१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ पौष १९ शनिबार २०:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल हुँदै सुन तस्करीमा भारतीय गिरोह सक्रिय, विमानस्थलमा झुक्याउन सुनमा रसायनको प्रयोग 

Read Time : > 1 मिनेट
२०७६ पौष १९ शनिबार २०:०२:००

 भारतीय समूहले खाडीबाट नेपाल हुँदै नयाँ शैलीमा सुन तस्करी गर्न थालेको छ । सुरक्षा जाँच छल्न सुनलाई बेसारको धुलोजस्तो बनाउनेदेखि मेसिनले पत्ता नलगाउने रसायन प्रयोग गरेर सुन तस्करी भएको हो ।

बिहीबार र शुक्रबार प्रहरीले चार भारतीयलाई तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शुक्रबार दुबईबाट आएका सुरेशलाल र गोपीचन्द्र नवीनलाई दुई किलो सुनसहित प्रहरीले पक्राउ गरेको हो । ६ वटा क्याप्सुलजस्तो बनाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए । मलद्वारमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए ।
 
बिहीबार एक किलो सुनसहित प्रहरीले दुबईबाट नेपाल एयरलाइन्स हुँदै आएका मोहम्मद कासिफ र इन्डिगो एयरलाइन्समार्फत आएका मोहम्मद मुसाफिनलाई पक्राउ गरेको  थियो । उनीहरूबाट अर्धठोस बनाएर ल्याइएको सुन प्रहरीले बरामद गरेको छ । उनीहरूले अन्डरवेयरभित्र प्याडमा सुन लुकाएका थिए । भन्सार चेकजाँचका क्रममा उनीहरूसँग सुन भेटिएको थिएन । महानगरीय अपराध महाशाखाबाट विमानस्थलमा खटिएको टोलीले शंका लागेर नियन्त्रणमा लिई खानतलासी गर्दा सुन भेटिएको हो । उनीहरूबाट बरामद सुन बेसारको धुलोजस्तो छ । मेसिनले सुन पत्ता नलगाउने गरी उनीहरूले केमिकलसमेत प्रयोग गरेको खुलेको छ । 

विदेशबाट आउने सबै यात्रुको झोला मात्र होइन, शरीर पनि विमानस्थलमा चेकजाँच हुन्छ । वाक थ्रु गेट तथा मेटर डिटेक्टरमार्फत भन्सार कार्यालयले चेकजाँच गर्छ । सुन, लागुऔषधजस्ता वस्तु मेसिनले पत्ता लगाउँछ । तर, बिहीबार पक्राउ परेका दुई भारतीयले लुकाएको सुन मेसिनले देखाएन किनभने उनीहरूले सुनमा मेसिनले पत्ता नलगाउने रसायन प्रयोग गरेका थिए । सुन तस्करीमा यस्तो शैली निकै जोखिमपूर्ण भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

गत मंगलबार र २९ मंसिरमा पक्राउ परेका भारतीय तस्करले भने अर्धठोस बनाएर यस्तै शैलीमा सुन ल्याएका थिए । उनीहरूलाई पनि भन्सार चेकजाँच कटिसकेपछि मात्रै प्रहरीले पक्राउ गरेको थियो । मंगलबार आधा किलो सुनसहित दुबईबाट आएका उमाशंकर थानी पक्राउ परेका थिए । उनले मलद्वारमा लुकाएर सुन ल्याएका थिए । २९ मंसिरमा प्रहरीको विशेष ब्युरोले पक्राउ गरेका मोहम्मद जिसनले पनि मलद्वारमै लुकाएर अर्धठोस सुन तस्करी गरेका थिए । उनले नेपालको रुट पटक–पटक प्रयोग गरेको खुलेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चारजनाले तस्करीको सुन भारतमै लैजान नेपाललाई ट्रान्जिट बनाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । भारतभन्दा नेपालको विमानस्थलमा चेकजाँच प्रणाली कमजोर आकलन गरेर ट्रान्जिट बनाएको हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । 

विमानस्थलबाट सीधै नाकामा 

भारतीयहरू काठामाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा झरेपछि सीधै सीमा क्षेत्रका सहरहरू नेपालगन्ज र धनगढी जाने गर्छन् । पहिले नै उनीहरूको टिकट तय गरिन्छ । गाडीमार्फत जाँदा ढिला हुने र जोखिमपूर्ण हुने भएकाले आन्तरिक उडानमार्फत सीमा क्षेत्रका सहरमा पुगेर भारत प्रवेश गर्छन् । नेपाल र भारतमा भन्दा दुबईमा सुन प्रतिकिलो पाँच लाखजति कम पर्ने भएकाले तस्करी हुने गरेको छ । पक्राउ परेकाहरूमाथि भन्सार कार्यालयले अनुसन्धान गर्ने भएकाले त्यसबारे आफूहरूले अनुसन्धान गर्न नसकेको प्रहरीले जनाएको छ । 

नेपालमा चिनियाँहरूले पनि ठूलो मात्रामा सुन तस्करी गर्दै आएका छन् । उनीहरूले पनि विमानस्थलका अधिकारीलाई झुक्याउन अनेक उपाय अपनाउने गरेका छन् । चिनियाँमाथि विशेष चेकजाँच हुन थालेपछि एक महिनायता तस्करी कम भएको छ । तर, भारतीय गिरोह सक्रिय भएपछि त्यसतर्फ प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । विमानस्थलबाट हुने सुन तस्करी रोक्न थप सतर्कता अपनाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले बताए ।