मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७६ पौष २० आइतबार ०७:५९:००
Read Time : > 2 मिनेट
अर्थ

कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर विस्तार गर्दै टेलिकम

Read Time : > 2 मिनेट
काठमाडौं
२०७६ पौष २० आइतबार ०७:५९:००

ग्रामीण दूरसञ्चार विकास कोषमार्फत कार्य गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता 

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

डिजिटल नेपालका लागि सरकारले पहिचान गरेको आधार स्तम्भ निर्माण गर्ने र विभिन्न पूर्वाधारको सहप्रयोगका लागि यस आयोजनाले सहयोग गर्ने बताउँदै प्राधिकरणका अध्यक्ष खनालले जिम्मेवारीलाई कम्पनीले समयमै पूरा गर्ने अपेक्षा व्यक्त गरे । 

सो आयोजनाले सुदूरपश्चिम र कर्णालीजस्ता विकट र चुनौतीपूर्ण क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले तोकिएको समयमा गुणस्तरीय र मापदण्डअनुरूपको नेटवर्क उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । 

२० जिल्लामा नेटवर्क
सम्झौतामार्फत कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ । रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार गर्ने गरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लासहित बाँके र बर्दिया जिल्ला गरी २० जिल्लामा फाइबर नेटवर्क विस्तार हुनेछ । 

यस आयोजनाअन्तर्गत करिब २ हजार ४ सय किलोमिटरमा अन्डरग्राउन्ड, एडिएसएस फाइबर तथा डाइरेक्ट ब्यारिड केबल (डिबिसी) विस्तार गरिने बताइएको छ । साथै, विभिन्न डिडब्ल्युडिएम, राउटर तथा माइक्रोवेब सञ्चालन गरी नेटवर्क विस्तार गरिनेछ ।

मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग र हुलाकी राजमार्गमा नयाँ निर्माण गरिने अप्टिकल फाइबर नेटवर्क न्यूनतम ९६ कोरको हुनुका साथै जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः न्यूनतम ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिने टेलिकमले जनाएको छ ।

यो अप्टिकल फाइबर पूर्वाधारमार्फत निर्माण हुने सूचना महामार्ग डिजिटल नेपालको अवधारणा साकार पार्न महत्वपूर्ण मेरुदण्ड साबित हुने टेलिकमको विश्वास छ । 

तीन महिनामा बोलपत्र, सम्झौताको २ वर्षमा पूर्वाधार 
यस कार्यका लागि नेपाल टेलिकमले बोलपत्रबाट प्रतिस्पर्धा गराइ प्राप्त हुने रकममा अधिकतम ३ अर्ब ८१ लाखमा नबढ्ने गरी प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषबाट रकम प्रदान गर्नेछ । यस कार्यका लागि आह्वान गरिने सम्पूर्ण बोलपत्र तीन महिनाभित्र प्रकाशन हुनेछ भने नेपाल टेलिकमले ठेक्का सम्झौता गरेको २ वर्षभित्र आवश्यक हुने पूर्वाधार निर्माण गर्नेछ । 

नेपाल टेलिकमको फोरजी ब्यान्ड ३ र ब्यान्ड २० रेडियो तरंगमा 
नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराउँदै आएको छ । नेपालमा फोरजी सेवा दिइरहेका अन्य कम्पनीले १८०० मेगाहर्जको फ्रिक्वेन्सीमा मात्रै फोरजी सेवा दिइरहेका छन् ।

ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रमा फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन टेलिकमले यी दुवै ब्यान्डको फ्रिक्वेन्सी प्रयोग गरिरहेको जनाएको छ । हाल नेपालमा प्रयोगमा रहेका अधिकांश मोबाइल सेट १८०० मेगाहर्जमा मात्र चल्ने खालका छन् ।

८०० मेगाहर्जको फोरजी प्रयोग गर्न सकिने मोबाइल सेटको संख्या भने बजारमा सीमित मात्रै उपलब्ध छन् । टेलिकमले मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्ज ब्यान्डमा मात्रै फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

यस्तो अवस्थामा फोरजी सेवा सञ्चालनका लागि दुवै ब्यान्डमा सञ्चालन हुने सेट प्रयोग गर्नुपर्ने टेलिकमको भनाइ छ । टेलिकमले हाल देशभर फोरजी सेवा विस्तार गरिरहेको छ । निकट भविष्यमै भ्वाइस कलसमेत इन्टरनेटबाटै गर्न सकिने सेवासमेत सुरु गर्न लागेको कम्पनीले फोरजी १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग उपभोक्तालाई आग्रह गरेको छ ।

आगामी दिनमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको टेलिकमले जनाएको छ । योसँगै ग्राहकले फोरजी सेवा थप सहजताका साथ प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ । हाल टेलिकमले देशका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइरहेकोे छ हाल देशभर टेलिकमको फोरजी प्रयोगकर्ता २८ लाख पुगिसकेको कम्पनीले जनाएको छ ।