१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रोहितराज पराजुली कास्की
२०७६ पौष २३ बुधबार २१:३६:००
Read Time : > 1 मिनेट
समाचार

गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु

Read Time : > 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७६ पौष २३ बुधबार २१:३६:००

गण्डकी प्रदेश सभाकोे हिउँदे अधिवेशन बुधबारबाट सुरु भएको छ । वर्खे अघिवेशन सकिएको ९९ दिनपछि हिउँदे अघिवेशन सुरु भएको हो । यसअघि १४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले २३ पुसदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको थियो । 

गण्डकी प्रदेश सभाको यसअघि दुई वटा हिउँदे र दुई वर्खे अधिवेशन सम्पन्न भइसकेको छ भने विभिन्न ३० वटा विधेयक पारित भएका छन् । वर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदे अधिवेशनलाई कानुन तथा नीति नियम बनाउने अधिवेशनका रूपमा लिने गरिन्छ । सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन आह्वान र विधेयक प्रमाणीकरण सम्बन्धी प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाएसँगै सुरु भएको अधिवेशनमा सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले आ–आफ्नो भनाइ राखेका थिए । दलका नेताहरूको भनाइपछि बैठकमा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदन समितिका सभापति मोहन रेग्मीले प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतसँग देखिएको सीमा विवाद समाधानका लागि सबै एकजुट हुनुपर्ने भन्दै विवाद समाधानका लागि नेपाल सरकारले काम गरिरहेको बताए । कुटनीतिक तहबाट समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालतसम्म जानुपर्ने उनको भनाइ थियो । संघीयताको मर्म र भावनासँगै जनताको अपेक्षा आर्थिक समृद्धि र विकासको चाहना पूरा गर्ने काममा प्रदेश सरकार लागेको उनले बताए । प्रदेश सरकारले आवश्यक ऐन र कानुन निर्माण गरिरहेकाले अब सरकारको काम तीब्र गतिमा अघि बढ्ने उनको भनाइ छ । 

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले वर्तमान सरकार दुई तिहाईको भएपनि इतिहासकै कमजोर सरकारका रूपमा रहेको भन्दै सरकार राष्ट्रियताको सवालमा स्पष्ट भएर प्रस्तुत हुन नसकेको आरोप लगाए । जनताका अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले प्रदेश सरकार गठन भएको दुई वर्ष हुन लाग्दासमेत जनताले अनुभूत गर्ने गरी केही काम हुन नसकेको बताए । समाजवादी पार्टीका हरिशरण आचार्यले प्रदेशको समृद्धिका लागि सामूहिक संकल्प आवश्यक रहेको भन्दै प्रदेशको विकास र समृद्धिका लागि सबै दल एकठाउँमा उभिनु आवश्यक रहेको बताए ।