मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ पौष १८ शुक्रबार १०:३२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पैसा उठाउन महालक्ष्मी मिलमा हजारौँ किसानले लगाए ताला

Read Time : > 2 मिनेट
२०७६ पौष १८ शुक्रबार १०:३२:००

सर्लाहीको गोडैता, बगदहमा सञ्चालित महालक्ष्मी सुगर मिलले २१ करोड भुक्तानी नदिएपछि बिहीबार जम्मा भएका हजारौँ  उखु किसानले ताला लगाएका छन्, सञ्चालक वीरेन्द्र कनोडियाले किसानलाई कहिले धम्क्याउने र कहिले फकाउने गरेका छन्

उखुको २१ करोड भुक्तानी नदिएको सर्लाहीस्थित महालक्ष्मी सुगर मिलमा बिहीबार किसानले ताला लगाएका छन् । बक्यौता नतिरी चालू सिजनको उखु क्रसिङ गर्न खोजेपछि तीन हजारभन्दा बढी किसानले मिलको उखु तौलिने काँटा र प्रशासन शाखामा ताला लगाएका हुन् ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवका अनुसार बिहीबार दिउँसो उद्योगमा धर्ना दिनका लागि त्यस क्षेत्रका किसानलाई स्थानीय रेडियो, पत्रपत्रिका र माइकिङबाट सूचित गरिएको थियो । ‘म आफैँ उखु किसान हुँ, मेरो पनि पैसा लिन बाँकी छ,’ उनले भने, ‘सबैका समस्या मेराजस्तै हुन् । त्यसैले ठोस निर्णय लिन किसानलाई उद्योगमा भेला हुन साताअघिबाटै सूचना जारी गरेका थियौँ ।’

बिहान साढे ११ बजेदेखि किसान हुल बाँधेर मिलमा जम्मा हुन थालेका थिए । साढे १२ बजेसम्म करिब २५ सय किसान भेला भइसकेको स्थानीय रमन मिश्रले बताए । भेलामा स्थानीय जनप्रतिनिधिको भाषण कार्यक्रमसमेत थियो । मेयर यादवले बक्यौता भुक्तानी नगरी यस वर्षको क्रसिङ सुरु गर्न दिने वा नदिने विषयबारे भेलाले निर्णय गर्ने बताए । उनले यति भन्नासाथ किसानले ‘बक्यौता नलिई मिल चल्न नदिने र आजै ताला लगाउने’ भन्दै हुटिङ गरे । त्यसपछि मेयर यादवले किसानको निर्देशनअनुसार नगरपालिका अघि बढ्ने प्रतिबद्धता गर्दै आफ्नो कुरा सकाए । 

प्रदेश २ का सांसद अशोक यादवले किसानको २१ करोड रकमको मिलमालिकले ब्याज खाइरहेको बताए । ‘२१ करोडको मासिक ब्याज १६ लाख हुन्छ । प्रतिदिन ५५ हजार हुन्छ । यति ठूलो रकम खाएर मिलमालिकले किसानलाई सताइरहेका छन्,’ उनले भने । उनको भाषणमा किसानले ताली मात्रै पड्काएनन्, मञ्चमै रहेका मिलमालिक वीरेन्द्रकुमार कनोडियालाई गालीसमेत गरे ।

त्यसपछि बोलेका उद्योगी कनोडियाले किसानलाई आफूले भगवान् मान्ने भन्दै फकाउने प्रयास गरे । ‘यो उद्योगको आखिरी मालिक किसान हो । म किसानलाई भगवान् मान्छु । त्यसैले किसानको एक रुपैयाँ पनि खाँदिनँ,’ उनले यसो भन्नासाथ किसान थप आक्रामक बने, गाली बर्साउन थाले । ‘तिम्रा कुरा सुन्दैनौँ, हामीलाई पुरानो पैसा नदिए उद्योग चलाउन दिँदैनौँ’ भन्दै उनीहरूले कनोडियाको भाषणमै अवरोध गरे ।

आक्रोशित बनेका कनोडिया ‘उसो भए मिल चलाउँदिनँ, मलाई केही अप्ठ्यारो छैन’ भन्दै बसे । करिब पाँच मिनेट भाषण गर्दा उनलाई शब्द–शब्दमा किसानले प्रतिप्रश्न गरे । अनुत्तरित कनोडिया केहीबेर रोकिन्थे, किसान शान्त भएपछि फेरि बोल्न सुरु गर्थे । तर, उनका शब्दैपिच्छे किसानले आपत्ति जनाइहाल्थे । आक्रोशित किसानले मेयर यादवलाई मिलमा ताला लगाउन चर्को दबाब दिए । 

त्यसपछि यादवले उखु तौलिने काँटा र प्रशासन शाखामा रहेको कम्प्युटर कक्षमा ताला लगाए ।
मिलमा ताला लगाएपछि स्थानीय जनप्रतिनिधि र आधाजसो किसान बाहिरिए । उद्योगी कनोडियाले भने कर्मचारी भवनमा मिलका कर्मचारी र केही किसान प्रतिनिधिसँग छलफल गरे । बाहिर भने किसानले कनोडियालाई घेराउ गर्ने योजना बनाइरहेका थिए । करिब दुई घन्टापछि बाहिर निस्किएका कनोडियाले फेरि किसानलाई फकाउने प्रयास गरे ।

कपिलवस्तुमा रहेको उद्योग सर्लाहीमा सारेर यहाँका किसानको हितमा काम गरेको उनको दाबी थियो । नयाँ प्रजातिको उखु लगाउन किसानलाई प्रोत्साहन गर्न २० लाख खर्चेर पोस्टर बनाएको र सबको घरघरमा वितरण गरेको उनको भनाइ थियो । कपिलवस्तुमा उद्योग चलाउँदा त्यहाँका किसानलाई उखु लगाउन तीन करोड ऋण दिएको र त्यो उठाउन अहिले पनि बाँकी रहेको झुटो जिकिर पनि कनोडियाले गरे । जब कि कपिलवस्तुका किसानलाई पनि उनले ६ करोड तिर्न बाँकी छ । बक्यौता छल्न अहिले पनि उनी त्यहाँ जानेसमेत गरेका छैनन् ।

कनोडियाले सोमबार बैंकबाट १५ करोड ऋण लिएर किसानको बक्यौता तिर्ने प्रतिबद्धता गर्दै ताला खोल्न आग्रह पनि गरे । तर, किसानले पत्याएनन् । ‘पुरानो पैसा नदिएसम्म नयाँ उखु दिनुहुँदैन । यसले पैसा दिइहाल्छ भन्ने लाग्दैन,’ स्थानीय रामबिना महतोले भने । उनले कनोडियाको उद्योगबाट ६० हजार उठाउन बाँकी छ । यस वर्ष उनले १४ कट्ठामा उखु लगाएका छन् । तर, पहिलेको पैसा नपाई बारीको उखु नबेच्ने उनको अडान छ । 

उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले ४५ दिनभित्र उखुको भुक्तानी दिने पहिलेको सहमति कार्यान्वयन नगरेको र यस वर्ष बक्यौता नतिरी उखु क्रसिङ सुरु गर्न लागेकाले किसान आन्दोलित बन्नुपरेको बताए । ‘हामीलाई मिलमालिकको त कत्ति पनि विश्वास छैन । बोलेको कुरा केही पूरा गर्दैन । त्यसैले सोमबार १५ करोड दिने भनेर बोलेको कुरा पनि पत्याएको छैन,’ स्थानीय लालबाबु महतोले भने ।

कनोडियाले किसानको उखुको मूल्य मात्रै होइन, कपिलवस्तुबाट उद्योगको पार्टपुर्जा ओसार्ने र बगदहमा ल्याएर निर्माण गर्ने ठेकेदार प्रदीप शर्माको ५३ लाख पनि खाइदिएका छन् । शर्मा सामान्य मेकानिक्स हुन् । दुई वर्षअघि कनोडियाका भतिज मनीषले कपिलवस्तुबाट सर्लाहीको बगदहमा मिल सार्ने जिम्मा दिएका थिए । त्यसका लागि एक करोड नौ लाख शर्माले पाउने सहमति भएको थियो । एकपटक शर्माले कनोडियालाई ‘पैसा नदिए उद्योगमै विष खाएर मर्ने’ चेतावनी दिएका थिए । ‘मर्ने भए मर, मलाई पनि सन्चो हुन्छ,’ कनोडियाको जवाफ थियो । नयाँ पत्रिकालाई पीडा सुनाउँदै गर्दा शर्मा भक्कानिए । कनोडियाले शर्मासँगै ठेकेदारहरू सपुर अहमदको १६ लाख र साबिर अन्सारीको ६ लाख रुपैयाँ पनि दिएका छैनन् ।