Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
प्रतिमा बाँस्कोटा
२०७५ पौष २ सोमबार ११:३८:००
Read Time : > 1 मिनेट
प्रवास

अमेरिकामा नेपाली स्वाद

Read Time : > 1 मिनेट
प्रतिमा बाँस्कोटा
२०७५ पौष २ सोमबार ११:३८:००

क्यालिफोर्निया - पोखराबाट अमेरिका पढ्न आएका विकास क्षेत्रीलाई उनकी आमाले हिँड्ने वेलामा झोलाभरि खानेकुरा हालिदिएकी थिइन् । अमेरिकामा नेपाली स्वादका खानेकुरा छोराले खान नपाउने उनको चिन्ता थियो । त्यहीकारण उनले झोलामा तितौरा, अकबरे खुर्सानी, गुन्द्रुक हालिदिइन् । तर, विकासलाई यहा“ आएको दुई–चार दिनमै नेपालबाट नेपाली स्वाद बोकेर ल्याउनु नपर्ने थाहा भयो । 

नेपालीहरूले व्यापार गर्दै आएको स्टोरमा नेपाली भान्सामा पाक्ने प्रायः सबै चिज पाइन्छ । सन्नीभेलमा रहेको गालामार्ट स्टोरले लामो समयदेखि नेपालबाट नै सामान मगाएर नेपाली परिकार बनाउँछ । ‘नेपालीको बाक्लो उपस्थिति रहेको स्थानमा नेपाली सामान भेटिनु राम्रो हो,’ विकासले भने, ‘सबै कुरा यतै यसरी भेटिन्छ भन्ने थाहा थिएन ।’ स्टोरमा गुन्द्रुक, सिन्की, टिमुरदेखि जिम्बुसम्म पाइन्छ । त्यसबाहेक, फापर कोदोको पिठो, तामा, खुर्सानीको अचार, तितौरासम्मका सामान पाइन्छ । वाइवाइ चाउचाउ पनि पाइन्छ । यो क्षेत्रमा नेपालीले नै नेपाली परिकार बनाएर बेच्ने गरेका छन् । 

सधैँभरि व्यस्त रहिरहने सन्फ्रान्सिस्को सहरमा चार वर्षदेखि गोर्खा किचन रेस्टुरेन्ट सञ्चालनमा छ । लक्ष्मण अधिकारीले चलाएको सो रेस्टुरेन्टमा नेपाली खाना मात्र पाइन्छ । अधिकारीका अनुसार, तर रेस्टुरेन्टका ग्राहक नेपालीभन्दा बढी विदेशी हुन्छन् । ‘अन्य क्षेत्रबाट सन्फ्रान्सिस्को घुम्न आएका नेपाली पनि रेस्टुरेन्टको नामकै कारणले यहा“ आउने गर्छन्,’ उनले भने ‘गुगल गर्दा गोर्खाज् देखेपछि गर्व गर्दै नेपाली यतै आउ“छन्, विदेशी पनि आउँछन् ।’ उनले रेस्टुरेन्टको सजावटसमेत नेपाली तरिकामा नै गरेका छन् । ढाकाका कपडाले भित्ता ढाकेका छन् । तामाका खड्कुला र अम्खोरा सजावटका लागि राखेका छन् । पृष्ठभूमिमा नेपाली धुन बजिरहेको हुन्छ । पलेँटी मारेर बसेर खान मिल्ने व्यवस्था गरेका छन् । 

त्यही सहरमा नेपाली पूर्ण शेर्पाले ‘उर्बान करी’ नामको दुईवटा रेस्टुरेन्ट खोलेका छन् । उनको रेस्टुरेन्टमा पनि नेपाली खाना सेटदेखि सेकुवालगायत खानेकुरा पाइन्छ । सानहोजे र सन्फ्रान्सिस्कोमा रेस्टुरेन्ट खोलेका उनी अन्य नेपालीलाई समेत व्यापार नै सुरु गर्न सुझाब दिन्छन् । ‘अलि–अलि पैसा भएपछि जोखिम मोलेर व्यापार गर्दा नै फाइदा हुन्छ,’ शेर्पाले भने । 

क्यालिफोर्नियाका सडकमा नेपाली खानाको व्यापार बढ्न थालेको छ । ‘सिलिकन भ्याली’ नामले चिनिने यो क्षेत्रमा नेपालीले भारतीय र नेपालीको खानाको फ्युजन बनाएर पनि रेस्टुरेन्ट चलाउने गरेका छन् । ‘फुड ट्रक’मा नेपाली खाना पस्केर पनि ग्राहक तानिरहेका छन् । पछिल्लो एक वर्षमा नेपाली खानाको व्यापारले बजार लिएको जानकारहरू बताउँछन् । फुड ट्रकमा नेपाली खानाको व्यापार बढिरहेको छ । खासगरी मःम, चाउमिन, चिकेनचिल्लीलगायत खाना फुड ट्रकमा राखेर बेचिन्छ । 

करिब तीन वर्षदेखि सन्नीभेलमा नेपालीले दी एभरेस्ट मोमो नाम दिएर नेपाली फुड ट्रक सुरु गरेका थिए । नेपालीलाई लक्षित गरेर मोमो ट्रक सञ्चालन गरेको भए पनि भारतीय ग्राहकको संख्या धेरै हुने गरेको व्यापारी बताउ“छन् । त्यसको ६ महिनापछि अर्का नेपालीले दी मोमो ग्रिल फुड ट्रक नाम दिएर अर्को मोमो ट्रक खोले । विभिन्न कम्पनीको लन्चमा मःमलगायत अन्य खाना उपलब्ध गराउ“दै आएको यो ट्रकले पनि खास गरी मःम, चाउमिन र फ्राइड राइस बेच्दै आएको छ ।