मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन बिष्ट कञ्चनपुर
२०७६ पौष १९ शनिबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार

भ्रमण वर्ष सफल पार्न अनुभव आदान–प्रदान

Read Time : < 1 मिनेट
मोहन बिष्ट कञ्चनपुर
२०७६ पौष १९ शनिबार १९:५१:००

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न कञ्चनपुरको वेदकोट नगरपालिकाले जनप्रतिनिधिसँग अनुभव आदान–प्रदान गरेको छ । ‘समृद्ध वेदकोट नगरको आधार, कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ नगरपालिकाले शनिबार जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग अनुभव आदान–प्रदान गरेको हो ।

नगरपालिकाले वेदकोट ताल क्षेत्रमा भ्रमण वर्ष सफल पार्न अनुभव आदान–प्रदान कार्यक्रम राखेर भ्रमण वर्षको तयारीबारे जानकारीसमेत गराएको छ । भ्रमण वर्ष सफल पार्न र जिल्लालाई नै पर्यटकीय गन्तव्य बनाउन वेदकोटले पहल सुरु गरेको मेयर अशोककुमार चन्दले बताए । ‘वेदकोटमै शिवलिंगेश्वर धाम, वेदकोट ताल, चुनेपानी, छिलछिले झरनालगायतका पर्यटकीय गन्तव्य छन्,’ मेयर चन्दले भने, ‘जिल्लाभरका पर्यटकीय गन्तव्यको एकीकृत रूपमा प्रचार–प्रसार गरिनु आवश्यक छ ।’ कार्यक्रममा जनप्रतिनिधिहरूले भ्रमण वर्ष सफल पार्न स्थानीय तहहरूबिच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

अनुभव आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपालले देशको समृद्धि पर्यटनबाटै हुने भन्दै छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । नेपालमा प्राकृतिक सुन्दरता अवलोकन गर्न चाहनेसँगै धार्मिक पर्यटक तथा संस्कृति र इतिहासमा रुचि राख्ने पर्यटकलाई पनि भित्र्याउन पहल गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा, बेलौरीका उपमेयर चित्रा चौधरी, पुनर्बासका मेयर जीवनराज थापा, कृष्णपुरका मेयर कर्ण हमाल, शुक्लाफाँटाका मेयर दिलबहादुर ऐर, भीमदत्तका उपमेयर सुशीला चन्द र महाकालीका उपमेयर चिनी गिरी सहभागी थिए । उनीहरूले आ–आफ्नो स्थानीय तहमा रहेका पर्यटकीय स्थल र आफ्नो तहले भ्रमण वर्ष सफल पार्न गरिरहेको कामका बारेमा जानकारी दिएका थिए ।