मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २३ बुधबार ०७:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

कञ्चनपुरमा ११ बिओपी पोस्ट स्थापना गरिने

Read Time : < 1 मिनेट
२०७६ पौष २३ बुधबार ०७:०३:००

भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीले बेलडाँडी गाउँपालिका–५ झिलमिलामा बिओपी स्थापना गरेको हो । एक साता अघिदेखि बेलडाँडीमा बिओपी सञ्चालनमा आएको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरबहादुर साहूले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि सीमा बिओपी पोस्ट थप गरिएको बताए । बेलडाँडीमा भवन निर्माण नहुन्जेलसम्म सामुदायिक सिकाइ केन्द्रको भवनमा सशस्त्र प्रहरीलाई राखिएको छ । 

कञ्चनपुरको बेलडाँडीसहित पुनर्वास नगरपालिकाका दुई, बेलौरीका दुई, महाकाली नगरपालिकामा दुई र भीमदत्त नगरपालिकाको एक ठाउँमा थप बिओपी स्थापना गरिने साहूले बताए ।  साहूका अनुसार कुल १२९.५ किलोमिटर दूरीमा जिल्लाबाट सिफारिस भएका बिओपी स्थापना हुनेछन् । जिल्लामा ११ स्थानमा बिओपी स्थापना हुने उनले बताए । एक बिओपीलाई १० दशमलव ७९ किलोमिटर दूरी सीमा क्षेत्र हेर्ने जिम्मेवारी छ । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक क्षेत्रीका अनुसार यसअघि नेपालसँग सीमा जोडिएका चीन र भारतका सीमा क्षेत्रका एक सय सात स्थानमा बिओपी स्थापना भइसकेको छ । हालै मन्त्रिपरिषद्ले भारत र चीनको सीमा क्षेत्रमा थप एक सय १२ बिओपी पोस्ट स्थापना गर्ने निर्णय गरेको छ । 

 भारतीय ज्यादती अन्त्य हुने विश्वास
बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापाले सीमा क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना हुँदा भारतीय पक्षबाट सीमा मिच्ने प्रवृत्तिको अन्त्य हुने विश्वास व्यक्त गरे । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय पक्षबाट विभिन्न ढंगले थिचोमिचो हुँदै आएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले सुरक्षाको प्रत्याभूति बढेको स्थानीय लालबहादुर रावतले बताए । ‘भारतीयको डरले राति निद्रा लाग्दैन्थ्यो,’ उनले भने, ‘अब सशस्त्र प्रहरी सीमामा आयो, हामी ढुक्कले सुत्न सक्ने भएका छौँ ।’