१ प्रतिशत बढ्यो नेप्से
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको छ । बजार खुलेदेखि सामान्य उतार–चढाव देखिएको बजारमा, कारोबारको अन्तिम समयमा भने तीव्र गतिमा उकालो लागेर बन्द भएको हो । नेप्से परिसूचक बढे पनि यस दिन कारोबार रकममा भने कमी आएको छ । महिनाको अन्तिम दिन भएका कारण एनएभी बढाउन म्युचुअल फन्डहरूले सेयर मूल्य बढाएर खरिद गरेको एक ब्रोकरले बताए । व्यक्तिगत लगानीकर्तासँगै संस्थागत लगानीकर्तालाई पनि मार्जिन कलको त्रास हुने भएकाले यस्तो गरिएको हुन सक्ने उनको भनाइ छ । सर्वसाधारण लगानीकर्ता भने माघदेखि बजार सुधारिने अपेक्षामा रहेका छन् ।
बजार सारांश
सोमबार नेप्से परिसूचक ११ दशमलव ७४ अंक बढेर १ हजार १ सय ८६ दशमलव ८० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव शून्य ८ अंक बढेर २ सय ५० दशमलव ४९ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १७ अंक बढेको छ । यस दिन १ सय ५८ कम्पनीको ३ हजार ३ सय ६८ पटकको कारोबारमा २६ करोड ३३ लाख ५१ हजार ५ सय ४ रुपैयाँबराबरको ७ लाख ९१ हजार ३ सय ४६ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : यस दिन नेप्सेले हरियो मारुबोजु मैनबत्ती बनाएको छ । यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्छ ।
आरएसआई: नेप्सेको आरएसआई यस दिन ५३ दशमलव ६७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।
एडी रेसिया : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ९१ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा, मंगलबार नेप्से ओरालो लागे १ हजार १ सय ७८ दशमलव ९६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ७१ दशमलव १३ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार बढे नेप्सेले १ हजार १ सय ९० दशमलव ७१ बिन्दुमा प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ९४ दशमलव ६३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।
३ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत बढ्यो
सोमबार कारोबारमा आएका ३ कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । यस दिन नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य करिब १० प्रतिशत बढेको हो । त्यसैगरी, गोर्खाज फाइनान्सको सेयर मूल्य यस दिन ८ प्रतिशत बढेको छ । बैंक अफ काठमाडौंको सेयर मूल्य भने यस दिन ५ दशमलव शून्य ५ प्रतिशत घटेको छ । मूल्य समायोजनका कारण यस वाणिज्य बैंकको सेयर मूल्य घटेको हो ।
सर्वाधिक कारोबारहुनेमा नेपाल बैंक
कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ७५ पटकको कारोबारमा ४ करोड ७२ लाख ७६ हजार रुपैयाँबराबरको १ लाख ५८ हजार ७ सय ४१ कित्ता सेयर खरिद–बिक्री भएको छ । सबैभन्दा धेरै कारोबार भए पनि यस वाणिज्य बैंकको सेयर मूल्य भने अघिल्लो दिनको तुलनामा १ प्रतिशत घटेर २ सय ९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
अपर तामाकोसीको कारोबार रद्द
यस दिन नेप्सेको प्राविधिक समस्याका कारण अपर तामाकोसीको सेयर मूल्य ५० प्रतिशत बढेको देखिएको छ । कुनै पनि कम्पनीको सेयर मूल्य दिनमा १० प्रतिशतभन्दा बढी बढ्न पाउँदैन । रेन्जभन्दा बाहिर गएर भएको कम्पनीको सम्पूर्ण कारोबार नेप्सेले रद्द गरेको छ । रद्द भएपछि सो कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा ११ रुपैयाँ बढेर २ सय ३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
वाणिज्यबाहेक सबै समूहको परिसूचक बढ्यो
सोमबार कारोबारमा आएको वाणिज्य बैंक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन जलविद्युत्् समूहको परिसूचक सर्वाधिक १४ दशमलव ८६ प्रतिशत बढेको छ । त्यसैगरी, अन्य समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, वित्त समूहको १ दशमलव १५ प्रतिशत, होटेल समूहको १ दशमलव १ प्रतिशत, लघुवित्त समूहको १ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ३४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३१ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक भने यस दिन शून्य दशमलव ११ प्रतिशत घटेको छ ।
पाँचथरको आइपिओ निष्कासन खुला
पाँचथर पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुस ३० देखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको तत्कालीन भारपा, यांगनाम र नांगिन गाविस हाल फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका बासिन्दाका निमित्त सो सेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ९ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको छ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार ६ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा माघ १४ गते हुनेछ भने ढिलोमा माघ २९ गते हुनेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई केयर नेपाल ‘केयर एनपी आइपिओ ग्रेड फोर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले कृषि विकास बैंक, सेञ्चुरी बैंक र गुडविल फाइनान्सका पाँचथर शाखा कार्यालय तथा कम्पनीको आयोजना कार्यालय, फिदिमबाट आवेदन दिन सक्नेछन् । यस योजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार ५ सय ५६ रुपैयाँ रहेको छ ।
चिलिमेको नगद लाभांश वितरण
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्ने भएको छ । पुस २७ गते सम्पन्न कम्पनीको बाइसौँ वार्षिक साधारणसभाले सो लाभांशको प्रस्ताव पारित गरेको थियो । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
मूल्य समायोजन
सोमबार नेप्सेले बैंक अफ काठमाडौं लिमिटेडको मूल्य समायोजन गरेको छ । नेप्से सो बैंकको १४ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य २ सय ८८ दशमलव ६० रुपैयाँ तोकेको छ । समायोजनका लागि बैंकको औसत आधार मूल्य ३ सय २८ दशमलव ३० रुपैयाँ तोकिएको थियो ।