१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १६ बुधबार १४:०६:००
Read Time : > 2 मिनेट
समाचार

नेपाल भ्रमण वर्ष २०२० सुरू, देशभर पर्यटकलाई स्वागत 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ पौष १६ बुधबार १४:०६:००

काठमाडौं
अमुल थापा

नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार अन्तराष्ट्रिय विमानास्थल हुँदै नेपाल भित्रिने पर्यटकलाई अध्यागमनमा स्वागत गरिएको छ । बुधबार बिहानदेखि नै आएका पर्यटकलाई निरन्तर स्वागत गर्ने क्रम जारी छ । यसैगरी देशका सिमावर्ती क्षेत्रमा पनि नेपाल आएका पर्यटकलाई भव्य स्वागत भइरहेको छ । सुदूरपश्चिमको कन्चनपुर, सिरहा, चितवनलगायतका स्थानमा भ्रमण वर्षको पहिलो दिन पर्यटकलाई स्वागत गरिएको छ ।

सिरहा 
सुरेन्द्र कुमार कामति
सिरहाका तीनवटा नाकामा भारतीय पर्यटकलाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ । भारतसँग सिमा जोडिएको खैरटोका माडर, बरियारपट्टी र ठाँडीमा भारतीय पर्यटकलाई गम्छा लगाएर स्वागत गर्दै भ्रमण वर्षको सुरुवात गरिएको भ्रमण वर्ष २०२० समन्वय समितिले जनाएको छ । 

सिरहाको मुख्य नाका माडर खैरटोकामा विशेष कार्यक्रमको आयोजना गरी नेपाल भित्रिएका भारतीय पर्यटकहरुलाई स्वागत गरिएको समन्वय समिति सिरहाका अध्यक्ष अशोकलाल अमात्यले बताए ।

सिरहा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, उपमेयर डा.नमिता यादव, उद्योग वाणिज्य संघ सिरका अध्यक्ष प्रमोद पोद्दार, नेपाल भारत मैत्री संघका अध्यक्ष सन्तोष अग्रवाललगायतले भारतीय पर्यटकलाई स्वागत गरेका थिए ।  


नेपाल भ्रमण वर्ष २०२० को लागि सिरहाका पाँच स्थलहरुलाई पर्यटकीय गन्तव्यको सुचिमा राखिएको छ । ऐतिहासिक साँँस्कृतिक महत्व बोकेको राजा सलहेश गहबर क्षेत्र, सलहेश फूलबारी, पकडीया गढ, राजदेवी पञ्चावती र बाबा ताल भ्रमण गर्नुपर्ने स्थलको रुपमा रहेको समन्वय समितिले जनाएको छ ।

कञ्चनपुर 
मोहन विष्ट
नेपाल पर्यटन भ्रमण वर्ष २०२० सफल पार्न बुधबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । भीमदत्त नगरपालिकाले गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका भारतीयसहित तेस्रो मुलुकका नागरिकलाई स्वागत गरेको हो ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले नेपाल घुमेर फर्किएका र नेपाल घुम्न आएका पर्यटकलाई स्वागत र सम्मान गरिएको बताए । भ्रमण वर्ष सफल बनाउन भीमदत्त नगरपालिकाले पश्चिमी नाका गड्डाचौकीमा स्वागतद्वार निर्माण र महेन्द्रनगरमा पर्यटन सुचना केन्द्र स्थापना गरेको छ । 

गड्डाचौकीमा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टसहित प्रदेश सभा सदस्यत्रय महेश दत्त जोशी, प्रकाश रावल, मान बहादुृर सुनार, प्रतिनिधी सभा सदस्य डा. दीपक प्रकाश भट्टले पर्यटकलाई नेपाली ढाकाटोपी, फुलमाला र खादा ओढाएर मायाको चिनो उपहार दिएका थिए । 

भारत उत्तराखण्डका विधायक पुष्करसिंह धामी र विकल प्रसादलगायत एक जापानी नागरिक, एक इटालीयन नागरिक र तीन जर्मन नागरिकलाई प्रवेशद्वारमा सम्मान गरिएको हो । उनीहरुलाई सुदूरपश्चिमको मौलिक परिकार ख्वाइएको थियो । 

उत्तराखण्डका विधानसभा सदस्य धामीले नेपाल भ्रमण वर्ष सफलताको शुभकामना दिए ।

भरतपुर
विवेक पोख्रेल
पर्यटकलाई स्वागत गर्दै चितवनको भरतपुरमा “नेपाल भ्रमण वर्ष २०२०” को औपचारिक सुरुवात गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थलमा आएका पर्यटकहरुलाई फुलमाला र अबिरले स्वागत गरेकी छन् । 

पर्यटकलाई स्वागत गर्न विमानस्थलमा महानगरपालिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, व्यवसायीहरु, महानगरपालिकाका कर्मचारी महानगरवासीहरु पुगेका थिए । विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत गरिएको थियो । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पर्यटकसँगको भावनात्मक सम्बन्ध विस्तार गगर्न कार्यक्रम गरिएको बताइन् ।