१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष १७ बिहीबार १२:२३:००
Read Time : > 1 मिनेट
समाचार

किसानलाई ठगेर कम्पनी फरार

कृषि र पशुपालनमा सहयोग गर्ने भन्दै लमजुङका चार हजार किसानको ७० लाख ठगी

Read Time : > 1 मिनेट
२०७६ पौष १७ बिहीबार १२:२३:००

एसोसिएसन अफ एग्रिकल्चर नेपाल (आन) नामको कम्पनीले बीउ र बिरुवा वितरण गर्ने बहानामा लमजुङका कृषकलाई ठगेर फरार भएको छ । सित्तैमा बीउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालकलाई निब्र्याजी अनुदानको आश्वासन दिएर समूह बनाई सदस्यबाट रकम संकलन गरेपछि कम्पनीका कर्मचारी कार्यालय बन्द गरेर फरार भएका छन् । उक्त कम्पनीले जिल्लाको विभिन्न गाउँका चार हजार बढी किसानलाई ठगेको छ । 

१४ पुस ०७४ मा सदरमुकाम बेंसीसहरमा कार्यालय स्थापना गरेको उक्त कम्पनीले दुई वर्षको अवधीमा चार हजार किसानसँग करिब ७० लाख रुपियाँ संकलन गरेको थियो । तरकारी तथा अन्नबालीको बिउविजन, बनस्पतीका बिरुवा, कुखुराका चल्ला, उन्नत जातका बाख्रा तथा भैंसीपालनमा सहयोग गर्ने भन्दै कम्पनीले किसानसँग रकम उठाएको थियो । साथै, किसानलाई रुद्राक्ष, अगरउड, मलेसियन साल तथा बुद्धचित्तका बिरुवा, तरकारीका बिउबिजन वितरण गर्ने रकम उठाएको थियो । 

उक्त कम्पनीकी एक कर्मचारी सपना घिमिरेका अनुसार स्थायी कर्मचारीलाई मासिक १५ हजार, १ हजार पाँचसय भत्ता र दुईसय मोबाइल खर्च तोकिएको थियो । करार कर्मचारीलाई १० हजार तलब तोकिएको थियो ।  १० जना बराबर एउटा समूह बनाई ४ हजार किसान गोलबन्द गरेको कम्पनीले प्रतिव्यक्ति ५ सयका दरले रकम उठाएको थियो । स्थानीय पत्रिकामा १० जना कर्मचारी माग गरेको सूचना प्रकाशन गरी ५० जना कर्मचारी भर्ना गरेको कम्पनीले गाउँ गाउँमा पुगेर कृषक समूह गठन गरेको थियो । उक्त कम्पनीले बाख्राका पाठीका लागि १० हजार, पाठा लागि १२ हजार, भैंसीका लागि ७० हजार र कुखुराको चल्लाका लागि एकसय रुपैयाँका दरले किसानसँग रकम उठाएको थियो ।

’हामीले किसानसँग गाउँगाउँ पुगी रकम उठाएर कार्यालयमा बुझाउँदै गयौं,’ कम्पनीकी कर्मचारी आशमाया गुरुङले भनीन्, ’किसानको रकम लिएर हाकिम सम्पर्कबिहीन भए ।’ कम्पनीको कार्यालय स्थापना भएपछिको एक वर्षमा केही सिमित किसानलाई बिरुवा र तरकारी बिउ वितरण गरिएको थियो । 

’हामीलाई १५ वटाका दरले बिरुवा दिन्छौं भनेर पैसा लगेका थिए, मस्र्याङ्दी गाउँपालिका ९ कि किसान अम्बिका कुइँकेलले भनिन्, ’२ वटा बिरुवा दिएपछि फर्किएर आएनन् ।’ कम्पनीको बेंसीसहर शाखाकी कर्मचारी शर्मिला घिमिरेले किसानसँगै कर्मचारीलाई पनि ठगेर कम्पनीका प्रमुख भागेको बताइन् । बिरुवा र तरकारी खेतीमा सहयोग हुन्छ भनेर आश्वासन दियौं, तर हामीलाई नै झुक्काएर प्रमुख बेपत्ता भए,’ घिमिरेले भनिन, पटकपटक प्रयास गर्दा पनि कम्पनीका अध्यक्षदेखि प्रमुखसँग सम्पर्क हुन सकेको छैन । उनले जिल्लामा कार्यरत कर्मचारीले एक वर्षदेखि तलबसमेत नपाएको बताइन् । 

किसान र आफूहरु ठगिएको बारे प्रहरी प्रशासन र जनप्रतिनिधिलाई जानकारी गराएपनि सुनुवाई नभएको पीडित घिमिरे बताउँछीन् । उक्त कम्पनीले लमजुङ जस्तै ६६ जिल्लाका किसानलाई ठगी गरेको कर्मचारी बताउँछन् । कम्पनीका सञ्चालक गणेशदत्त भट्ट, कार्यक्रम संयोजक राजेश चौधरी, माया गुरुङ, शाखा प्रमुख मीना गुरुङ श्रेष्ठको मोबाइलमा सम्पर्क गर्न खोजे सम्पर्क नहुने र स्वीच अफ मात्र हुने गरेको छ । बाँकेको कोहोलपुरमा मुख्य कार्यालय रहेको भनिएको सो कम्पनीको लमजुङ शाखामा मीना गुरुङ श्रेष्ठ प्रमुख थिइन् । उनी २२ चैत २०७५ बाट सम्पर्क विहिन भएकी छिन् । जिल्ला समन्वय समितिबाट कृषिमा काम गर्ने अनुमति लिएर कम्पनीले बेंसीसहरमा शाखा खोलेको थियो । शाखा खोलेपछि जिल्लाको क्होँलासोँथर गाउँपालिका बाहेक अन्य ७ वटा स्थानीय तहमा किसानको समूह गठन गरिएको थियो । समूहमा धेरैजसो महिलाहरुको  सहभागिता रहेको थियाे ।