मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ पौष १९ शनिबार १८:३९:००
Read Time : > 1 मिनेट
समाचार

पहिलो महिला प्रहरी भन्छिन् : 'प्रहरीमा महिलालाई धेरै दुःख छ' 

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ पौष १९ शनिबार १८:३९:००

विस २०१२ सालमा ऐन जारी भएसँगै नेपाल प्रहरीको औपचारिक इतिहास सुरु भएको थियो । त्यसको चार वर्ष पहिले नै प्रहरीमा महिलाको भर्ना हुने व्यवस्था सुरु भइसकेको थियो ।

देशमा प्रजातन्त्र आएको एक वर्षपछि नेपाल प्रहरीमा महिलाको लागि भर्ना आह्वान गरिएको छ । तर, कसैले पनि भर्ना हुन चाहेनन् । त्यसपछि केही महिलाहरुलाई खेल्न भन्दै लगेर तालिम गराइ भर्ना गरिएको थियो । पुरुष प्रहरीको तुलनामा उच्च तलब दिएर भर्ना हुन प्रोत्साहिन गरियो । त्यसका लागि कांग्रेस नेतालगायत केही उच्च पदस्थ व्यक्तिहरुले नै केही महिलाहरुलाई कर गरेर प्रहरीमा भर्ना गराएका थिए । २००८ सालमा त्यसरी भर्ना भएका २५ महिला जवानमध्ये एक हुन्, चाबहिल गणेशस्थानकी ७६ वर्षीय चैतमाया डंगोल ।

‘त्यतिबेला प्रहरीको तलब मासिक तीन मोहोर थियो, हामीलाई ३० रुपैयाँ दिइएको थियो,’ ६८ वर्षअघि प्रहरी प्रवेशको स्मरण गर्दै उनी भन्छिन्, ‘महिलाहरु भर्ना हुन नमानेपछि धेरै तलब दिइएको थियो ।’ चार महिनाको तालिमपछि सुरुका वर्ष हनुमानढोकास्थित प्रहरी कार्यालयमा काम गरिन् उनले । पछि उपत्यका बाहिर पनि आफूहरुलाई पठाइएको उनले सुनाइन् ।

३१ वर्षे प्रहरी सेवामा उनका धेरै रमाइला-नरमाइला अनुभव छन् । त्यतिबेला कांग्रेस नेताहरुले नै कर गरेर आफू प्रहरीमा गएको र पछि कांग्रेस नेताहरुलाई नै पक्राउ गर्नु परेको उनी सम्झन्छिन् । महिलाहरुलाई प्रहरीमा धेरै दुःख रहेको उनको अनुभव छ ।

काम गर्नेहरुलाई अझै धेरै काममा लगाउने गरिएको उनको भनाइ छ । त्यही कारण २०३९ सालमा उनले राजीनामा दिएकी थिइन् । ‘प्रहरीमा आफ्नोलाई एउटा व्यवहार, टाढाकोलाई अर्काे व्यवहार हुन्छ,’ उनी भन्छन्, ‘यो चाहिँ साह्रो नराम्रो लाग्छ ।’ 
आफूलाई सरुवा बढुवामा अन्याय गरेकाले नै त्यतिबेला राजीनामा दिएको उनी बताउँछिन । संगठनभित्र सबैलाई समान व्यवहार भएमा मात्र प्रहरी सेवा रइमालो हुने उनको अनुभव छ । अहिले पनि उनलाई पहिलो महिला प्रहरीको रुपमा विभिन्न कार्यक्रममा बोलाउने गरिन्छ । शुक्रबार मात्र महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले उनलाई सम्मान गरे ।