१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष १४ सोमबार १६:०८:००
Read Time : > 1 मिनेट
विश्व

विश्वमा पहिलो पटक 'जिन–इडिट' गरी बच्चा जन्माउने चिनियाँ डाक्टर जेल चलान

Read Time : > 1 मिनेट
२०७६ पौष १४ सोमबार १६:०८:००

विश्वमै पहिलो पटक वंशाणुगत फेरबदल (जिन–इडिट) गरी २ बच्चा बनाएका वैज्ञानिक हि जियानकुलाई चिनियाँ अदालतले ३ वर्षको जेल सजाय सुनाएको छ । उनले सन् २०१८ को नोवेम्बरमा जिन–इडिटिङ प्रविधिको प्रयोग गरी लुला र नाना नाम गरेका जुम्ल्याहा बच्चाको जन्म गराएका थिए । उनको यस्ताे दाबीसँगै विश्व विज्ञान नै आश्चार्यमा पारेका थिए ।

संघाई अदालतले अवैध अभ्यास गरेको दोषी ठहर गर्दै उनलाई ३० लाख युआन (४ करोड ८८ लाख रुपैयाँ) जरिवानासमेत तोकेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार उनको टिममा कार्यरत अन्य दुई जनालाई कम सजाय तोकिएको छ । 

‘उनीहरुसँग यस्तो प्रकृतिले औषधीकाे अभ्यास गर्न उचित प्रमाणीकरण थिएन, नाम र प्रसिद्धिका लागि राष्ट्रिय चिकित्सा नियम उल्ंघन गरेका छन्,’ सिन्ह्वाले जनाएअनुसार अदालतले भनेको छ, ‘उनीहरुले वैज्ञानिक अनुसन्धान र चिकित्सा नैतिकताको हद पार गरेको देखिएको छ ।’ अदालतले हिजानकुसँगै काम गरेका झांग रेन्लीलाई २ वर्षको जेल सजाय र १० लाख युआन जरिवाना तोकिएको छ । सहकर्मी किन जियानकुलाई १८ महिना जेल र ५ लाख युआन जरिवाना तोकेको छ ।

उनीहरुले गत वर्ष ७ जना बच्चाको भ्रुणमा जिन–इडिटको परीक्षण गरेका थिए । भ्रुण अवस्थामा रहेको बच्चाको वंशानुगत फेरबदल गर्न कतिपय देशमा रोक लगाइएको छ । यद्यपि, यसबारे वैज्ञानिकहरुको अनुभव र ध्यानाकर्षण रहँदै आएको छ । 

जियानकुले जिन–इडिट गरेर बच्चा जन्माएपछि एचआइभी संक्रमण नहुने बनाउन खोजेको बताएका थिए । तर, यसै डिसेम्बरको पहिलो हप्ता 'म्यासाचुसेट्स इन्सट्युट अफ टेक्नोलोजी'बाट सार्वजनिक भएको रिपोर्टले ती बालिकामा रोग प्रतिरक्षा क्षमता विकास गर्न सफल नभएको देखाएको थियो । बच्चालाई जन्मेपछि क्यान्सर, एचआइभी जस्ता संक्रमण नहुने किसिमले भ्रुण अवस्थामै जिन–इडिट गर्न सकिने वैज्ञानिकहरुको बुझाइ छ । यस क्रममा ‘डिएनए’ थप्ने, बदल्ने, हटाउने तथा विस्थापन गर्ने किसिमका फेरबदल गरिन्छ । एजेन्सी