मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २३ बुधबार १४:५५:००
Read Time : > 1 मिनेट
अर्थ

मनाङमा १२ करोड बढिको स्याउ फल्यो 

Read Time : > 1 मिनेट
२०७६ पौष २३ बुधबार १४:५५:००

चालु आर्थिक बर्षमा हिमालपारीको जिल्ला मनाङमा १२ करोड ६० लाख बराबरको स्याउ उत्पादन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अनुसार ४ गाउँपालिका रहेको मनाङमा २ सय ४० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिंदै आएको छ । जसमध्ये ९६ हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन हुँदै आएको परियोजना अन्तर्गत कार्यान्वयन इकाई (स्याउ जोन) मनाङका प्रमुख सम्भुप्रसाद देवले जानकारी दिए । 

जिल्लाको प्रमुख नगदेबालीको रुपमा लिइएको स्याउ सदरमुकाम चामेसँगै ताचै, पिसाङ, भ्राताङ, थान्चोक, दानाक्यु, तिल्चे, हुम्डे, मनाङ लगायतका दर्जनौं स्थानमा ठूलो परिमाणमा स्याउ उत्पादन हुदै आएको छ । यसबर्ष ९६ हेक्टर जमिनमा १ हजार ५० मेट्रिकटन स्याउ उत्पादन भएकोमा मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा रहेको एग्रो मनाङ प्रालिले मात्रै ४ सय ५० मेट्रिक टन स्याउ उत्पादन गरेको छ ।

अघिल्लो वर्ष मनाङमा ९२ हेक्टर क्षेत्रफलमा ९ सय १६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । त्यस्तै आव ०७३÷७४ मा ८७ हेक्टर क्षेत्रफलमा ८ सय २५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आव ०७२÷७३ मा ७८ हेक्टर क्षेत्रफलमा ६ सय ६५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

उत्पादित स्याउ मध्ये करिब २ सय मेट्रिकटन जिल्लाबाट नै विक्री हुन्छ भने बाँकी स्याउ जिल्ला बाहिर काठमाण्डौ र बेसीशहरमा निर्यात गरिने गरेको परियोजनाका अधिकृत देवले बताए । जिल्लालाई सडक संञ्जालले जोडेपछि स्याउबाट किसानले राम्रो आम्दानी गर्न थालेका छन् । 

जिल्लामा विशेष गरी हाइडेन्सीटी प्रविधिका गोल्डेन डेलिसियस, गाला, फुजी र रेड तथा रोयल डेलिसियस नामक स्याउको खेती हुने गरेको छ । मनाङमा उत्पादित स्याउ सामान्यतया प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्रि हुने गरेको मनाङका स्याउ किसान पदम गुरुङ बताउँछन् । 

स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीशहर र काठमाण्डौमा कोल्ड स्टोर्स अर्थात चिस्यान केन्द्र समेत निर्माण गरिएको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए ।