मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २३ बुधबार ०६:०८:००
Read Time : < 1 मिनेट
खेलकुद

सुसनको ह्याट्रिक विकेट

Read Time : < 1 मिनेट
२०७६ पौष २३ बुधबार ०६:०८:००

सुसन भारीले ह्याट्रिकसहित सात विकेट लिएको खेलमा जित हात पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले मंगलबार भएको खेलमा इनरुवाको स्थानीय टोलीलाई १० विकेटको भारी अन्तरले पराजित गर्‍यो ।

इनरुवा क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको स्थानीय टोली सुसनको बलिङसामु ध्वस्त बन्यो । इनरुवा १९.३ ओभरमा मात्रै ५६ रनमा समेटियो । सुसनले आफ्नो पहिलो ओभरको बलिङमै (पाँचौँ ओभरको तेस्रो र चौथो बलमा) इनरुवाका दुई खेलाडी रवि रोय (२) र विवेक मेहेता (०) लाई लगातार आउट गराएका थिए ।

यसपटक ह्याट्रिक विकेटको नजिक पुगेर पनि उनी चुके । यद्यपि, आफ्नो दोस्रो ओभरको बलिङमा भने सुसनले अवसर खेर फालेनन् । सातौँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः इनरुवाका सुशान्त तिमिल्सिना (१५), अल्फाज मन्सुरी (०) र सरोज बस्नेत (०) लाई सिकार बनाउँदै सुसनले ह्याट्रिक विकेट लिए । 

इनरुवाका शीर्ष आठमध्ये सात खेलाडी सुुसनकै बलिङमा आउट हुन पुगे । ८.३ ओभर बलिङ गरेका उनले तीन मेडन निकाल्दै १६ रन मात्रै खर्चिए । जवाफमा ब्याटिङका लागि आएको आर्मीले मात्रै ५ ओभरमा विनाक्षति जित भेट्टाएको थियो । आर्मीको जितमा प्रारम्भिक ब्याट्सम्यान कुशल मल्लले १९ बलमा अविजित ३५ रन र हरिकृष्ण झाले ११ मा अविजित २० रनको योगदान दिए ।