बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायिक आन्दोलनको क्रममा घाइते भएकाहरुले उपचार खर्चको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।
आफ्नो लाखौँ रकम खर्च हुँदा समेत सरकारले उपचार खर्च नदिएको भन्दै घाइतेहरुले बिहीबारदेखि आन्दोलन सुरु गरेका हुन् । घाइतेहरुले जिल्ला प्रशासनको मुल गेटमा दुई घण्टा धर्ना दिएका छन् । सरकारले उपचार खर्च नदिएको भन्दै उनीहरुले प्रशासनकै मुल गेटमा धर्ना दिएका हुन् ।
आन्दोलनमा घाइते भएका चेतन भट्टले उपचार गर्न पैसा नदिएको र पैसा नहुँदा आफ्नो उपचार हुन नसकेको भन्दै पढाई छाडेर धर्नामा बसेको बताए । गोली लागेर खुट्टा नै गुमाउनु परेका अर्जुन भण्डाराकी आमाले सरकारले जिवन निर्वाह खर्च दिएपनि उपचार खर्च नदिएका कारण आन्दोलनमा आएको बताइन् ।
घाइतेहरुले उपचार खर्च सुनिश्चितता नभए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । निर्मलाको न्यायको समेत माग अघि सारेका छन् । १० साउन २०७५ मा निर्मलाको बलात्कारपछि हत्या भएपनि अझैसम्म पनि हत्यारा पत्ता लागेको छैन ।