२०७६ पौष २२ मंगलबार १०:४३:००
नयाँ पत्रिका, काठमाडौं

घट्दो ब्याजदरको प्रभाव देखिन थाल्यो  नेप्सेमा, चार महिनापछि १२ सय बिन्दुमा पुग्यो 

नयाँ पत्रिका, काठमाडौं
२०७६ पौष २२ मंगलबार १०:४३:००

आइतबार र सोमबार उच्च अंकले नेप्से बढेपछि चार महिनापछि परिसूचक १ हजार २ सय बिन्दुमा पुगेको छ । यस दिन ८४ करोड २५ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । यसले बजारमा लगानी बढेको बुझिन्छ । बैंकहरूको ब्याजदर क्रमशः घट्दै गएपछि निक्षेपमा लगानी गरेका व्यक्ति पुँजीबजारमा छिरेको लगानीकर्ता बताउँछन् । बजार न्यून बिन्दुमा आएको र बैंकको ब्याजदर घटेकाले सेयर बजारमा लगानी भित्रिएर बजार बढेको ब्रोकर एसोसिएनका अध्यक्ष भरत रानाभाटले बताए । बजारलाई नजिकबाट नियालेका र निक्षेपमा ब्याज कम आउन थालेपछि पुँजीबजारमा लगानी बढाएको उनको अनुमान छ । बजार बढ्दो प्रवृत्तिमा रहेकाले पनि सकारात्मक देखिएको र केही पुराना लगानीकर्ताले लगानी बढाएको ब्रोकर कृष्ण उपाध्यायले बताएका छन् । घटेको बजारमा बढ्दो अवस्था कुरेर बसेमा लगानीकर्ताहरू अहिले बजारमा आएको उनले बताए । अझै बजार केही समय बढ्ने उनको अनुमान छ । पुस मसान्त नजिकिँदै गर्दा त्यसको प्रभाव पनि देखिन सक्छ ।

भदौ १० गते १ हजार २ सय ८ बिन्दुमा बन्द भएपछि निरन्तर घटेको बजार १२ सय बिन्दुमा पुस २१ गते मात्र पुगेको छ । आइतबार र सोमबारको बढाइले परिसूचक १ हजार २ सय दशमलव ६९ बिन्दुमा पुग्न सफल भएको छ । आइतबार १६ दशमलव ०९ अंकले बढेको बजार सोमबार १८ दशमलव २६ अंकले बढेको छ । यस दिन बैंकिङ समूहको परिसूचक २ दशमलव ४६ प्रतिशत बढेपछि बजार बढ्न मद्दत पुगेको हो । त्यस्तै लघुवित्तको १ दशमलव ९७ र म्युचुअल फन्डको १ दशलमव ६५ प्रतिशतले परिसूचक बढेको छ । 

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स ४ दशमलव ९३ अंक बढेर २ सय ६० दशमलव ६७ बिन्दुमा पुगेकाले राम्रा कम्पनीको मूल्य बढेको बुझिन्छ । बजार पँुजीकरण गत दिनहरूमा १५ खर्बमुनि रहेको थियो । यस दिन १५ खर्ब ३० अर्ब पुगेको छ ।  

यस दिन कुल १ सय ७८ कम्पनीका सेयर किनबेचमा १ सय २४ वटाको मूल्य बढेको छ भने ३१ वटाको मात्र घटेको छ । २३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेको एडी (एड्भान्स डिक्लाइन) अनुपात ४ प्रतिशतका आधारमा हेर्दा यस दिन बजार बुलिस प्रवृत्तिमा देखिएको छ । १४ दिने आरएसआई इन्डेक्सको ७५ दशमलव ३६ स्केलमा नेप्से छ । ओभरबटमा रहेको यस आरएसआईले बजारमा खरिद चाप बढेको संकेत गर्छ । 

सोमबार नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ९४ दशमलव ९२ छ । यस दिनको बजार बन्द बिन्दु १ हजार २ सय दशमलव ७० छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु माथि रहेकाले मंगलबार परिसूचक बढ्ने संकेत गर्छ, तर लगानीकर्ताले यस दिन बढेको बजारबाट नाफा बुक गर्न लागे भने घट्न पनि सक्छ । 

सोमबारको बन्द बिन्दुबाट घटेमा १ हजार १ सय ८९ दशमलव १३ बिन्दुमा पहिलो टेवा पाउने र बढेमा १ हजार २ सय ६ दशमलव ४७ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । आइतबारको कारोबारबाट इंगल्फिङ बुलिस मैनबत्ती बनेको थियो । जसले सोमबार बजार बढ्ने संंकेत गरेअनुसार बढेको छ । सोमबारको कारोबारबाट सेतो मुडुल्लो मैनबत्ती बनेको छ । यसले मंगलबार बजार बढ्ने संकेत गर्दछ ।

कमसल कम्पनीका सेयर मूल्य घट्दै, बढ्नेमा आठ लघुवित्त
सोमबार बढेको बजारमा पनि ३१ कम्पनीका सेयर मूल्य घटेको छ । लगानीकर्तालाई नगद मात्र प्रस्ताव गरेको नेको इन्स्योरेन्सको सेयर मूल्य करिब ५ प्रतिशत घटेको छ । दोस्रोमा नेसनल हाइड्रोपावर, हिमालयन ऊर्जा विकास, नेपाल सेवा लघुवित्त, युनिभर्सल पावर, गुह्वेश्वरी मर्चेन्ट फाइनान्स कम्पनीहरूको मूल्य घटेको छ । 

बोनस तथा नगद प्रस्ताव गरेपछि वोमी लघुवित्तको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । दोस्रोमा एनएमबि माइक्रोफाइनान्स, महुली सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, सिभिल लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, स्वदेशी लघुवित्तको सेयर मूल्य बढ्ने १० कम्पनीमा परेका छन् । बैंकिङ समूहको परिसूचक बढेसँगै बैंकहरूको कारोबार रकम पनि बढेको छ । एनआइसी एसिया बैंकको ८ करोड ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएर अग्रस्थानमा परेको छ । दोस्रोमा ग्रामीण विकास बैंकको ३ करोड ९४ लाखबरारबरको सेयर कारोबार भएको छ । 

नेप्सेमा ३८ लाखभन्दा बढी सेयर थपियो
नेप्सेमा ३८ लाख ४६ हजार ६ सय ८० दशमलव ७१ कित्ता सेयर थप भएको छ । तीन कम्पनीको बोनस तथा मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २ सय २० दशमलव २५ कित्ता हकप्रद सेयर सूचीकृत भएपछि सेयर थपिएको हो । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ लाख ६३ हजार ४ सय ६९ दशमलव ४६, नाडेपको ४ लाख ८० हजार र छिमेक लघुवित्तको १ लाख कित्ता बोनस सूचीकृत भएको हो । सूचीकृत भएको सेयर सेयरधनीले दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्ने भएका छन् । 

नबिलको लाभांश मंगलबार पारित
नबिल बैंकको ३५औँ वार्षिक साधारणसभा पुस २२ गते मंगलबार हुने भएको छ । सभाले १२ प्रतिशत बोनस सेयर र प्रतिसेयर २२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सुरु हुनेछ । सभाले संस्थापकतर्फबाट सञ्चालक समितिको निर्वाचन गर्नेछ । बैंकको अधिकृत पुँजी ११ अर्ब रुपैयाँ र बोनसपछि चुक्ता पुँजी १० अर्ब ९ करोड पुग्नेछ । कम्पनीको सभामा पुस ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र भाग लिन पाउनेछन् ।