१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष १८ शुक्रबार १३:५७:००
Read Time : > 1 मिनेट
समाचार

चिनियाँ राजदुतले भनिन्  : ‘टु प्लस वान’ भनेको त्रिदेशीय सहकार्य 

Read Time : > 1 मिनेट
२०७६ पौष १८ शुक्रबार १३:५७:००

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले साना देशहरुसँग ‘टु प्लस वान’का आधारमा सहकार्य गर्ने चीन र भारतको उच्चस्तरीय छलफल त्रिदेशीय सहकार्य मात्रै भएको बताएकी छन् । 

शुक्रबार चिनियाँ दुतावासमा पत्रकारहरुसँगको अन्तरक्रियामा राजदुत होउले एशिया क्षेत्रमा भारत र चीनबीच सहकार्य गर्ने अवधारणाका रुपमा टु प्लस वान अघि सारिएको बताइन् । 
उनले नेपालसँग टु प्लस वान भने पनि समान देशको हैसियतमा नेपालको पूर्वाधार, दुरसंचारलगायतका क्षेत्रमा त्रिदेशीय सहकार्य हुन सक्ने प्रष्टीकरण दिएकी छन् । 

‘चीन, भारत प्लस अवधारणा एशिया क्षेत्रमा आर्थिक विकासका लागि सहकार्य कसरी गर्ने भन्ने अवधारणा हो । एशियाका ठूला विकासशिल देश र अत्यन्त दु्रत आर्थिक बृद्धिदर हासिल गरेका भारत र चीन मिलेर सहकार्य गर्ने अवधारणा हो । यो चीन, भारत प्लस साना देश भनिएको होइन, त्रिदेशीय सहकार्य भनिएको हो’ राजदुत होउले भनिन् । यो भारत र चीन मिलेर साना देशलाई थिच्ने अवधारणा नभएको उनको संकेत थियो । 

चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले टु प्लस वानको अवधारणाबारे छलफल गरेको बताएका थिए । ओलीले टु प्लस वान होइन त्रिदेशीय सहकार्यमा नेपालको चासो रहेको उल्लेख गरेका थिए । ओलीलाई उनी राजकीय भ्रमणमा जाँदा दुई वर्षअघि पनि राष्ट्रपति सीले यो अवधारणा सुनाएका थिए । सी र मोदीबीच चीनको बुहान र भारतको चेन्नइमा यसबारे छलफल भएको थियो । राजदुत होउले चीन र भारतबीच समझदारी थप सुदृढ हुँदै गएको पनि बताइन् । 

अर्को प्रसंगमा चिनियाँ राजदुतले नेपालमा रहेका १२२ जना चिनियाँ नागरिकका बारेमा चिनियाँ र नेपाली अधिकारीहरुले अनुसन्धान गरिरहेको बताइन् । उनीहरुले चीनमा अपराध गरेको सूचना नेपाली सुरक्षा अधिकारीलाई दिइएको र त्यस आधारमा उनीहरु पक्राउ परेको पनि राजदुतको भनाई थियो । 

पत्रकारको प्रश्नमा राजदुत होउले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको परियोजना नेपाललाई फाइदा भए लिँदा फरक नपर्ने बताइन् । नेपाल चीन वा कुनै देश विशेषसँग मात्रै सीमित हुनुपर्ने धारणाको पक्षमा आफू नरहेको उनको भनाई थियो । ‘जनतालाई फाइदा हुनुप¥यो, नेपालले आफ्नो हितका लागि विदेशबाट लगानी, सहयोग ल्याउनुपर्छ’ उनले भनिन् । 

अर्को प्रसंगमा राजदुतले चीनलाई नेपालबाट सुरक्षा खतरा नभएको तर पश्चिमा मुलुकहरुका अतिवादी एवं पृथकतावादीहरुबाट खतरा रहेको उनले बताइन् । नेपालमा चिनियाँ सहयोगमा सञ्चालित परियोजना कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको उल्लेख गर्दै राजदुतले केरुङ् काठमाडौं सडकको बीचमा पर्ने दुईवटा सुरुङ मार्गका लागि पूर्वसम्भाव्यता अध्ययनका लागि प्राविधिक टीमले काम थलिसकेको बताइन् । उनको संकेत उच्च हिमाली क्षेत्रमा रेल धेरै अप्ठेरो परियोजना भएकाले सुरुङ मार्ग र पुल भए सडक यातायात सहज हुन्छ भन्ने थियो ।