१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रुचिर शर्मा
२०७६ पौष १७ बिहीबार ०९:१४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

भावी दशक साना अर्थतन्त्रको दशक

Read Time : > 3 मिनेट
रुचिर शर्मा
२०७६ पौष १७ बिहीबार ०९:१४:००

इतिहास मार्गनिर्देशक हो भने सन् २०२० को दशक अर्को अमेरिकी दशक हुनेछैन, विश्वयुद्धपछिको दशकले यही प्रवृत्ति देखाएको छ

नयाँ सहस्राब्दीको पहिलो दशकमा अमेरिकाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा कमजोर आर्थिक वृद्धि भोग्यो । दशकको अन्त्यतिर अमेरिकामा आइपरेको आर्थिक संकटपछि विश्व वित्तीय संकटमा रूपान्तरण भयो । त्यसवेला आर्थिक भविष्यवाणी गर्नेले लामो अमेरिकी ह्रासको पूर्वानुमान गरेका थिए । तर, पूर्वानुमानभन्दा फरक, सन् २०१०को दशकमा अमेरिका आर्थिक महाशक्ति मात्र नभएर वित्तीय महाशक्तिको रूपमा उदायो । यस अवधिमा अमेरिकी अर्थतन्त्र अन्य सम्पन्न देशभन्दा तीव्र रूपमा बढ्यो ।

सन् २०१०को दशकमा अमेरिकाले एउटा पनि आर्थिक मन्दी सामना गरेन, जुन सन् १८५०को दशकदेखि रेकर्ड राख्न थालेदेखि पहिलो घटना थियो । ह्रासको पूर्वानुमान गर्नेलाई गलत साबित गर्दै, सन् २०१०को दशकमा अमेरिका विश्व अर्थतन्त्रमा हिस्सेदारी बढाउने दुई प्रमुख अर्थतन्त्र (अर्को चीन थियो)मध्ये एक भयो । विश्वभरका केन्द्रीय बैंक, उपभोक्ता र लगानीकर्ताले डलर संग्रह गरेर राख्न इच्छा देखाउँदा अमेरिकी मुद्रा विगतको कुनै समयमा भन्दा बढी बहावमा देखिन्छ ।

सन् २०१०को दशकमा अमेरिकी स्टक बजार दुई सय प्रतिशतले बढ्यो जबकि यो अवधिमा चीन र जर्मनीसमेत बाँकी विश्वको स्टक बजारमा थोरै वृद्धि देखियो । आज स्टक बजारमूल्यअनुसार विश्वको १० सबैभन्दा ठूला कम्पनीमा सात अमेरिकी छन् । सन् २००९ को अन्त्यमा यो संख्या तीन मात्र थियो ।  

इतिहास मार्गनिर्देशक हो भने सन् २०२०को दशक अर्को अमेरिकी दशक हुने छैन । एक दशकलाई परिभाषित गर्ने आर्थिक प्रवृत्तिले बिरलै अर्को दशकलाई परिभाषित गर्छ । विश्वयुद्धपछिको चरणमा यही प्रवृत्ति देखिएको छ । सन् ६०को दशकमा अमेरिका विश्व अर्थतन्त्र र बजारमा सबैभन्दा सफल कथा थियो । तर, उसले सन् ७०को दशकमा उदाउँदो राष्ट्र र सन् ८० को दशकमा जापानलाई मार्गप्रशस्त गर्नुपर्‍यो । तर, सन् ८०को दशकमा ऊ पुनः ब्युँतियो । सहस्राब्दीको पहिलो दशकमा उदाउँदा अर्थतन्त्र पुनः बलियो देखिए ।

सन् २०१०सम्म भाविष्यवाणी गर्नेले आगामी शताब्दी उदाउँदो राष्ट्रको हुने बताएका थिए । तर, सन् २०१०को दशकमा चीनबाहेक उदाउँदा देशको समूहले विश्व अर्थतन्त्रमा आफ्नो हिस्सा खुम्चिएको पाए । उदाउँदो देशको स्टक बजारको औसत वार्षिक वृद्धि शून्यबराबर थियो, जुन सन् ३०को दशकयताकै खराब अवस्था हो । यो चक्र किन यति पूर्वानुमानयोग्य छ ? जवाफ सीधा छ ।

राम्रो आर्थिक प्रदर्शनपछि नेता बेपर्बाह हुन्छन् र गैरजिम्मेवार रूपमा खर्च गर्न थाल्छन् । व्यवसायी र उपभोक्ताले तिर्न गर्ने क्षमताभन्दा धेरै ऋण लिन्छन् । र, लगानीकर्ता उच्च मूल्य तिरेर पनि सेयर किन्न तयार हुन्छन् । त्यसपछि प्रभावशाली उद्योग सुस्त हुन्छन् र बाँकी भिडमा मिसिन्छन् । सन् २०२०को दशकको प्रारम्भमा अमेरिका गैरजिम्मेवार देखिन्छ । त्यहाँ सरकरी घाटा बढिरहेको छ, करर्पोरेट ऋण फैलिएको छ र सम्पूर्ण प्रकारका वित्तीय सम्पतिको स्टक मूल्य बढेको छ । 

यही अवधिमा धेरै देश विशेषतः उदाउँदा मुलुक तिनको कठिन वित्तीय परिस्थितिका कारण खर्च बढाउनुपर्ने दबाबमा परे, जसकारण तिनको बजेट घाटामा परिणत हुन पुग्यो । त्यसका अतिरिक्त अन्य सुधार कार्यक्रम आर्थिक वृद्धिका लागि उत्प्रेरक साबित भए । मौन रूपमा, विश्व आर्थिक शक्ति यस्तो हिसाबमा अघि बढिरहेको छ, जसले सन् २०२०मा साना राष्ट्र र व्यवसायको पुनरागमलाई सघाउन सक्छ ।

अमेरिका र चीनले एक–अर्कालाई ठेगान लगाउन संघर्ष गरिरहेको वर्तमान अवस्थामा तिनको संघर्षले ती देशभित्रका लगानीकर्तालाई भयभीत बनाएको छ । महाशक्तिबीचको व्यापार युद्धको असर आफूमा पर्न नदिन ब्राजिल र जापानजस्ता देशले क्षेत्रीय र द्विवपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर गरिरहेका छन् । ठूला अमेरिकी प्रविधि कम्पनीले तिनको एकाधिकारी शक्तिविरुद्ध विश्वव्यापी नियमनकारी कदम सामना गर्न थालेका छन् । यी भीमकाय कम्पनीले केही साना प्रतिद्वन्द्वीलाई किनेर, अन्यलाई टाट पल्टिने अवस्थामा पुर्‍याएको देखिन्छ । तथापि तिनले अन्य लाखौँ उद्यमीलाई तिनको प्ल्याटफर्ममार्फत ठूलो उपभोक्तामाझ पुग्ने सुविधा दिइरहेका छन् । यसरी भूमण्डलीकरणले बिस्तारै स्थानीयकरणलाई बाटो बनाइरहेको छ । यसले ती देशलाई अवसर सिर्जना गरेका छन्, जसको बजार उल्लेख्य विस्तार गर्न सकिने गरी ठूलो छ । 

जनसंख्यामा तुलानात्मक रूपमा युवा बढी भएका देशका लागि यो अवसर थप यथार्थपरक हुनेछ । इन्डोनेसिया, फिलिपिन्स, इजिप्ट र मेक्सिको यसका उदारण हुन् । हुन त विश्वभरिका स्टक बजारमा अझै दुई सय अर्ब डलरभन्दा बढी बजार मूल्य भएका कम्पनीकै हालिमुहाली छ । तर, तिनले त्यो सीमाभन्दा तलका कम्पनीबाट चुनौती सामना गर्न थालेका छन् । वित्त क्षेत्रमा सबैभन्दा चर्चामा रहेका कम्पनी डिजिटल भुक्तानी एप र तिनलाई समर्थन दिने साना बैंक छन् । बिमा क्षेत्रमा सबैभन्दा सफल उपक्षेत्र मोबाइल इन्टरनेट बिमा सेवा छन् ।

सबैभन्दा तीव्र गतिमा बढिरहेका अमेरिकी खाद्य तथा पेय उत्पादक साना नै छन् । अहिले लोकप्रिय राष्ट्रवादको उदयले ‘स्थानीय किनौँ’ अभियानमा राष्ट्रवादी रंग दिएको छ । अक्टोबरको एक सर्वेक्षणमा चिनियाँले ‘अमेरिकी ब्रान्डबारे पुनर्विचार’ गर्नुको मुख्य कारण ‘राष्ट्रिय निष्ठा’ बताएका थिए । खाद्य क्षेत्रमा हात हालेको भारतीय कम्पनी पतञ्जलीले आफ्ना उपभोक्तालाई ‘राष्ट्रवादी कर्तव्य पूरा गर्न’ ‘चीन, अमेरिका, बेलायत र युरोपका सामग्री बहिष्कार गर्नुपर्ने’ आह्वान ग¥यो । यी शक्ति बहुराष्ट्रिय ठूला कम्पनीविरुद्ध लागेका छन्, जुन मूलतः अमेरिकी छन् ।

अमेरिकी स्टक बजारले स्टक बजारको विश्वव्यापी मूल्यको आधा हिस्सा ओगट्छ । यो अन्य राष्ट्रिय बजारको तुलनामा कहिले यति धेरै महँगो थिएन । आज विश्वका सबैभन्दा ठूला १० कम्पनीमध्ये माइक्रोसफ्ट मात्र सन् २००९मा शीर्ष १० सूचीमा थियो । यदि विगतकै प्रवृत्ति जारी रह्यो भने उचाइमा पुग्न र साना राष्ट्र तथा उद्योगले पुनरागमन गर्न सक्छन् । यदि सन् २०१०को दशक विश्वको सबैभन्दा ठूला अर्थतन्त्र र भीमकाय कम्पनीका लागि सुनौलो युग रहेको थियो भने सन् २०२०को दशकलाई साना बजारको युग हुनेछ । 

रुचिर शर्मा मार्गन स्ट्यान्ले इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख विश्व रणनीतिकार हुन् । 

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य