मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २३ बुधबार ०९:०९:००
Read Time : > 2 मिनेट
सेयर बजार

सेयरमा एकैदिन १६.०९ अंकको वृद्धि सात महिनापछि अर्बको कारोबार

Read Time : > 2 मिनेट
२०७६ पौष २३ बुधबार ०९:०९:००

सेयर बजार आइतबार १६ दशमलव ०९ अंक, सोमबार १८ दशमलव २६ अंक र मंगलबार १६ दशमलव २३ अंक बढ्दा तीन दिनमा परिसूचक ५० अंकभन्दा माथि बढेको छ । मंगलबार १६ दशमलव २३ अंक बढेर परिसूचक १ हजार २ सय १६ दशमलव ९२ बिन्दुमा पुगेको हो । सेयर बजारमा सात महिनापछि १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएकाले बजार अझै बढ्ने अनुमान लगानीकर्ताले गरेका छन् । 

हाल सेयर बजार बढ्नुको मुख्य कारण बैंकहरूको ब्याजदर घट्नु हो । बैंकहरूको ब्याजदर बढेका वेलामा निक्षेमा लगानी गरी ब्याज खाने र घटेको वेला सेयर बजारमा लगानी गरी नाफा कमाउने कार्य लगानीकर्ताले गर्दै आएका छन् । गत विगत वर्षहरूमा पुस मसान्तमा जहिले पनि बजार घट्ने गरेको पाइन्थ्यो । तर, यस वर्षको पुसमा बजार बढेको छ । यतिवेला लगानीकर्तासँग कम्पनीहरूले वितरण गरेको नगद लाभांश रकम भएकाले पनि पुस मसान्तको किस्ता तिर्न गाह्रो नपरेको लगानीकर्ता बताउँछन् । पुस मसान्तको प्रभाव बजार नदेखिने हुँदा बजार अझै बढ्ने अनुमान लगानीकर्ताको छ ।

यस दिन बैकिङ, विकिास बैंक, जलविद्युत् र लघुवित्त समूहको परिसूचकभन्दा बढीले बढेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ४ दशमलव १३ अंक बढेर २ सय ६४ दशमलव ८१ बिन्दुमा पुगेकाले राम्रा कम्पनीको मूल्य बढेको बुझिन्छ । बजार पुँजीकरण १५ खर्ब ५१ अर्ब पुगेको छ । 

यस दिन कुल १ सय ७९ कम्पनीका सेयर किनबेच भएकामा १ सय ३७ वटाको मूल्य बढेको छ भने ३२ वटाको मात्र घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात ४ दशमलव २८ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ७९ दशमलव ३४ स्केलमा नेप्से छ । ओभरबटमा रहेको यस आरएसआईले बजारमा खरिद चाप बढेको संकेत गर्छ ।
 
पिभट र मैनबत्ती विश्लेषणअनुसार बुधबार बजार बढ्ने

मंगलबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ११ दशमलव ९१ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार २ सय १६ दशमलव ९२ छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु माथि रहेकाले बुधबार परिसूचक बढ्ने संकेत गर्छ, तर लगानीकर्ताले यस दिन बढेको बजारबाट नाफा बुक गर्न लागे भने घट्न पनि सक्छ । मंगलबारको बन्द बिन्दुबाट घटेमा १ हजार २ सय ५ दशमलव ६७ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार २ सय २३ दशमलव १६ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । सोमबारको कारोबारबाट सेतो मुडुल्लो मैनबत्ती बनेको थियो । जसले मंगलबार बजार बढ्ने संकेत गरेअनुसार बजार बढेको छ । मंगलबारको कारोबारबाट सेतो मारोबोजु आकृति भएको मैनबत्ती बनेको छ । यसले बुधबार बजार बढ्ने संकेत गर्छ । 

माछापुच्छ्रे बैंकको उच्च कारोबार, चार कम्पनीको मूल्यमा सर्किट

मंगलबार माछापुच्छ्रे बैंकको सर्वाधिक १९ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन कारोबार रकम अग्रस्थानमा हुने १० कम्पनीमा सात वाणिज्य बैंक परेका छन् । एनआइसी एसिया बैंक, प्रभु बैंक, एनसिसी, एनएमबि, सिद्धार्थ, र सानिमा बैंक रहेका छन् । वाणिज्य बैंकहरूको सेयरमा खरिदकर्ता बढेपछि कारोबार रकम १ अर्ब १० करोडभन्दा बढी पुगेको हो । यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सिभिल लघुवित्तको १० प्रतिशत, वोमीको ९ दशमलव ९७, सेन्ट्रल फाइनान्सको ९ दशमलव ७५ र सबैको लघुवित्तको ९ दशमलव ४९ प्रतिशत बढेर सर्किट लागेको छ । बोटलर्स नेपाल, नेपाल फाइनान्सको सेयर मूल्य अरूभन्दा बढी प्रतिशतले घटेको छ । 

नेप्सेमा १ करोड ८४ लाखभन्दा बढी सेयर थपियो
नेप्सेमा १ करोड ८४ लाख ७२ हजार ९८ दशमलव ६३ कित्ता सेयर थप भएको छ । ६ कम्पनीको बोनस तथा मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २ सय २० दशमलव २५ कित्ता हकप्रद सेयर सूचीकृत भएपछि सेयर थपिएको हो । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ लाख ६३ हजार ४ सय ६९ दशमलव ४६, नाडेपको ४ लाख ८० हजार र छिमेक लघुवित्तको १ लाख कित्ता बोनस सूचीकृत भएको हो । 

साथै, अपि पावरको ५ लाख ६७ हजार, ग्लोबल आइएमई बैंकको १ करोड ३३ लाख ६ हजार ५ सय ५७ दशमलव ७९ र नेसनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८ सय ६० दशमलव १३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

 हकप्रद जारीका लागि सिभिल लघुवित्तको निवेदन बोर्डमा
सिभिल लघुवित्त वित्तीय संस्थाले शतप्रतिशत ( १ः१) को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धक सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीले बोर्डबाट अनुमति पाएपछि निष्कासन गर्नेछ ।