१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ पौष २० आइतबार ०७:५३:००
Read Time : > 2 मिनेट
समाचार

ओली–प्रचण्डको कार्यकक्षमा ताला

Read Time : > 2 मिनेट
२०७६ पौष २० आइतबार ०७:५३:००

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष ओली र प्रचण्ड पहिला धुम्बाराही र त्यसपछि पेरिसडाँडा गएर पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे । धुम्बाराहीमा प्रचण्डको कार्यकक्ष बनेको थिएन, त्यसैले प्रचण्डलाई ओलीकै कार्यकक्षमै कुर्सी राखियो । र, यस्तै अवस्था पेरिसडाँडामा पनि भयो । लगत्तै धुम्बाराही र पेरिसडाँडामा दुवै अध्यक्षका भिन्दाभिन्दै कार्यकक्ष बने । 

धुम्बाराहीको आ–आफ्ना कार्यकक्षमा वेलावेला ओली र प्रचण्ड जान्छन्, तर पेरिसडाँडामा ओलीको कार्यकक्ष बनेको साढे १९ महिना भयो ओली एकपटक पनि कार्यकक्ष पुगेका छैनन् । पार्टी एकतापछि प्रचण्ड तीन-चारपटक मात्र पेरिसडाँडाको कार्यकक्षमा पुगेका छन् । त्यसैले पेरिसडाँडामा रहेको ओली र प्रचण्डको कार्यकक्ष ताल्चा लगाएर राखिएको छ । मुसाले कुर्सी टेबुल र सोफा बिगार्यो कि भनेर कहिलेकाहीँ कोठा खोलेर कर्मचारीले हेर्छन् र सरसफाइ गरेर फेरि ताला लगाउँछन् । 

नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ । अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाहीँ पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गएपछि दोहोर्याएर पुगेका छैनन् । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याएको हुन्छ । पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको आफ्नो कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन् ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ, ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रूपमा अवलोकन गरेका थिए । त्यसवेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो । ओलीको कोठा मात्रै थियो । ओलीका लागि तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो । तर, कुर्सी, टेबुल बनेका थिएनन् । त्यस दिन ओली र प्रचण्ड दुवैले कार्यकक्ष हेरे । तर, दुवै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसे । 

दुवै ठाउँमा कार्यालय भएकाले एकतापछि पेरिसडाँडामा नेताहरूको कम उपस्थिति हुने गरेको तत्कालीन माओवादी पार्टी कार्यालयका मुख्य सचिव एवं नेकपा केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले बताए । ‘पार्टी कार्यालय अवलोकनका दिन अध्यक्ष, महासचिव, प्रवक्तालगायत नेताहरू आउनुभयो । आ–आफ्नो कार्यकक्षमा एकछिन बस्नुभयो । कोठा–कोठा हेर्नुभयो । पुस्तकालय अवलोकन गरेर जानुभयो,’ बुढाथोकीले भने, ‘अध्यक्ष ओली दोहोर्याएर आउनुभएको छैन । अध्यक्ष प्रचण्ड तीन–चार पटकभन्दा बढी आइसक्नुभयो ।’ महासचिव र प्रवक्ता भने प्रायः आउने गरेको उनले बताए । 

पार्टी एकता हुँदा दुवै केन्द्रीय कार्यालयमा दुवै अध्यक्षका कार्यकक्ष राख्ने निर्णय गरिएको थियो । त्यसैअनुसार, पेरिसडाँडामा ओली र प्रचण्डको कार्यकक्ष बन्यो । तर, आफ्नो कार्यकक्ष बनेको झन्डै २० महिना हुन लाग्दासमेत ओली एकपटक पनि पेरिसडाँडा गएका छैनन् । अहिले नेकपाले धुम्बाराहीलाई केन्द्रीय कार्यालय तथा पेरिसडाँडालाई केन्द्रीय विभाग र जनसंगठनहरूको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ । 

धुम्बाराहीस्थित कार्यालयमा अध्यक्षद्वय, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नौ सदस्यीय सचिवालयका सबै नेताको फरक–फरक कार्यकक्ष छ । धुम्बाराहीमा तेस्रो तल्लामा दायाँतिर प्रचण्ड र बायाँतिर ओलीको कार्यकक्ष छ भने बीचमा ‘वेटिङ’ कक्ष छ । दुवै अध्यक्षको कार्यकक्षबीच रहेको ‘वेटिङ’ कक्षमा नेकपाले सचिवालय बैठक गर्दै आएको छ । तर, पार्टी एकतायता प्रचण्डको अध्यक्षतामा तीनपटक धुम्बाराहीमा सचिवालयको बैठक बस्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने सहभागी भएका छैनन् । 

अध्यक्ष प्रचण्डले पनि निवासलाई नै भेटघाटमा प्रयोग गर्दै आएकाले बैठक र अत्यावश्यक काममा बाहेक धुम्बाराही केन्द्रीय कार्यालय धेरै कम पुग्छन् । ‘कार्यालयमा महासचिव मात्र नियमितजस्तै आउनुहुन्छ,’ धुम्बाराहीस्थित कार्यालय सचिव श्रीराम ढकालले भने, ‘अन्य सबै नेताहरू प्रायः व्यस्त भएर होला कमै आउनुहुन्छ । त्यसैले, अध्यक्षहरूको कार्यकक्ष पनि आएको वेला मात्र खोलिन्छ, अघिपछि ताल्चा लगाएरै बन्द गरिएको हुन्छ ।’ नेकपाले पार्टीका केन्द्रीय कार्यक्रम र बैठकहरू धुम्बाराही र जनवर्गीय संगठन विभागीय कार्यक्रमहरू पेरिसडाँडामा गर्दै आएको छ ।

पेरिसडाँडास्थित नेकपा कार्यालयको दोस्रो तलाको पश्चिमतिरका दुई अलग–अलग कोठालाई अध्यक्षको कार्यकक्ष बनाइएको छ । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षका सोफा, टेबुल, दराज, भित्तामा राखिएका माक्र्स, एंगेल्स, लेनिन र माओका तस्बिर एउटै राखिएको छ । तर, सोफा, टेबुल, दराजको रंग भने फरक छ, प्रचण्डको रातो र ओलीको कालो । अध्यक्ष ओली–प्रचण्डका अतिथि कुर्ने कोठामा रातो र खैरो रंगका सोफा राखिएका छन् । नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालको पेरिसडाँडामा कार्यकक्ष बनाइए पनि बाहिर नेमप्लेट राखिएको छैन । 

ओलीको कार्यतालिका डेढ वर्षदेखि अलपत्र

नेता–कार्यकर्ता र सांसदहरूले भेट्न मात्रै होइन, समस्या सुनाउनसमेत नपाएको भन्दै व्यापक आलोचना गरेपछि प्रधानमन्त्री ओलीले सचिवालयमार्फत सम्पर्कमा रहन, जनगुनासो सुन्नका लागि नियमित कार्यतालिका नै बनाए । १३ असार, ०७५ मा प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडा कार्यालय पुगेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म नेता–कार्यकर्ता भेट्ने कार्यतालिका नै सार्वजनिक गरे । 

त्यसपछि कार्यतालिकाअनुसार, उनी एकपटक धुम्बाराही पुगे । त्यसयताको डेढ वर्षमा भने कार्यतालिका लागू हुन सकेको छैन । ‘प्रधानमन्त्रीज्यू व्यस्त बन्नुभएकाले पनि कार्यतालिकाअनुसार, भेटघाट हुन सकेन,’ प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस संयोजक चेतन अधिकारीले भने ।