मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ पौष १९ शनिबार ०८:२१:००
Read Time : > 1 मिनेट
अर्थ

११ खर्ब ८८ अर्बका १४ परियोजनाको ‘सर्ट लिस्ट’ तयार

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ पौष १९ शनिबार ०८:२१:००

१० अर्ब ५४ करोड लागत अनुमान गरिएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बल परियोजनाका लागि कोरियाली मोट्रेक्स कम्पनीसँग सम्झौतामा प्रारम्भिक हस्ताक्षर

लगानी बोर्डले ११ खर्ब ८८ अर्ब रुपैयाँबराबर लागत अनुमान गरिएका १४ परियोजनाका लगानीकर्ताको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गरेको छ । ०७५ चैतमा भएको लगानी सम्मेलनमा प्रस्तुत गरिएका ५० परियोजनामध्ये बोर्डले १४ परियोजनाको संक्षिप्त सूची तयार गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

तीमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट गरिसकिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

उनका अनुसार ६४ अर्ब ६१ करोड रुपैयाँ लागत अनुमान गरिएको नेपाल–चीनमैत्री औद्योगिक पार्क दमक परियोजना निर्माणको समझदारीसमेत भएको छ । त्यस्तै, १३ अर्ब रुपैयाँ कुल लागत अनुमान गरिएको विराटनगर, वीरगन्ज र भैरहवामा निर्माण हुने मल्टिमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययन गर्न २ वटा कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । १० अर्ब ५४ करोड लागत अनुमान गरिएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बल परियोजनाका लागि कोरियाली मोट्रेक्स कम्पनीसँग सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । 

बोर्ड कार्यालयले प्रस्ताव आह्वान नगरिएका थप १५ परियोजना निर्माणका लागि प्रस्ताव आएको जानकारी दिएको छ । तीमध्ये १० वटा परियोजना कार्यान्वयनमा लान अध्ययन भइसकेको सिइओ अधिकारीले बताए । सम्मेलनका क्रममा घोषणा भएका १६ वटा समझदारी कार्यान्वयनमा गइसकेको उनको भनाइ छ । 

अधिकारीका अनुसार बोर्डले हालसम्म करिब ५ खर्ब ६५ अर्ब रुपैयाँ कुल लागतका ९ परियोजना कार्यान्वयनमा सहजीकरण गरी अघि बढाइसकेको छ । यीमध्ये ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको बाँध, विद्युत्गृह, सुरुङजस्ता मुख्य संरचना निर्माणको काम करिब ३३ प्रतिशत पूरा भइसकेको छ । त्यस्तै, २०१८ बाट व्यावसायिक उत्पादन थालेको होङ्सी सिमेन्टले दोस्रो चरणको उत्पादन गर्ने तयारी गरेको छ ।

यसै वर्ष शिलान्यास गरिएको ह्वासिन सिमेन्ट उद्योगले सन् २०२० जुलाईभित्र उत्पादन थाल्ने बताएको छ । लगानी सम्मेलनअघि चैत ०७५ मा निर्माण भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनले कार्यक्षेत्र विस्तार गरेअनुसार बोर्डले काम गरिरहेको उनले बताए । उक्त ऐनको नयाँ व्यवस्थाअनुसार लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रमार्फत सहज सेवा दिइएको उनले जानकारी दिए ।