मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २४ बिहीबार ०६:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चिनियाँ मोडलमा नेकपाको भोटेकोसी गाउँ कमिटी

Read Time : > 1 मिनेट
२०७६ पौष २४ बिहीबार ०६:३१:००

पार्टी सदस्यले ड्रेस र लोगो अनिवार्य लगाउनुपर्ने, चीनमा सिलाइएको  ड्रेस अर्को बैठकदेखि लगाइने, ७५ सदस्यीय कमिटीका हरेक सदस्यले तीन साधारण सदस्यको नेतृत्व गर्ने

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको साढे तीन महिनापछि सिन्धुपाल्चोकमा स्थानीय कमिटीले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालनकै मोडल अभ्यास गर्न थालेको छ । नेकपाको भोटेकोसी गाउँपालिका कमिटीले चिनियाँ कम्युनिस्ट पार्टीकै मोडलमा पार्टीका सांगठनिक गतिविधि सञ्चालन सुरु गरेको हो । 

चिनियाँ कम्युनिस्ट पार्टीकै मोडलअनुसार बैठकमा पार्टीको लोगो अंकित ड्रेसमा उपस्थित हुन अनिवार्य गरिएको छ । मंगलबारको गाउँपालिका कमिटी बैठकमा सबै सदस्यले पार्टीको लोगो लगाएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पार्टीको लोगोसहितको ड्रेसमा मात्र बैठक बस्छन् भने अनुशासनको कडाइका साथ पालना गर्छन् । पार्टी कार्यालयमा राखिने झन्डा र अन्य सामग्री पनि चिनियाँ कम्युनिस्ट पार्टीकै मोडलमा राखिएको गाउँपालिका कमिटी अध्यक्ष आङछिरी शेर्पाले बताए । 

‘अहिलेलाई लोगो अनिवार्य गरिएको छ । आगामी बैठकदेखि पार्टीले तोकेको युनिफर्म लगाएर बैठकमा आउनुपर्नेछ । पार्टीको लोगो र ड्रेस पनि चाइनाबाटै बनाएर ल्याएका छौँ,’ शेर्पाले नयाँ पत्रिकासँग भने, ‘पार्टी सदस्यले मात्रै लोगो र ड्रेस लगाउन पाउनेछन् ।’ ७५ सदस्यीय कमिटीलाई बैठक बस्दा आवश्यक पार्टी चिह्न खासाको चिनियाँ कम्युनिस्टसँग सहकार्य गरेर तयार पारेको उनले बताए । गाउँ कमिटीमा रहेका ७५ सदस्यले अब तीन–तीनजना साधारण सदस्यको नेतृत्व गर्नेछन् । 
गत ७ असोजमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच काठमाडौंमा ६ बुँदे समझदारी भएको थियो । दुई पार्टीबीच राजनीतिक तथा आर्थिक मोडल आदानप्रदान गर्न उच्चस्तरीय भ्रमण गर्ने समझदारी भएको थियो । उक्त समझदारीपत्रमा हस्ताक्षरलगत्तै भोटेकोसीबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सात सदस्यीय टोली चीनको स्वशासित क्षेत्र तिब्बतको खासा गएको थियो ।

अध्यक्ष आङछिरी शेर्पा भन्छन् ‘दुवै पार्टीको राम्रो पक्षलाई अंगीकार गरेर स्थानीय पार्टी सञ्चालन गर्ने निर्णय खासा बैठकले गरेको थियो । त्यसैअनुसार काम गरेका हौँ ।’
 

शेर्पाको नेतृत्वमा १७ असोजमा खासा पुगेको टोलीले जांमुपोर्टस्थित चिनियाँ कम्युनिस्ट पार्टीको खासा प्रशासन समितिसँग बैठक गरेको थियो । नेपाल र चीनका कम्युनिस्ट पार्टीबीच स्थानीयस्तरमा बैठक भएको यो नै पहिलोपटक थियो । टोली खासा भ्रमणबाट फर्किएलगत्तै २ कात्तिकमा बसेको गाउँपालिका कमिटी बैठकले चिनियाँ मोडल अनुसरण गरेको थियो ।

बैठक बस्दा कम्युनिस्ट पार्टीको लोगो अंकित ड्रेस लगाउने र अनुशासनलाई कडाइ गर्ने निर्णय गरेको थियो । ‘दुवै पार्टीको राम्रो पक्षलाई अंगीकार गरेर स्थानीय पार्टी सञ्चालन गर्ने निर्णय खासा बैठकले गरेको थियो । त्यसैअनुसार भोटेकोसी गाउँपालिका कमिटीले काम गरेको हो,’ अध्यक्ष शेर्पाले भने । कमिटीबाट टोली फागुनमा फेरि खासा भ्रमणमा जाँदै छ । यो भ्रमणमा पनि दुई पार्टीबीचको सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल हुने शेर्पाले बताए ।

चीनबाट पनि भ्रमणमा आएका छन् । न्यालम जिल्लाका डेपुटी सेक्रेटरी लावा छिरेनको टोली केही दिनअघि तातोपानी आएको थियो । १५ सदस्यीय टोलीसँग भोटेकोसीले स्थानीय पार्टी सञ्चालनसम्बन्धी छलफल गरेको जनाएको छ ।