मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष २२ मंगलबार ११:४७:००
Read Time : > 1 मिनेट
नयाँCity

रंगमञ्चको पर्दा उघार्दै बिर्तामोड

Read Time : > 1 मिनेट
२०७६ पौष २२ मंगलबार ११:४७:००

झापाको बिर्तामोड प्रदेश १ को एक मुख्य व्यापारिक हब हो । अहिले यो सहरले रंगमञ्चको एक मुख्य केन्द्रका रूपमा अर्को परिचय पनि थप्दै छ । स्थानीय क्षितिज नाट्य समूहको सक्रियतामा निर्माणाधीन नाटकघर र संग्रहालयले रंगमञ्चको छवि उघार्न खोजेका छन् । बिर्तामोड–१ मा बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक संग्रहालय तथा झापा नाटकघरका लागि साढे तीन कठ्ठा जग्गा समूहको नाममा दर्ता भएको छ ।

‘नाटकघरको जगमा पिलर खडा भइसकेका छन्,’ समूहका अध्यक्ष माधव कल्पित भन्छन्, ‘संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणाधीन छ ।’ ११ असार ०७६ मा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईंले नाटकघरको शिलान्यास गरेका थिए । त्यसलगत्तै झापाका ४० वटा बैंक तथा वित्तीय संस्थाका प्रबन्धकले आफैँ उपस्थित भएर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । जिल्लाका अन्य संघसंस्थाले पनि समूहलाई सकेको सहयोग गर्ने वचन दिएका छन् । ‘बैंक म्यानेजर र कर्मचारीले प्रतिकार्यालय ५१ हजार रुपैयाँ र प्रतिव्यक्ति ‘एक इँटा’ सहयोगको प्रतिवद्धता जनाउनु भएको छ,’ कल्पित भन्छन् ।

समूहले नाटकघर र संग्रहालय निर्माणका लागि जिल्लाभर ‘एक घर एक इँटा’ अभियान सञ्चालन गरेको छ । ‘घटीमा एक इँटा र बढीमा ५१ हजार’ नाम दिइएको अभियानबाट हालसम्म करिब १५ लाख रुपैयाँ जुटेको छ । दुवै संरचनामा जिल्लावासीलाई अपनत्व महसुस गराउने उद्देश्य रहेको कल्पित बताउँछन् ।

गत वर्ष प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले १५ लाख, झापा–२ की सांसद पवित्रा निरौला खरेलले १५ लाख, प्रदेश सांसद एकराज कार्कीले १० लाख र नगरपालिकाले १० लाख रुपैयाँ सहयोग दिइसकेका छन् । झापामा बसोवास गर्ने धिमाल, कोचे, मेचे, थारू, लिम्बू, ताजपुरिया, सन्थाल, किसान, सतार, कुमाल, झाँगड, राजवंशीलगायत २६ जातजातिको भेषभुषा र सांस्कृतिक पहिचानसँग जोडिएका वस्तु संग्रहालयमा सजाइनेछ ।

८० फुट लम्बाइ र ७० फुट चौडाइमा कलाकार आवास गृह, कार्यालय, महिला र पुरुष कलाकारका लागि छुट्टाछुट्टै ड्रेस चेन्जिङ रुम, अतिथि गृह, पे्रक्षालय र ग्रिन रुमसहित ३५० सिट क्षमताको एकतले नाटकघर निर्माणाधीन छ । यसको लागत एक करोड २४ लाख रुपैयाँ अनुमान गरिएको छ । यस्तै, ४० करोडमा निर्माण हुन लागेको एक सय ५४ फुट लम्बाइ र ९४ फुट चौडाइको साततले संग्रहालय निर्माण हुनेछ ।

‘हाम्रा सन्तानलाई ढिकी, जाँतोलगायत सामानबारे जानकारी छैन,’ कल्पित भन्छन्, ‘मकैको झुत्तो र धानको भकारीबारे पनि उनीहरू अनभिज्ञ छन्, कमेरो र रातो माटो बुझ्दैनन्, हलो–जुवा चिन्दैनन् ।’ संग्रहालयमा ती सबै सामान राखिने उनी बताउँछन् । संग्रहालयमा समेटिएका सबै जातजातिका सांस्कृतिक नाटक प्रस्तुत गरिने उनको भनाइ छ । उनी भन्छन्, ‘पिछडिएका जातजातिलाई उत्साहित गराएर कलाकारितामा सहभागी गराउने हाम्रो लक्ष्य हो ।’ ०५८ सालमा स्थापित समूहसँग प्रदेश १ का १८ वटा शाखामा बालबालिका, युवा, पाका र वृद्धवृद्धासहित पाँच सय ५२ जना कलाकार सम्पर्कमा छन् ।