Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा
२०७६ पौष २२ मंगलबार ११:३९:००
Read Time : > 2 मिनेट
नयाँCity

प्रथम गभर्नरको गल्फ र पेन्टिङ सोख

Read Time : > 2 मिनेट
२०७६ पौष २२ मंगलबार ११:३९:००

९२ वर्षको उमेरमा पनि युवाजस्तै जोसिला र हँसिला देखिन्छन्, हिमालयशमशेर राणा । अहिलेसम्म लठ्ठी टेकेर हिँड्नुपरेको छैन, उनलाई । बिहान पाँच बजे उठ्छन् र घरमै शारीरिक अभ्यास गर्छन् । गोकर्ण गल्फ क्लबमा भेटिने कति साथी बितिसके, कतिपय बिरामी र बुढेसकालले थलिएका छन् । यो उमेरमा पनि उनी भने तन्दुरुस्त छन् । गोकर्ण पुग्ने सडक राम्रो भइदिएको भए उनी अहिले पनि गल्फ खेलिरहेका हुन्थे ।

उनले गोकर्ण गल्फ क्लबमा दुई दशकभन्दा बढी गल्फ खेले । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल गल्फ कोर्स पनि उनी पुगिरहने गन्तव्य थियो । तर, नेपाल गल्फ कोर्सबाहिर चल्ने सवारीसाधनले वातावरण प्रदूषित बनाइदिन्छन् । गाडीको आवाज पनि आउँछ । ‘गोकर्णमा वरिपरि हरियाली छ, सफा हावा बहन्छ, यो गल्फ कोर्स बडो चित्ताकर्षक छ,’ उनी भन्छन्, ‘त्यहीँ जाने बाटो साह्रै बिग्रियो ।’ उनलाई गल्फ खेल्न नपाउँदा न्यास्रो लाग्छ । भन्छन्, ‘गल्फ खेल्दा साथीहरूसँग भेट हुन्थ्यो, समय बितेको पत्तो हुँदैनथ्यो ।’

००७ सालको परिवर्तनपछि संयुक्त सरकार बन्यो । अर्थमन्त्री बने, सुवर्णशमशेर । अर्थशास्त्रमा स्नातकोत्तर गरेका हिमालयशमशेरलाई सुवर्णशमशेरले अर्थसचिव बनाए । ०१३ सालमा नेपाल राष्ट्र बैंक खुल्यो । उनी पहिलो गभर्नर बने । पहिलो नेपाली नोटमा उनकै हस्ताक्षर छ । १ पुस ०१७ को राजा महेन्द्रको ‘कु’लगत्तै उनी पनि गभर्नरबाट फालिए । त्यसपछि संयुक्त राष्ट्रसंघको जागिरे बनेर अमेरिका पुगे । राष्ट्रसंघको जागिरे छँदा धेरै मुलुक घुम्ने अवसर पाए । उनी भन्छन्, ‘म संसारै घुमेको छु, युएनको अफिस भएका सबैजसो मुलुक पुगेको छु ।’

बेलायत, फ्रान्स, स्विजरल्यान्ड, अस्ट्रिया, रुस, ट्युनिसिया, केन्या, तान्जानिया, दक्षिण अफ्रिका, इन्डोनेसिया, कम्बोडियालगायत मुलुक घुमेको सम्झना उनको दिमागमा ताजै छ । उनले आफ्नै देश भने त्यति घुमेका रहेनछन् । अर्थसचिव र गभर्नर हुँदा काममै व्यस्त रहे । त्यतिवेला सडकको असुविधाका कारण नेपाल घुम्न सहज पनि थिएन । राष्ट्रसंघको जागिरे बन्दा विदेश घुम्दै बित्यो । स्वदेश फर्केपछि पनि हिमालयन बैंक स्थापना र सञ्चालनमै उनको समय बित्यो । पोखरालगायत केही सहर मात्र पुगेका छन्, अहिलेसम्म ।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणा गल्फका जति सौखिन हुन्, त्यति नै पेन्टिङ संकलनमा पनि रुचि राख्छन् । ९२ वर्षीय उनको बुढेसकालको सहारा बनेका छन्, पुस्तक । स्वदेशी÷विदेशी गीत–संगीतमा पनि उनको उत्तिकै रुचि छ ।

 

०००
थापाथली हाइटस्थित उनको घरभित्र पस्दा कुनै पेन्टिङ हाउस छिरेजस्तो लाग्छ । घरमा सजाइएका दर्जनौँ पेन्टिङले मन तान्छन् । कुनै पेन्टिङ बंगलादेशी त कुनै श्रीलंकाली कलाकारसँग लिएका हुन्, उनले । नेपाल, भारत, चीन, पाकिस्तान, बेलायतलगायत दर्जन मुलुकका कलाकारका पेन्टिङ संकलन गरेका छन् । तीमध्ये अधिकांश उनले खरिद गरेका हुन् भने कुनै उपहारमा पाएका हुन् ।

बैठककोठाको भित्तामा ठूलो पेन्टिङ देखिन्छ, जुन नेपाली कलाकार किरण मानन्धरकोे सिर्जना हो । अर्को कोठामा हिमालयशमशेरले गल्फ खेलिरहेको पेन्टिङ छ, जुन गोपाल चित्रकारले बनाएका हुन् । उनलाई कस्तो पेन्टिङ मन पर्छ त ? भन्छन्, ‘पेन्टिङ झट्ट हेर्दा आनन्ददायक हुनुपर्छ ।’ उनलाई सबैभन्दा बढी मन पर्ने नेपाली कलाकार किरण मानन्धर हुन् । उनका ज्वाइँ पृथ्वीबहादुर पाँडे पनि पेन्टिङका सौखिन हुन् । पाँडेले दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको मुख्यालय, आफ्नो घर र ठमेलस्थित छाया सेन्टरको अलफ्ट होटेलमा थुप्रै पेन्टिङ राखेका छन् । उनीसँग करोडौँ मूल्यका सयौँ पेन्टिङको संकलन छ ।

हिमालयशमशेरका छोरा अशोक राणा पुराना दुर्लभ तस्बिर संकलन गर्न रुचाउँछन् । उनी प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेको हिमालयन बैंकले १५ वर्षयता पुराना तस्बिर समेटेर आकर्षक क्यालेन्डर प्रकाशित गर्दै आएको छ । हिमालयन बैंकको स्थापना हिमालयशमशेर र उनका ज्वाइँ पृथ्वीबहादुर पाँडेले गरेका हुन् ।

हिमालयशमशेरलाई आफैँ पेन्टिङ गर्ने फुर्सद भने भएन । तर, उनकी छोरी संगीता राणाले बेलायतमा आर्ट पढिन् र अहिले सिद्धार्थ आर्ट ग्यालरी सञ्चालन गरिरहेकी छिन् । ‘नेपाली आर्टिस्टलाई उठाएकै सिद्धार्थ आर्ट ग्यालरीले हो,’ हिमालयशमशेर भन्छन् । संगीता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाकी बुहारी हुन् भने पूर्वउद्योगमन्त्री सुनीलबहादुर थापाकी पत्नी ।

०००
हिमालयशमशेरको बुढेसकालका साथी हुन्, किताब । उनी नेपाली र विदेशी दुवैखाले किताब पढ्छन् । भन्छन्, ‘नाम चलेका नेपाली किताब पढ्छु ।’ उनलाई पुस्तक कोसेली बोकेर भेट्न जाने लेखक र प्रकाशक धेरै हुन्छन् । उनलाई मन परेका किताबमध्येमा पर्छ, पत्रकार जगत नेपालको ‘बिपीको विद्रोह’ । गीत–संगीतमा पनि उनको विशेष रुचि छ ।

उनका बाबु पनि गीत–संगीतका सौखिन थिए, जसले शास्त्रीय संगीतमाथि पुस्तक नै लेखेका थिए । हिमालयशमशेरको लगाव पनि शास्त्रीय संगीतमै छ । चल्तीका अंग्रेजी र नेपाली गीत सुन्न छुटाउँदैनन् । उनलाई सबैभन्दा मन पर्ने गायक नारायणगोपाल हुन् । ‘उहाँका हरेक गीत मन पर्छ,’ उनी भन्छन्, ‘नयाँ पिँढीका गीत पनि राम्रा निस्किरहेका छन् ।’