिकी मात्रै होइन, व्यवहार पनि फेरिन थालेको छ । ‘किताब पढौँ, जीवन बदलौँ’ भन्ने नारा दिएको ‘कारागारलाई किताब’ अभियानबाट कैदी परिवर्तन हुने डिआइजी शाहको विश्वास छ । उनी भन्छन्, ‘कैदी पनि राम्रो लेखक भएर निस्कन सक्छन् ।’