मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २२ मंगलबार १०:१४:००
Read Time : > 1 मिनेट
अर्थ

अर्थमन्त्री खतिवडा नदोहोरिने हल्ला चलाएर शेयर बजारमा चलखेल

Read Time : > 1 मिनेट
२०७६ पौष २२ मंगलबार १०:१४:००

बजारमा चलखेल 

पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पद सकिन लागेको र उनी नदोहोरिने हल्ला चलाएर बजारमा चलखेल गर्न थालिएको छ । यही हल्लाले दुई दिनमा नेप्से परिसूचक ३४ अंकले बढेको छ । आइतबार अन्तरदिनको कारोबारमा भने थप वृद्धि भएको थियो । 

अर्थमन्त्री खतिवडालाई देखाएर बजार घटबढ गरिएको यो नै पहिलोपटक भने होइन । यसअघि १२ साउन ०७३ मा नेप्से परिसूचकले हालसम्मकै उच्च बिन्दु १८८१ कायम गरेर घट्नेक्रममा रहेको थियो । उच्च बिन्दुमा पुगेको बजार घट्नु स्वाभाविक पनि थियो । उच्च बैंक ब्याजदर, बैंकहरूको चुक्ता पुँजी वृद्धिपछि बजारमा आपूर्ति बढेका कारण घट्नेक्रममा थियो । 

कात्तिक ०७४ मै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार बनेसँगै बजार बढ्ने दाबी गरे । तर, तत्कालीन एमाले र माओवादीको गठबन्धन बनेपछि बजार ओरालो लाग्न थाल्यो । ३ फागुन ०७४ मा दुईतिहाइ बहुमतसहितको स्थायी सरकार गठन भएपछि पनि बजार घट्न रोकिएन । १४ फागुन ०७४ मा अर्थमन्त्रीमा खतिवडा नियुक्ति भएको पाँच दिनमै ५४ अंकले घटेको थियो । 

मन्त्रीमण्डलमा परिवर्तन हुन लागेको र अर्थमन्त्रीका रूपमा खतिवडाले निरन्तरता नपाउने खबरले २५ कात्तिक ०७६ मा एकै दिन सेयर बजार १३ अंकसम्म बढेको थियो । तर, खतिवडा अर्थमन्त्रीमै निरन्तरता पाउने हल्ला त्यही वेला चल्यो र बजार पुनः ओरालो लाग्न थाल्यो । ४ मंसिरमा खतिवडालाई निरन्तरता दिँदै मन्त्रिपरिषद् पुनर्गठनपछि बजार पाँच दिनमै करिब २१ अंकले घट्यो । 

ठूला लगानीकर्ताले अर्थमन्त्रीलाई देखाएर च्याँखे दाउ थप्नेक्रममा हदैसम्म गरेका छन् । २० चैत ०७४ मा लगानीकर्ता संगठनका प्रतिनिधि र अर्थमन्त्रीबीच भएको अनौपचारिक छलफल नै बाहिर ल्याएरसमेत बजार घटाउनेसम्मको काम भएको थियो । सोलगत्तै सेयर बजार चार दिनमै १ सय १ अंकले घटेको थियो ।  यी सबै घटनाक्रममा सीमित र ठूला लगानीकर्ताले फाइदा लिइरहेका छन् भने नयाँ र साना लगानीकर्ता फस्ने गरेका छन् ।