मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अच्युत पुरी
२०७५ पौष २ सोमबार १०:३७:००
Read Time : > 1 मिनेट
अर्थ

नयाँ वायुसेवालाई काठमाडौं बेस मानी सञ्चालन गर्न रोक

Read Time : > 1 मिनेट
अच्युत पुरी
२०७५ पौष २ सोमबार १०:३७:००

सरकारले काठमाडौंस्थित त्रिभुवन विमानस्थललाई आधार मानी उडान गर्ने नयाँ आन्तरिक वायुसेवा कम्पनीलाई वायुसेवा सञ्चालन अनुमति रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्थाहरू, २०७५ कार्यान्वयनमा ल्याउदै यस्तो निर्णय गरेको हो । अब नयाँ दर्ता हुने कम्पनीले त्रिभुवन विमानस्थललाई ‘बेस’ मानेर अन्यत्र उडान गर्न नपाउने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

साना–ठूला जहाजको अधिक उडान–अवतरणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमताभन्दा बढी चाप भइरहेको छ । सोहीकारण हवाई सुरक्षा जोखिममा पर्ने भन्दै प्राधिकरणले नयाँ कम्पनीलाई अब काठमाडौं बेस मानी सञ्चालन अनुमति नै रोकेको पोखरेलले बताए ।

अहिले काठमाडौं बेस मानेर उडिरहेको कम्पनी बन्द भएमा या उक्त कम्पनीले बेस मोसफलमा सा-यो भने मात्र बाहिर आधार राखेर सञ्चालनमा रहेका कम्पनीले प्राथमिकताका आधारमा काठमाडौंमा बेस पाउने नीति ल्याइएको छ ।   

६ आन्तरिक विमानस्थलमा बेस 

नयाँ आन्तरिक वायुसेवा कम्पनीले अब उपत्यकाबाहिरका ६ वटा आन्तरिक विमानस्थलमा सञ्चालन आधार हुने गरी अनुमति पाउनेछन् । प्राधिकरणका अनुसार अब विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी र सुर्खेत विमानस्थललाई आधार मानेर नयाँ वायुसेवा कम्पनीलाई सञ्चालन अनुमति प्राप्त हुन्छ । सोही आधारमा कम्पनीहरूले काठमाडौंमा उडान भने गर्न पाउनेछन् । तर, उडान नहुने समयमा भने जहाज तोकिएको बेस विमानस्थललै राख्नुपर्छ । 

५ वर्ष पुरानो कम्पनीमा सबै नेपाली जनशक्ति 

अब वायुसेवा कम्पनीले ५ वर्षभित्र पूर्णतया नेपाली नागरिक तयार गरिसक्नुपर्ने प्रावधान ल्याइएको छ । खासगरी वायुयान चालक, इन्जिनियरजस्ता प्राविधिक जनशक्ति पूर्णतया नेपाली हुनुपर्ने प्राधिकरणको नीति छ । कम्पनीले जहाज थप गर्दा त्यसको सञ्चालनका लागि आवश्यक जनशक्तिको पर्याप्तता र उडान सुरक्षा अडिटलाई मुख्य मापदण्ड मानिने भएको छ । यसबाहेक वायुयान सञ्चालन योजना, विमानस्थलको क्षमता र चापलाई पनि आधार मानिने प्राधिकरणले उल्लेख गरेको छ । 

ह्यांगर बनाउन निःशुल्क जग्गा 

काठमाडौंबाहिर सञ्चालन आधार स्थापना गरी उड्ने कम्पनीलाई प्रोत्साहित गर्न प्राधिकरणले वायुसेवा कम्पनीलाई ह्यांगर (जहाज मर्मतसम्भार गर्ने स्थान) स्थापना गर्न जमिन ५ वर्षसम्म निःशुल्क उपलब्ध गराउने भएको छ । जुन विमानस्थलमा आधार तोकिएको छ, उक्त विमानस्थलमा सम्बन्धित वायुसेवा कम्पनी अनिवार्य ह्यांगर निर्माण गर्नुपर्छ । ह्यांगर सुविधा नहुने वायुसेवा कम्पनीले भने अन्य वायुसेवा कम्पनीसँग सम्झौता गरी उक्त व्यवस्था गर्नुपर्छ । 

रात्रि उडान गरे शुल्कमा छुट 

त्रिभुवन विमानस्थलबाट अहिले दैनिक ३ सय ५० देखि ४ सय उडान–अवतरण हुन्छन् । यसमध्ये ठूलो हिस्सा आन्तरिक उडानको छ । सोहीकारण व्यस्त समयमा विमानहरू अधिक होल्ड हुने समस्या छ । यो समस्या समाधान गर्न प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई रात्रि उडानका लागि प्रोत्साहित गर्ने नीति लिएको छ ।

रात्रि उडान गर्दा वायुयान अवतरण, विसान, सुरक्षालगायतमा लाग्ने शुल्कमा छुट दिइने प्राधिकरणले बताएको छ । नेपालमा अहिले करिब दुई दर्जन वायुसेवा कम्पनीले हेलिकोप्टर र हवाईजहाज सेवा उपलब्ध गराउँछन् । ती कम्पनीसँग ९० वटा वायुयान छन् । प्राधिकरणका अनुसार दक्षिण एसियामा भारतपछि नेपाल बढी उड्डयन गतिविधि हुने देश हो ।