गण्डकी प्रदेश सरकारले आउँदो १ माघमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले माघेसंक्रान्तिको अवसर पारी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी गराएका हुन् । बैठकले प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक पारित गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेश सभामा पेस गर्ने निर्णयसमेत पारित गरिएको उनले बताए ।
‘कला–साहित्य, भाषा–संस्कृति, ललितकला, नाट्यकला आदिको उन्नयन, विकास र अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक रहेको महसुस गर्दै त्यसको स्थापनाका लागि विधेयक तयार गरी सरकारले प्रदेश सभामा पेस गर्न लागेको हो,’ उनले भने, ‘चालू आर्थिक वर्षमा प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित विषय प्राथमिकतामा पर्नेछन् ।’
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयकसमेत स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका ६ र आर्थिक मामिला तथा योजना मन्त्रालयका दुई गरी आठवटा कार्यविधि पारितसँगै बैठकले मुख्यमन्त्री कार्यालयले तयार गरेको कर्मचारी सरुवा तथा पदस्थापनसम्बन्धी मापदण्डसमेत पारित गरेको छ ।
त्यसैगरी, प्रदेश सरकारले गठन गर्न लागेको प्रदेश दूग्ध विकास बोर्डको सदस्य सचिवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि निर्देशनालयका नवौँ तहका अधिकृत डा. गृष्म न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।