१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष १४ सोमबार ०७:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

फर्किँदै भारतीय राजदूत : विवादमा परेनन्, नेपाल र भारतका प्रधानमन्त्रीको दुई–दुईपटक राजकीय भ्रमण गराउन भूमिका खेले

Read Time : > 3 मिनेट
२०७६ पौष १४ सोमबार ०७:१९:००

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी कार्यकाल सकेर मंगलबार दिल्ली फर्किँदै छन् । उनले नेपालमा दुई वर्ष नौ महिना तीन दिन बिताए । नेपालबाट स्वदेश फर्केलगत्तै उनले ३७ वर्षे लामो कूटनीतिक सेवाबाट अवकाश पाउँदै छन् ।

नेपालमा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रूपमा आएका थिए । निर्वाचन प्रक्रियालाई सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले नेपालमा काम सुरु गरेका थिए । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको तत्कालीन एमालेका अध्यक्ष केपी ओली र भारतीय नेतृत्वबीच संवाद सहजीकरणमा उनले सुरुमै भूमिका निर्वाह गरे ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनपछि कम्युनिस्ट पार्टीको बहुमत आउने र सरकार बन्ने निश्चित थियो । त्यस अवस्थामा एमाले नेतृत्व र भारतीय प्रधानमन्त्रीबीच सम्बन्ध सहजीकरण पुरीको अर्को महत्वपूर्ण मिसन थियो । यसमा उनले समन्वयकारी भूमिका निर्वाह गरे । 

तीन तहको निर्वाचनलगत्तै ७ माघमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई टेलिफोनमार्फत नयाँ सरकारको नेतृत्वका लागि बधाई दिए र १८ माघमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष प्रतिनिधिका रूपमा नेपाल पठाए । त्यो विशेष वार्ताका लागि भारतका तर्फबाट पुरी र एमालेबाट डा. राजन भट्टराईले समन्वय गरेका थिए । स्वराजको भ्रमणपछि भारत सरकार र नेपालको नयाँ सरकारबीच समझदारी विकास भयो । ०७३ साउनमा सरकारबाट हटेपछि ओली र भारतीय नेतृत्वबीचको तिक्तता सामान्यीकरण भयो । ३ फागुन ०७४ मा प्रधानमन्त्री भएपछि केपी ओलीले भारतको राजकीय भ्रमण गरे । त्यसपछि मोदीले नेपालको राजकीय भ्रमण गरे । त्यसयता ओली र मोदीले क्रमशः दुई–दुईपटक भ्रमण गरेका छन् । 

रणजित रायपछि पुरी १२ चैत ०७३ देखि नेपालका लागि २४औँ राजदूत नियुक्त भएका थिए । पुरीपछि नेपालका लागि भारतीय राजदूत अझै तय भएको छैन । नवनियुक्त भारतीय विदेशसचिव हर्षवद्र्धन श्रींगला अमेरिकाबाट दिल्ली फर्केपछि नेपालमा पठाउने राजदूत तय हुनेछ । एउटै समयमा भारतीय विदेशसचिव नियुक्त भएका विजयकेशव गोखले पनि जनवरी २० मा सेवानिवृत्त हुँदै छन् । 

 पुरीकै कार्यकालमा अरुण तेस्रो जलविद्युत् परियोजना र पेट्रोलियम पाइपलाइन निर्माण
राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपाल पठाइएका पहिलो सिख राजदूत थिए । पुरी नेपाल आएका दोस्रा सिख राजदूत हुन् । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । उनकै कार्यकालमा गुरु नानकको ५५०औँ जन्मजयन्ती मनाइएको छ । सिख समुदायले नेपालको यातायात तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिएका छन् । नेपालमा सिखसम्प्रदायको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रूपमा लेखिएको छ ।

पुरीका पालामा महत्वपूर्ण विकास आयोजना अघि बढेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजना सुरु भयो । पेट्रोलियम पाइपलाइन यिनकै पालामा सुरु भएर सम्पन्न भयो । हुलाकी राजमार्गको काम अघि बढिरहेको छ । रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सहमति पुरीकै समयमा भयो । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठकमा पुरीले रोकिएका परियोजनाको कारण तय गरेर दुवै सरकारले समस्या समाधान गर्नुपर्ने जोड दिँदै आए । 

 नेपाल : पहिलो र अन्तिम  छिमेक अनुभव
नेपाल आउनुभन्दा तीन वर्षअघि पुरी ब्रसेल्समा भारतीय राजदूत थिए । त्यसभन्दा अघि उनले न्युयोर्कस्थित भारतीय स्थायी प्रतिनिधि कार्यालयमा उपप्रमुखका रूपमा काम गरेका थिए । भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका वेला सन् २०११ देखि एक वर्ष भारतको सुरक्षापरिषद्का वरिष्ठ सदस्यका रूपमा काम गरेका थिए । पुरीले सन् १९८२ मा विदेश सेवा सुरु गरेका थिए । उनले आफ्नो कूटनीतिक सेवा अवधिमा जर्मनीमा दुईपटक, मस्कट, बैंकक, काराकासमा काम गरेका थिए ।

दिल्लीमा उपशिष्टाचार महापाल तथा सहसचिवका रूपमा विदेश मन्त्रालयको युएनको इकोनोमिक र सोसियल मामिला हेर्ने डेस्कमा पनि काम गरेको उनीसँग अनुभव छ । पुरीले नेपाल मात्र नभएर भारतको छिमेक मामिला हेर्ने कुनै पनि निकायको अनुभव यसअघि लिएनन् । नेपाल नै उनको छिमेकसम्बन्धी उनको पहिलो र अन्तिम अनुभव हो । पुरीले दिगो विकास र जलवायु परिवर्तनमा रुचि राख्ने गरेका छन् । ब्राजिलको रियो द जेनेरियोमा सन् २०१२ मा आयोजित दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भारतीय प्रतिनिधिमण्डलका तर्फबाट प्रमुख वार्ताकारका रूपमा काम गरेका थिए । 

को आउलान् भारतीय राजदूत ? 
नेपालमा भारतले पठाउने राजदूत अझै तय भएको छैन । विदेशसचिव हर्षवद्र्धन श्रींगला दिल्ली फर्केपछि भारतले अमेरिकाका लागि राजदूत तय गरेपछि मात्रै नेपालको तय हुने जानकारहरू बताउँछन् । भारतीय विदेश मन्त्रालयसँग समन्वय गर्दै आएको रक्षा मन्त्रालय सम्बद्ध थिंकट्यांक संस्था आइडिएसएका नेपाल मामिलाविज्ञ डा. निहार नायक भन्छन्, ‘विदेशसचिवले अमेरिका पठाउने राजदूत तय गर्छन् । साउथ ब्लकमा आफ्नो टिम व्यवस्थापन गर्छन् । त्यसपछि मात्रै नेपाल पठाउने राजदूत तय होला ।’ राजदूतका रूपमा मालदिभ्सका पूर्वराजदूत अखिलेश मिश्र, सिंगापुरका लागि वर्तमान राजदूत जाभेद अख्तर, प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव गोपाल बागले, साउथ ब्लकमा आर्थिक मामिला हेर्ने सचिव टिएस तिरुमूर्तिलगायतको नाम चर्चामा छ ।

पुरीबारे पूर्वराजदूत के भन्छन् ? 
भारतले संविधान जारी भएपछि उत्पन्न असहज अवस्थापछि नेपाल नीतिमा कोर्स करेक्सन गरेका कारण राजदूत पुरीलाई काम गर्न सहज भएको पूर्वराजदूत डा. दिनेश भट्टराई बताउँछन् । ‘नाकाबन्दीपछि भारत सरकारले नेपालमा कुनै दल वा कुनै समुदाय विशेषसँग होइन, सरकारसँग डिल गर्ने नीति लियो ।

भारतको यो नीतिका कारण पुरीले भारतप्रति आलोचक वाम सरकारसँग सहजतापूर्वक काम गरे,’ भट्टराईले भने । भारतको बदलिँदो नीतिकै कारण राजदूत पुरी नेपालमा सूक्ष्म व्यवस्थापनको आरोपबाट मुक्त भएको पनि उनको विश्लेषण छ ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायको दृष्टिकोणमा राजदूत पुरीले नेपाल भारत सम्बन्धको एउटा संकटकालीन समयलाई सहज रूपमा व्यवस्थापन गरेका छन् । पुरीसँग सहकार्य गरेका उपाध्यायले भने, ‘नेपाललाई मोदी आफैँले हेर्ने संयन्त्र बनाएका छन् । त्यो संयन्त्रमा पुरीले राम्रो भूमिका निर्वाह गरे । नेपालमा कसैलाई बिझाएनन्, उनी कहीँ चुकेनन् ।’